November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

त्यो रात

‘जीवन र मृत्युको क्षणलाई एकै साथ  त्यति नजिकबाट धेरै कम मान्छेले देखेका हुन्छन्, दुर्भाग्यवश मैले पनि भोग्नुपरेको थियो, बाल्यकालको कलिलो उमेरमा बिताएको त्यो कालो रात । हिजोको रातझैँ लाग्छ  । त्यो रात म भुल्न सक्दिनँ तर सम्झन पनि मन लाग्दैन’, मोबाइल हेरिरहेका बेला  आरवले यस्तै कुरा सम्झ्यो । उसले मोबाइल  बन्द गर्यो ।  ओछ्यानमा  पल्टेर सुत्न खोज्यो तर सकेन  र अतीतमा हरायो-

अस्ताउँदो घामले  कोठा अँध्यारो हुन लागेको थियो । मामाका छोराले बती बाल्यो र म बसेकै ओछ्यानमा बसी  आफ्नो पढाइतिर ध्यान दिन थाल्यो। 

“आरव दाइ, मेरो कापी सक्कियो, एउटा कापी किन्नु पर्नेछ” -भाइले भन्यो ।

“मेरो पाइन्टको गोजीबाट पैसा निकाल आनि ल्याइहल, अँध्यारो हुन लागेछ ।”-पर झुन्डिएको पाइन्टतिर इसारा गर्दै मैले अह्राएँ ।

रिसव दाइ अर्को ओछ्यानमा बसेर मोबाइलमा व्यस्त हुनुहुन्थ्यो। उहाँ भरखर कक्षा १२ को जाँच दिएर नतिजाको पर्खाइमा हुनुहुन्थ्यो ।

“गोजीमा पैसा भेटिएन, यो पाइन्ट त रिसव दाइको हो । आरव दाइ ! तपाईंको पाइन्ट रिसव दाइले लगाउनु भाको छ त ।”  मामाका छोराले भन्यो ।

मैले रिसव दाइले लगाको पाइन्टको गोजी छाम्न आग्रह गरेँ।  

दाइले नछामीकन भन्नुभो, “छैन !”

रिसव दाइ र मबिच ‘पैसा हरायो कि चोरी भो’ भनेर  एकछिन भनाभन भयो । यतिकैमा दाइ कोठाबाहिर निस्कनुभयो । 

मैले  निन्याउरो पारामा भाइलाई भानेँ, “हिँड दिदीका घर जाऊँ, त्यहीँ पढौँला । बिहान बाबाले दिनुभाको रु १००० मैले त्यही पाइन्टका गोजीमा हालेको थिएँ, अहिले छैन !”

भाइ किताब झोलामा हल्न थाल्यो । किन हो किन मलाई जान मन लागेन !

सायद त्यस रात हामी दुइ भाइ कोठाबाट निस्केर गएका भए मलाई जीवनभर पछुतो हुन्थ्यो ।

पढ्न गाउँभन्दा पर सहरको एउटा कोठा भाडामा लीई हामी तीन भाइ म, रिसव दाइ र मेरा मामाको छोरो  बसेका थियौँ । बाबाआमा कहिलेकाहीँ आउनुहुन्थ्यो । 

रात पर्न लागेको थियो । हामी कोठामा मौन र चिन्तित थियौँ । ड्याम्म लात हानेर ढोका खोली दाइ कोठाभित्र पस्नुभयो । हातमा आपको जुस बोतल (SLICE) थियो । उहाँले ‘यो खा’ भन्नुभयो । हामी  खान मानेनौँ ।

नाटकीय रूपमा रिसव दाइले, “ल आज अब मलाई अन्तिमपल्ट हेरिहाल् है ।” भन्नुभयो । उहाँको स्वर गहिरिदै थियो । ऒठ काम्दै थियो । “म सबैका लागि बॊझ बनेको रैछु । बा-आमाले नि हेला गर्नुहुन्छ । कसैले माया गर्दैन। मेरो बाँच्नुको के आर्थ ! मैले  अब कसैलाई केही हानि पुर्याउने छैनँ ।… अल्बिदा !”

दाइको मुहार र शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यो कलिलो उमेरमा हामीले केही बुझ्न सकिरहेका थिएनौँ ।

दाइ ओछ्यानमा सुत्न खोजिराख्नु भएको थियो । हामीलाई निकै डर लाग्न  थाल्यो । हामी रुन थाल्यौँ ।  

दाइले थप्नुभो, ” तिमीहरुले त साबैलाई थाहा दिन्छौ । मलाई सदाका लागि शान्तले सुत्न देऊ ।” 

हामीलाई सङ्का लाग्यो । एकअर्काको नजरमा लुकेको डर देखेर झन् हामी विस्वस्त भयौँ ।

हामीले आफूलाई भावनात्मक रूपले  सम्हाले पानि दाइले  आफूलाई समाल्न सकिराख्नुभएको थिएन । खाएको कुराले शरीरलाई तुरुन्तै प्रभाव पार्न थाले जस्तो थियो । कामिरहेको शरीर, माथिल्ला दाँतले तल्ला दाँतलाई टक टक गरिरहेको आवाज प्रस्ट सुनिन्थ्यो । ऒठकिनारबाट लुगा धुँदा निस्किने फिजजस्तै तत्त्वको नदी बग्न सुरु भयो । 

