प्रकृतिसँग पौंठेजोरी
प्रकृतिको स्वच्छ निर्मल क्यान्भासमा
प्रतिपल, अटल, अविरल, निरन्तरका लिखत,
ठाडा, तेर्सा, दायाँ, वायाँ, कहीँ गहिरा, कहीँ बाङ्गा रेखा,
केवल होलान् त बुढ्यौलीका चिन्ह,
यत्रो मेहनतले दशकौँ लगाएर,
लेख्यो होला नै किन,
तर हाम्रा लागि काला अक्षर भैँसी बराबर !
खै त, सानु छँदा कखरा पढाउने गुरुजी,
ठुला हुँदै जाँदा विभिन्न लिपि खुट्याउन सिकाउने सहयोगीहरू,
मोडर्न आर्टको रेसा रेसा केलाउनेहरू,
इतिहासको गर्तमा रहेका पाषाण लिपिसमेत फरर बाचन गर्नेहरू,
जिउँदो इतिहासको अनुहारमा अमिट लेखोट,
बाच्न चुक्यौ, नराम्रोसँग चुक्यौ ।
श्रीकृष्णको गीताज्ञान त्यहीँ प्रष्फुटित हुँदो हो,
बुद्धका पञ्चशील त्यहीँ लुकामारी खेल्दा हुन्,
कालिदाशका मेघदूत र सेक्सपियरका रोमियो जुलियट,
यी कालजयी अजर अमर प्राकृतिक लेखोटका अगाडि
फिक्का पर्दा हुन्,
मुनामदनकी मुना यी लेखोटकी मुनाका अगाडि,
लजाउँदै लुक्दी हुन्,
दा भिन्चीकी मोनालिसा, कुरूप देखिने डरले
घुम्टोभित्र आफूलाई समेट्दी हुन्,
तर खै हामी यी पढ्न चुक्यौँ, नराम्रोसँग चुक्यौँ ।
त्यसैले,
आऔँ, अघि बढौँ,
यी प्राकृतिक काव्यधारक जिउँदा इतिहासलाई,
पढौँ, पढाऔँ, सिकौँ, सिकाऔँ, रमौँ रमाऔँ,
इज्जत गरौँ, सम्मान गरौँ।
(२०७६ साल, कार्तिक २७ गते, पचासी देखि ९८ वर्ष सम्म पुगेका अग्रज फरेष्टरको सम्मान गर्ने कार्यक्रममा वाचन गरिएको कविता।)
लेखकको सम्वन्धमा