December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

आमा ! तिम्रो माया

मैले पढेको छु
कथा, कविता, निबन्ध, उपन्यासका पानाहरूमा
अमूल्य हुन्छ
आमाको माया भनेर।
 
हो,
मैले देखेको छु
टेलिभिजन,
नाटक र चलचित्रका पर्दाहरूमा
मातृत्वको महिमागान।
 
सुनेको छु मैले
गीत-सङगीतहरूमा आमाको
निश्वार्थ ममत्वका धुनहरू।
 
आमाको मुख हेर्ने दिन
फेसबुकका भरिभराउ भित्ताहरू
र सडकको भिडभाडमा टोलाएको छु म।
 
मेरा छोराछोरीहरूलाई तिनकी आमाले
लुटुपुटु पार्दै काखमा राखेको,
छातीमा टाँसेको
प्रफुल्लित मुद्रामा मुसुक्क हाँस्दै
निधार मुसारेको
देखेर महसुस गरेको छु
हुँदोरहेछ आमा तिम्रो माया
कुनै वस्तुको मूल्यभन्दा माथिको ।
 
मेरा शून्य शून्य मानसपटमा
अनि खोज्छु म मेरी आमालाई
मिठो कल्पना अनि सपनामा
तर ती मरुभूमि बनिदिन्छन्
झरनाका नीला दहहरू काला बनिदिन्छन्
अनि नयन तालहरू टिलपिल टिलपिल गर्दै
च्छोरोल्पा हिमतालजस्तै छल्किन थाल्दछन् ।
 
आकारमा नभेटेपछि निशब्द म
निराकार रूपमा खोज्न थाल्छु
आमा, आ…मा, आ… … मा भन्दै।
 
आमा तिमी धर्ती रहेछौ ,
त्यसैले त
तिमीले पानी हुरी र चर्को घाम मात्रै होइन
ठुल्ठुला भुइँचालाहरू आफ्नै पोल्टामा राखेकी हुँदिरहिछौ ।
 
धर्ती तिमी आमा रहेछौ
त्यसैले त मातृत्वको रक्षाका लागि तिमीले
सन्तानका दुःखहरूलाई लुकाएकी हुँदिरहिछौ
आफ्नै छातीको सागररूपी गहिराइमा र शिरको सगररूपी गोलाइमा
 
त्यसैले त
तिम्रा दु:ख धर्तीका दुःख
धर्तीका दु:ख तिम्रा दुःख भएका होलान है आमा !!!