मृत्युत्सव
“जाऊँ बुबा ।”
“कहाँ जाने ?” अनौठो कौतूहल देखियो बुबाका अनुहारमा । आमा र परिवाका अरू सदस्यहरूले पनि मलाई अनौठो गरी हेरे ।
वृद्ध अवस्था ! बुबालाई कतै लग्न सक्ने सम्भावना थिएन । आमा, भाइ, बुहारी, भाइका र मेरा छोराछोरी अनि मेरी श्रीमतीले बुबा र मलाई घेरिरहेका थिए । मानौँ समस्याको समाधान मसँग छ । उनीहरू यस्तै सोच्थे । घरी घरी मलाई जिज्ञासु नजरले हेरिरहन्थे ।
मैले एकछिन गौर गरेर सबैलाई हेरेँ । अनि निकै गम्भीर भएर भने, “मृत्युत्सव मनाउँन ।”
‘हँ !’ एकै पटक चारैतिरबाट विस्मयको शब्द निस्कियो ।
मैले यस्तो भन्न सक्छु भन्ने कसैले सोचेकै थिएनन् ।
“बुबा बिरामी हुनुहुन्छ । भरखरै फैलिएको नयाँ सङ्क्रमण बुबामा देखियो । बुबालाई एकान्तबासमा लग्न पुलिस प्रशासन र डक्टरहरूको टोली छिट्टै हाम्रा घरमा आउँदैछ ।”– मलाई साँझपख भाइले फोन गरेको थियो ।
म निर्वाक भएँ । कता कता टोलाएँ । मन बेचैन थियो । कुरैकुराको आँधी चल्यो मनमा । ‘ओहो त्यो उमेर ! नयाँ सङ्क्रमण ! बुबाको पहिलेदेखिकै कमजोर स्वास्थ्य अवस्था ! एकान्त बासमा गरिने हेलचेक्य्राइँ !’ मेरो मुटु ढक्क फुल्यो ।
“के गर्ने ? मैले त कुनै निधो गर्नै सकिनँ ?” मेरो कुरा भुइँमा झर्नै पाएको थिएन ।
“लौ ! के भनूँ मैले ?” हातले हाउभाउ गर्दै ठुल्ठुला आँखा पारेर मेरी श्रीमती बोलिन्, “छोराले जे गर्नुपर्ने हो, त्यही गर्नुस् ।”
‘कस्तो छुचो बोल्छे मेरी बुढी !’ मैले सोचेँ ।
“तिमी छोरो भएकी भए के गर्थ्यौ ?” मेरा मुखबाट अली चर्को आवाज निस्क्यो ।
“म ?” गम्भीर भएर उनले मलाई हेरिन् अनि भनिन्, “हनुमान् सागर तरेझैँ अहिले उडेर पुग्नेथेँ बुबाको सेवामा ।” उनको स्वर कता कता काँपेजस्तो सुनियो । त्यही कम्पनले मेरो मुटु हल्लायो ।
“म छोरो भएर के गर्नु ? बुहारीले ससुरालाई जति आदर, श्रद्धा र स्नेह गर्छे त्यति पनि रहेनछ, बुबाप्रति मेरा हृदयमा !” साह्रै नरमाइलो लाग्यो । बर्र आँसु झरे ।
“बुबा ! यो रुने बेला होइन ।” नौ वर्षकी छोरी सानो झोला बोकेर मलाई सम्झाउँदै थिइन् ।
“आधा रातसम्ममा कसो नपुगिएला ?”– अली ठुलै झोला निकाल्दै श्रीमतीले भनिन्, “कुनै अवरोधले हामीलाई छेक्न सक्दैन । जति अवरोध त्यति नै उपाय । आउनुस्, मैले सबै ठिक पारिसकेँ ।”
झमक्कै साँझ भइसकेको थियो । मैले गाडी निकालेँ । हामी हुइक्युँ गाउँतिर । मनमा अनेक कुरा खेले । मेरी श्रीमतीको साहसलाई मैले धेरै पटक सलाम गरेँ ।
म गहिरो सोचमा डुबेछु । एकान्तमा हराएछु । सायद मेरो गाडी चलाइ अनियन्त्रित थियो ।
“के निदाउनुभयो ?” श्रीमतीको चर्को आवाजले म झस्किएँ । त्यसपछि गाडी उनले चलाइन् । म छेउमा बसेँ ।
आधा रातमा हामी घर पुग्यौँ । कसैका आँखामा निद्रा थिएन । भाइ–बुहारी आत्तिसकेका थिए । हाम्रो गाडी आँगनमा रोकिँदा उनीहरू झन् डराएछन् । बुबा लमतन्न परेर सुत्नुभएको थियो । आमा छेउमा बसिरहनुभएको थियो । मुखले केही नबोले पनि उहाँहरूका अनुहारमा बेचैनी प्रस्ट देख्न सकिन्थ्यो । साने (भाइको सात वर्से छोरो) बुबाका छेउमा कुङ्ली परेर सुतेको थियो ।