गाउँतिर सुनेरै होला, मैले तत्कालै पर ग्यास चुलोनिरबाट आचारको डब्बा तानेँ । हातमा अटाउने जति अचार लिएर दाइको मुखमा हालेँ, ताकि दाइलाई बान्ता आओस् । खाएको चिज  बाहिर निस्कोस् ।  मुखमा औँला हालेर, जसरी भए पनि बान्ता आउन कोसिस गरियो ।

दृश्य, अकथनीय, भावविभोर पर्ने, सोच्ने शक्ति शून्य पर्ने खाले थियो । हामीले बोकेरै अस्पताल लाने विचार गर्यौ तर सकेनौँ। 

मैले भाइलाई दिदीलाई फोन गर्न आह्राएँ । दिदि-भिनाजु सहरमै आर्को चोकमा आफ्नै घरमा बस्नुहुन्थ्यो ।

एकछिन सास लिएर होस सम्हाली म कोठाबाहिर आएँ । टर्च बालेर चारैतिर भौतारिन थालेँ । पर दाइको मुख गनाएझैँ गन्ध आइरहेको  एउटा बोतल मैले  फेला पारेँ । आधी जति झोल त्यसमा छँदैथियो । मैले हतपत त्यो बोतल एउटा प्लास्टिकको झोलामा राखेँ  । अहिले याद छैन कुन रसायन थियो त्यसमा ।

दिदी भिनाजु मोटर साइकलमा एकछिनमै आउनुभयो । हतार हतारमा  रिसव दाइलाई हामीले उठाएर  मोटर साइकलमा  बसायौँ । म पछाडि बसेँ । भिनाजुले एकछिनमै आस्पतालसम्म पुर्याउनुभयो । आकस्मिक कक्षमा दाइलाई भर्ना गरियो । मैले प्लास्टिकमा बाँधेको विसको बोतल डाक्टर साबलाई दिएँ । हामी बाहिरै पर्ख्यौ । चिन्ता र डरले रातभरि निद्र लागेन ।

डाक्टर साब  आकस्मिक कक्षबाट निस्कदा  चिन्तित देखिनु भएको थिएन । उहाँले हामीलाई भन्नुभयो, “खतरा टरेको छ ! त्यो विस किटनासकरहेछ । विस थाहा भएर उपचार गर्न सजिलो भयो । अस्पताल आउन आलिकति ढिलो भएको भए गम्भीर अवस्था हुनेथियो र ज्यान बचाउन गाह्रो हुन्थ्यो।”

यति सुनेर म र मामको छोरा कुर्सीमा बस्यौँ । निद्र लागेन । 

पूर्वबाट आएका घामका सुनौला किरण हामीलाई आशाका किरणझैँ लाग्यो ।

भइले सोध्यो, “आरव दाइ जीवन किन महत्त्वपूर्ण छ ?”

मैले रुँदै भनेँ ,”किनकि जीवनको क्षणभरमै अन्त्य हुनसक्छ । हाम्रा कर्म  र हामीलाई माया गर्नेहरूका कारण जीवन अमूल्य छ !”    

“आज सुनौलो दिन रहेछ । हिजोका रातको अँध्यारोलाई  बिहानीको उज्यलाले  चिरेको छ!” भनेर हामी रुदै बा-आमाका अँगालामा बेरियौँ !

आरवले सोच्दासोच्दै आफू निदाएको थाहै पाएन।

मलाई यस कथाले निक्कै गम्भीर बनायो । यस कथाका रिसव र आरव पात्रबिच आत्महत्यामा टुङ्गिनुपर्ने खाले झगडा भएको थियो ? थिएन नि ! किन रिसवले आत्महत्या गर्ने निर्णय गर्यो ? करण सानो झगडा, भनाभन थिएन ! रिसवले १२ को परीक्षा राम्ररी लेखेको थिएन । उसले आफ्नी आमाको एटिएमबाट पैसा निकाली प्रेम सम्बन्धमा फजुल खर्च गरेको थियो। 

“प्रेम गरेकी  केटीले धोका दिएका कारण मैले आत्महत्या गर्न खोजे” रिसवले  परिवारलाई भन्यो ।

उसले नढाटे नि कारण यो मात्रै पनि थिएन। परिवारबाट हेला, पढाइमा असफलताजस्ता आनेकौँ कारणका सञ्जालले  खासमा रिसवलाई  डिप्रेसन  भन्ने जटिल मानसिक रोगले ग्रसित बनाएको थ्यो।

१० मध्ये ८ डिप्रेसनका बिरामीहरूले आत्महत्याको प्रयास गरेको पाइन्छ । आत्महत्याको निर्णय क्षणभरमै व्यक्तिले  लिनेगरिएको पाइन्छ। मृत्युबाट उम्कन सफल भएपछि अत्यन्त खुसी भएको र आफ्नो कदम गलत रहेको अनुभव बिरामीहरूले गरेको देखिन्छ ।

मानसिक रोग शारीरिक रोगभन्दा खतरनाक हुन्छन् । आफ्ना मनका कुरालाई हामीले मनमै  दबाइराख्नु पटकै राम्रो उपाय होइन । साथीको कुरा सुनौँ, आफ्ना समस्या सुनाऔँ । कुनै व्यक्तिसँग आत्महत्या गर्ने हजारौँ कारण हुनसक्छन् तर जीवन बाँच्ने एउटा कारण हामीले त्यस्ता व्यक्तिलाई देखाउन सक्नुपर्छ। जीवनको अन्त्य कुनै समस्याको समाधान हैन । यो कुरा बुझाउन सक्नुपर्छ।