धनाड्यको खोज
दुनियाँ यस्तै रहेछ । सबै सफलता अनि पैसाको पछि दगुरिरहेछन् । अझ कतिपय मान्छेहरू त पैसा कमाउनु, धन र धाक जमाउनुलाई नै सफलता ठान्छन् । आजका मान्छेले महादेवलाई समेत धनसँग जोडेको छ । त्यसैले त उखान बन्यो नि- ‘धन देखेसि महादेवका नि त्रिनेत्र’ । हामीसँग यस्ता उखान धेरै छन् । मौकामा अर्को एउटासम्म नाम लिइहालौँ न- ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी ।’ यस उखानले साँच्चै नेपाली समाजको प्रतिबिम्बन गरेको देख्छु म त । हो नि- धन हुँदा सबै आफ्ना अनि नहुँदा आफ्ना नि बिराना हुन्छन्।
आखिर पैसालाई किन यत्ति धेरै महत्त्व दिन्छन् मान्छेहरू ? यही कारणले होला आजका मानिसहरू निक्कै धनी छन् । सायद आजभोलि हाम्रो समाजमा धनीहरूको भने कुनै कमी नै छैन। सबै मान्छे धनी नै धनी ।
‘ए गाँठे ! को कति धनी होला हँ ?… सबैभन्दा धनी को होला ?’ मेरा मनमा यस्ता कुरा धेरै समयदेखि खेलिरहेका थिए ।
एक दिन खाना खाएर भुँडीलाई आराम दिन पल्टिउँन्जेल नै भए पनि आफूले जानेबुझेका मध्येबाट सबैभन्दा धनाड्य को हो भनी छुट्याउँन मन भयो ।
अस्ति मात्र सहरमा ४\५ तले घर ठड्याउने बलबहादुरलाई नै मैले सबैभन्दा धनी ठानेँ । उसलाई सबै थोकको पुगिसरी छ । फेरि मेरा अगाडि श्यामकृष्णको पिल्टिक्क परेको भुँडी देखियो । ऊ खाइलाग्दो पनि छ । ‘धनी त यही पो हो ।’-मैले सम्झेँ ।
यसपछि एक से एक धनाढ्य तँ छाड् म छाड् गर्दै मेरा अगाडि आए । दिनभर सोसल मिडियामा एक्टिभ देखिने पूर्ण किन धनाढ्य होइन ?… त्यो भीम ! खाट्टि धनाढ् त भीम नै हो । ऊ अस्ट्रेलियामा बसेर खुब पैसा कमाउछ रे !
हैन हाम्रा मास्टरसाबको हालत के होला ? उनी पनि धनी नै हुन् । ओहो ! पण्डित बाजे त झनै हुने खाने हुन् नि !… ती नेताजीसँग कम्ती धन छ त !
यस्ता कुरा मेरा मनमा आइरहे । कुराको ताँती रोकिने कुनै लक्षण नै थिएन । मेरा मनले कुरालाई अन्तै मोड्यो । एकाएक मनले मनलई प्रश्न गर्यो-‘यिनीहरू किन धनी हुन् ?’ र मनले नै मनमनै लेखाजोखा गर्न थाल्यो ।
बलबहादुरले सहरका चोकमै गगनचुम्बी घर त ढड्यायो तर बैंकमा ब्याज र किस्ता तिर्न दगुर्दादगुर्दै तेस्का सास्ती गलिसके होलान् । बरा ! अस्ति असिनपसिन भएर बैकतिर कुद्दै थियो । के धनी भन्नू र मनभरि पीडा बोकी अरूलाई देखाउन मत्र घर ठड्याउनेलाई ? आफ्नो सम्पत्तिले भ्याउने बनाउनु नि बनाए पनि । बैंकबाट लोन लिईलिई घर बनाउन के खाँचो परेथ्यो र ?
श्यमकृष्णले भुँडी त पिल्टिक्क पारो नि । मोरो, हेर्दा नि खाइलाग्दो देखिन्छ तर के गर्नु, आफ्नै नाइटामा अल्झेको भुवा निकाल्नसमेत अगाडि ऐना चाइने रहेछ । अनि तेस्को भुँडीभन्दा नि धेरै ठुलो लिस्ट होला तेस्लाई लागेका रोगैको मात्र । यस्ता रोगीलाई नि के धनी भन्नू र ?