हामी बुबाकै बिस्ताराका छेउमा बस्यौँ । के गर्ने ? कुनै उपाय थिएन । तर, सबैले मलाई आशाका आँखाले हेरेका थिए । यस्तै अवस्थामा म एकाएक बोलेको थिएँ, “जाऊँ बुबा ।”
मेरो दोस्रो बोली (मृत्युत्सव मनाउँन ।) ले सबैको हृदयलाई जोडतोडले हल्लाइदिएको थियो । आमाका हृदयको शान्त तलाउ छचल्कियो । अनि आँसुका रूपमा बग्न थाल्यो । भाइ–बुहारीले अनौठो माने । मेरी श्रीमतीले मलाई खाउँला जस्तो गरेर हेरिन् । बुबा लाटोजस्तो देखिनुभयो ।
‘यस उमेरमा, यति कमजोर मान्छेलाई यस्ता सङ्क्रमणले सितिमिति छाड्दैन !’ सबैका मनको डर यही थियो । मनमा जे डर छ, त्यही हुन्छ भनिदिँदा मान्छे साँच्चै कहालिँदो रहेछ ।
मैले स्थिति सम्हाल्दै जोससँग भने, “हो बुबा ! मृत्युत्सव मनाउन जाऔँ हामी ।”
अझै कसैको कुनै प्रतिक्रिया आएन । सबैले मलाई क्वारक्वार्ती हेरिरहे । म आफूलाई दह्रो बनाउँदै नेताको जस्तो जोसिलो भाषण दिन थालेँ, “मेरा हजुरबा बित्नुभो । बुबा ! हजुरका बुबा र हजुरबा बित्नुभो । आजभन्दा अगाडि हाम्रो लामो पुस्ते इतिहास छ । त्यस इतिहासका पात्रहरू हामीबाट टाढा गइसके । कोही पनि हाम्रो मायामोहले आजसम्म अजम्मर भएर बाँचेन र यही थितिमा कोही अजम्मरी भएर बाँच्न पनि सक्दैन । मर्नु निश्चय छ भने किन रोई रोई मर्ने ? किन हाँसी हाँसी नमर्ने ?”
सायद मेरो कुरा कसैले पनि बुझेनन् । बुबाले आँखा चिम्लनुभयो । आमाले टाउको अर्कातिर फर्काउनुभयो । भाइ उठेर अर्का कोठातिर लाग्यो । टुक्रुक्क बसेकी बुहारी गहिरो सोचमा डुबेकी जस्ती देखिन्थिन् । श्रीमतीका अनुहारमा म हजारौँ प्रश्नैप्रश्न देखिरहेको थिएँ । मेरा चर्का कुराले साने पनि उठ्यो र छेउमा कुक्रुक्क परेर बस्यो ।
मैले आफूलाई अझ सम्हाल्दै भने, “आखिरी क्षणसम्म म बुबाको सेवा गर्न आएको हुँ ।”
बुबाले आँखा खोल्नुभयो । आमाले मलाई पुलुक्क हेर्नुभयो । भाइ पनि दैलामा टुप्लुक्क देखियो । बुहारीका आशालाग्दा आँखा मलाई हेरिरहेका थिए । श्रीमतीको उग्र रूपमा अली शान्ति आएको मैले देखेँ ।
“तर…म यो अवसर पाउँदिनँ । त्यसैले भागौँ यहाँबाट । उज्यालो हुन नपाउँदै पुलिस प्रशासन र डक्टरको टोलीले बुबालाई लग्ने छ । त्यसपछि…” भित्रैबाट भक्कानो फुटेर आयो । मेरो बोली निस्कन सकेन ।
सङ्क्रमणका बारेमा टेलिभिजनले धेरै दृश्यहरू देखाएको थियो । जस्तै : सङ्क्रमितलाई एकान्तबासमा राखिएको, सङ्क्रमितको चाप अत्यन्त धेरै भएकाले यथोचित व्यवस्थापन गर्न नसकेको, यस सङ्क्रमणको कुनै औषधी नभएको, उचित रेखदेखका कमीले सङ्क्रमितको मृत्यु भएको, मृतकको अन्त्यष्ठीमा परिवार तथा आफन्तजन जान नपाएको । सङ्क्रमितको मृत्युको खबर सुनेर आफन्तजनहरू छाती पिटी पिटी रोएको आदि ।
सायद यिनै दृश्यले हामीलाई साह्रै भावुक बनाएको थियो ।
मैले आफूलाई सम्हाल्दै भनेँ, “त्यसैले बुबा ! आमा ! जति सक्दो चाँडो हामी यहाँबाट भागौँ । मेरा यी हात सधैँभरि बुबाआमाको सेवा गर्न आतुर छन् ।”
छोरीले जोसिलो स्वरमा भनिन्, “मेरा यी हात हजुरबाको सेवा गरेर थाक्दैनन् ।”
श्रीमतीको कमलो मन पग्लियो । कुनै शब्द निकाल्न सकिनन् उनले । अर्कापटि फर्किएर आँसु पुसिन् । आमाका आँखा ओभाएनन् । भाइले आँसु पुस्दै भन्यो, “कहाँ जाने दाजु ?”
