March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

‘गोरु’

प्रदीप लामा

जब मालिकको वनपाखामा लहलहाउँदो घाँस पलाउँछ
रूखमा नयाँ पालुवाहरू पलाउँछन्
खेतमा धानले बाला लहराउँछ
बारीमा मकैले घोगा फलाउँछ
गोरु खुब रमाउँछ
शायद आफूलाई हो ठान्दछ।
 
मालिकको एक मुठो गन्धे झारसँग कृतज्ञ हुन्छ
आङमा बसेको सुम्लो ‘आफ्नै गल्तीले हो’ भन्छ
घरमा ल्याएको नयाँ बहरसँग खुब आरिस गर्छ
जोत्न ल्याएको पल्ला घरको गोरुसँग रिस गर्छ।
 
जीर्ण, अस्वस्थ,थकित शरीर र पाछिएको गर्धनमा पनि
सोह्र बर्से जोस निकालेर खुसी हुँदै काम गर्छ
मुसलधारे पानीमा हिलाम्य खेतहरू जोत्छ
भदौरे घाममा गाडा तान्छ
दाँईमा दिनभरि रिँगटा लाग्ने गरी मियो परिक्रमा गर्छ।
 
गोबर्द्धन पूजाको दिन गोरुलाई दसैँ हुन्छ
पेट भरिभराउ थरी थरीका अनाज खान पाउँछ
आफ्नो मालिकप्रति कृतज्ञ भई
गुनगान मात्र गाँउछ
सद्गुण मात्र देख्छ।
 
जब खडेरी पर्दै जान्छ
भोक र प्यास बढ्दै जान्छ
दानापानीको आयतन घट्दै जान्छ
बाँकी रहेका परालको कुन्यु र मकैको खोस्टो पनि
उस्को पहुँचभन्दा बाहिर हुन्छ
गोरु मालिकसँग खुब रिसाउँछ
मालिकको बन्दै गरेको नँया घरसँग रिसाउँछ
मालिकले भर्खर खरिद गरेको जग्गासँग रिसाउँछ।
 
जब फेरि मालिकको वनपाखामा घाँस पलाउँछ
गोरुले सबै बिर्सन्छ
यथाक्रम चलिरहन्छ।
 
जब हुन्छ गोरु बुढो
तान्न सक्दैन हलो
लाग्न सक्दैन मेलो
सुक्दै जान्छ यौवन, भोक र प्यास
छोडिन्छ अनकन्टार जङ्गलमा कतै
तब उस्ले देख्दछ
निस्फिक्री चरिरहेका कोरली गाईहरू
चरनका निम्ति संसार
पिउनका निम्ति महासागर ।