हैन सबै जना काममा ब्यस्त हुने यो सिजनमा पनि दिनभर फेस्बुकमै झुत्ती खेल्ने पूर्ण त हैन कतै सबैभन्दा धनी ? पुगीसरी आएरै त होला फेसबुकबाहेक अरू कुराको हतारो नै छैन उस्लाई । तर अस्ति उसकै एउटा छिमेकी भन्दै थियो- ‘बिचरालाई मेरो जस्तै एन्सेलको असी रुपैयाँ लोन छ रे डाटा किनेको । अँह, त्यो पनि तेत्ति धनी त हैन रहेछ । भीम अस्ट्रेलिया बसेर जति नै पैसो कमाए नि ५/७ वर्षबिना घर आउँन सक्दैन । यता घरमा उस्का बाआमा भने उसकै यादमा आधामासु भएका छन् । घरमा भएका बाआमालाई बेवास्ता गरेर पैसो कमाउन ढुक्कै बिदेसिनेलाई पनि के धनी भन्नू ? त्यो त महाको गरिब हो।
बरु मास्टरसाब नै धनी हुन् । कोही पाउनापाछा उनकोमा जाँदा थाहा पाइन्छ कि असली मेजमान के हो भनेर । उनको घरमा सानोभन्दा सानो कामले जाँदा पनि भित्र नपसी, चिया, नास्ता नगरी फिर्न धरै पाइन्न । तर अस्ति कसले पो भन्दै थियो कि ‘उनले यो सब घरको डेकोरेसन अनि नयाँ सोफा, दराज आदि फर्निचर देखाउनलाई गरेका हुन् । त्यसैले एकछिन भए नि उनकामा बसिदिनै पर्छ । तर यो सबैले त हैन नि । अली धनीमानीजस्तो परेको मान्छे जाँदा मात्र हो । कोही अनुहारैले गरिबजस्तो लाग्यो भने पनि चियानास्ता त के बस्नसमेत भन्दैनन् । बाहिरै डिलतिर बसार “किन आ’को” सोधेर फिराइहाल्छ्न् । यस्तालाई नि के धनी भन्नू र ? धनीलाई मात्र भाउ गर्ने, गरिबलई मान्छे नगन्ने ! यिनलाई धनी त के मान्छेकै वर्गमा नरखूँ कि भन्ने लाग्यो मलाई त ।
पण्डित बाजे पनि कमका रहेनछन् । एउटै कार्जेबाटै टन्न पैसा लुँड्याउछ्न् । खर्च पनि गर्छन् उनी । पोहोर मात्र माथि डाँडामा मन्दिर बनाउन भनेर पचास हजार सहयोग गरे । अरू धनी भनिएकाहरूले दस बाह्र हजार मात्र सहयोग गरेका थिए । तर फेरि बाढीले घर बगाएका बाढीपीडितहरूलाई सहयोगका लागि चन्दा उठाउँदै जाँदा भने पाँच रुपैयाँ दिएर औकात देखाइहालेथे । अँह, मानवका पीडा नदेख्नेहरूलाई पनि धनी भन्न यो मनले सकेन । बिचरा ! हाम्रा नेताजी । ‘मुखमा राम राम बगलीमा छुरा’ चुनाबअघि जनतालाई अनेक आशा देखाउछन्, पछि जनताकै हुर्मत काढ्छन् । तिनका भाषण जनताका लागि ‘हात्ती आयो, हात्ती आयो फुस्स’ मात्र हो । जनताकै काम गर्दागर्दै थाकेजस्ता देखिन्छ्न् । फेरि, त्यो कुन्नि के जाति भुस हो कि घुस खान परेचाहिँ कति जाँगरिला देखिएका ! त्यसले कहिल्यै नअघाउने हन्तकालीलाई के धनी भन्नू र ? फेरि हरेक चुनावमा हात जोड्दै, भोट माग्दै आउँछन् । मगन्तेजस्तै बनेर ।
अहिलेसम्म कुराको चुरो निस्केन । को धनी हो ? कुनै जवाफ आएन । आखिर मेरा मनले मनलाई नै सुटुक्क भन्यो- “भीमलाई पैसाभन्दा महत्त्वपूर्ण बाआमा हुन् भन्ने ज्ञान भए, मास्टरसाबले धनी मात्र हैन घरमा गरिब आउँदा पनि खाना खुवाएर पठाए, पण्डित बाजेले पनि मन्दिर बनाउन जस्तैगरी बाढीपीडितलाई पनि सहयोग गरे अनि नेताजीले घुस नखाई देश र जनताको काम गरे यी सबैलाई म सबैभन्दा धनी घोषित गरिदिने थिएँ ।”
मनमा कुरा खेलिरहेका थिए, खाना खाएर पल्टिएको म कतिखेर भुसुक्क निदाएँ, पत्तै भएन ।
लेखकको सम्वन्धमा