सानेले भन्यो, “म पनि हजुरबासँगै जान्छु ठुल्बा ।”
केही अन्न, पाल, लुगा र अन्य आवश्यक कुरा भाइले गाडीका हुटमा राख्यो । गाडीभित्र हामी कोचाकोच गरी बस्यौँ । मैले गाडी गुइक्याएँ ।
जङ्गल नजिकैको गाउँमा हामी पुग्यौँ । हामीले गाडी बेपर्बाह छाडिदियौँ । अरूले सकेको सामान बोके । मैले पिठ्युँमा बुबालाई बोकेँ । हाम्रा पाइला जङ्गलतिर लम्किए ।
सबैले असाध्यै फुर्तिसँग काम गर्यौँ । उज्यालो भइसकेको थिएन । घना जङ्गलको अलिकति खुल्ला ठाउँमा पाल टाँगियो । बिस्तारा मिलाइयो । म बुबालाई आराम गराउँन लागेँ । आमा बुबाका छेउमा बस्नुभयो । श्रीमती खानेकुरा तयारी गर्न लागिन् । भाइ र बुहारी गाडीमा छुटेका सामानहरू लिन दौडिए । फर्किर आउँदा उनीहरूले कुनै किसानसँग किनेर अलिकति दुध पनि लगेछन् । खानाको प्रबन्ध भयो । म बुबाका छेउमा बसेर मिठा मिठा गफ गर्न थालेँ । भाइ वरपरको चासो गर्थ्यो । नजिकैका गाउँमा गएर पोसिला खानेकुरा खेजी खोजी ल्याउँथ्यो । छोरी र साने मिठा मिठा चुट्किला सुनाउँथे ।
मैले गफैगफमा बुबाका मनका सबै पिरहरू पखालिदिएँ । बुबाले जीवनभरि गरेका राम्रा कामहरू मैले सम्झी सम्झी प्रशंसा गरेँ । बुबाले पनि ती कामहरू मैले यसरी गरेँ, उसरी गरेँ भन्दै बेलीबिस्तार लाउनुभयो । छोरा, बुहारी, नातिनातिना सबै असल भएको कुरा गरेँ । बुबा भाग्यमानी मान्छे भएको कुरा गरेँ । बुबाको सेवा गर्न पाउँदा हामी सबैले खुसी व्यक्त गर्यौँ ।
बुबामा धर्मप्रतिको गहिरो विश्वास थियो । मैले सोह्रै अध्याय गीता पढेर सुनाइदिएँ । त्यसको अर्थ मभन्दा बढी बुबा आफैँ जान्नुहुन्थ्यो ।
कहिले बुहारी तात्तातो जाउलो ल्याएर खुवाउँथिन्, कहिले श्रीमती गेडागुडीको तात्तातो सुप खुवाउँथिन् । पोसिला खानेकुराको कुनै अभाव भएन । खानेकुरा खोज्ने जिम्मा भाइको थियो । मैले हँसाई हँसाई, ठट्टा गरी गरी बुबालाई दुध र मह खुवाइरहेँ । म बुबासँग अली बढी ठट्टा गर्थेँ । बुबा हाँस्नुहुन्थ्यो ।
हामी दिउसो पारिला घाम तापेर बस्थ्यौँ । मृगका पाठाहरू नजिकै आएर उफ्रन्थे । पर पर सल्लाका रूखहरू सुसाएको आवाजले मनै आनन्द थियो । बेलुका टहटह जुन हेर्दै कुराकानी गथ्यौँ ।
हामीले घर बिर्स्यौँ, खेतीपाती बिर्स्यौँ, जागिर बिर्स्यौँ, आफन्त बिर्स्यौँ । सबै सबै बिर्स्यौँ । हामी हामीभित्रै हराएका थियौँ ।
“बुबा ! रमाइलो छ है !” मेरा कुरा सुनेर बुबा ‘हो’ भन्ने आशयमा टाउको हल्लाउनु हुन्थ्यो ।
“तर, हामी धेरै दिन यहाँ बस्न पाउँदैनौँ ।” मेरा कुराले बुबालाई खिन्न पार्थ्यो । म ठट्टा गर्थेँ अनि आकाशतिर देखाउँदै भन्थेँ, “तपाईँ उः त्यहाँ जानुहुन्छ, देउताका घरमा । हामी हाम्रै घर जान्छौँ । तपाईं एक्लै पर्नुहुन्छ ।” बुबा मज्जाले हाँस्नुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो, “तँ पनि मलाई पछ्याउँदै आइहाल्छस् नि ।”
म बुबालाई खेल खेलाउँथेँ । बुबा सानो बालकलेझैँ खेल खेल्नुहुन्थ्यो । हामीले खेलको नाम राखेका थियौँ– मृत्युत्सव ।
म भन्थेँ, “मृत्युत्सव खेलौँ ।”
बुबा मेरो निर्देशनअनुसार आँखा चिम्लनुहुन्थ्यो । मेरो निर्देशनअनुसार कल्पनामा हराउँनुहुन्थ्यो । म बुबाले जीवनभरि गरेका राम्रा कामहरूको बखान गर्थे । म बुबाको जोसिलो यौवनको वर्णन गर्थेँ । म बुबाका धार्मिक कार्यहरूको प्रशंसा गर्थेँ, “बुबा ! हजुरले जीवनभर पुण्य मात्र गर्नुभयो । सबैको हित मात्र गर्नुभयो । आफ्नो रीतिस्थिति र धर्मकर्मलाई कहिल्यै छाड्नुभएन । हामी यस्ता नियमी, ज्ञानी, ध्यानी बुबाका सन्तान भएकोमा गौरव गछौँ । बुबाका पुण्य कार्यका अगाडि हामी त के ! स्वर्गका देवता पनि झुक्छन् । आखिरी क्षण हजुरलाई लिन स्वर्गका राजा इन्द्र स्वयम् आउने छन् । उनी सुन्दर विमानबाट तल ओर्लने छन् । उनका साथमा अप्सराहरू पनि ओर्लने छन् । उनीहरूका हातमा सुन्दर फूलका सुन्दर माला, सिँदुर र अबिर हुने छन् । तिनै माला, सिँदुर र अबिर लगाई उनीहरू हजुरलाई इज्जतसाथ लग्ने छन् । हजुर विमानभित्रबाट मुसुक्क मुस्कुराउँदै हामीलाई बिदाइको हात हल्लाउनुहुने छ । हामी सबैका अनुहारमा खुसीको चमक देखिने छ । आकाशमा विमान देखिउन्जेल हामी हेरिरहने छौँ ।”
यसो भनिरहँदा बुबाका अनुहारमा म अर्कै चमक देख्थेँ ।
यसरी हामीले सातौँ दिन बिताइसकेका थियौँ । आठौँ दिनका प्रातकालीन सूर्यका किरणहरू तेजिला बन्दै थिए । सायद सूर्यमा पनि हाम्रा बुबाको दर्शन गर्ने प्रबल उत्साह थियो । चराहरू चिरबिराउँदै सङ्गीत भरिरहेका थिए । सिरसिर बतास चलिरहेको थियो । हामी बुबाको सूर्यजस्तै उज्यालो मुहार हेरेर मख्ख परेका थियौँ । यस्तैमा पुलिस प्रशासनले हामीलाई घेरा हालिसकेछ ।
इन्स्पेक्टरले हामीलाई होसियार गराए, “खबरदार ! यहाँबाट भाग्ने प्रयास नगर्नुहोस् । हामीले चरैतिरबाट घेरा हालिसकेका छौँ । तपाईंहरूलाई सङ्क्रमित व्यक्ति भगाई सङ्क्रमण फैलाउन सहयोग गरेको अभियोगमा वारेन्ट पुर्जी छ ।”
डक्टरले बुबातिर अघि बढ्दै भने, “सङ्क्रमित व्यक्ति यसरी भाग्नुहुँदैन । आउनुस्, तपाईँलाई हामी लग्छौँ ।”
बुबा डक्टरको निगरानीमा एकान्तबासमा हुनुहुन्थ्यो । हामी प्रहरी हिरासतमा थियौँ । एकाएक खबर आयो–आठ दिनअगाडिका सङ्क्रमितमा आठ दिनपछि परीक्षण गर्दा सङ्क्रमण नेगेटिभ देखियो ।” धेरैले चकित हुँदै जिज्ञासा राखे– “आखिर कसरी ?” कतिले शङ्का गरे- परीक्षण विधि ठिक छैन ।”
जजस्ले जे जे भने पनि बुबालाई लिएर घर जान पाएकामा हामी भने खुसी थियौँ ।
लेखकको सम्वन्धमा