हाम्रो साहित्यक यात्रामा ‘मुक्का’ प्रकाशनको जमर्को
दुई हजार उनान्चालिस सालतिरको कुरा हो । हाम्रा साथी रमेश खनाल जोरपाटीको सरस्वती स्कुलमा शिक्षण पेसा गर्दथे । हाम्रो चिनजान विजय स्मारक मा. वि. का शिक्षक रामहरि शर्माले एस्. एल्. सी. को ट्युसन पढाउने ठाउँमा भएको हो । त्यहाँ म, वसन्त रिजाल, राजेन्द्र रिजाल र रमेश खनालको बिहान ६ बजेको समयमा पढाइ हुन्थ्यो । रामहरि शर्माले अङ्ग्रेजी, हिसाब, विज्ञानको ट्युसन पढाउने हुँदा हामीले जोरपाटीदेखि हिँडेर मैतीदेवीसम्म कक्षा भ्याउनुपर्थ्यो । उहाँको बुझाउने कला राम्रो थियो । सायद उहाँका घरमा ट्युसन पढ्नेको भिड भएर होला; हामीलाई बिहान सबेरैको समय दिनुभएको थियो । रमेश, वसन्त र राजेन्द्र साइकलमा जान्थे । म हिँडेर नै जान्थेँ । अझ मलाई घरमा गाई भैंसी दोएर बौद्धमा हलुवाई पसलमा दुध छोडेर जानुपर्थ्यो । त्यसरी रमेश खनालसँग चिनजान भएपछि हाम्रो मित्रता गाढा भयो । रमेश खनाल, वसन्त रिजाल, बिमल अर्याल, गणेश योन्जन र म साहित्य लेखनमा रुचि राख्ने भएकाले हप्ताको एक दिन वसन्तको जोरपाटीको पसल घरमा जम्मा भएर साहित्य सम्बन्धी छलफल गर्ने गर्दथ्यौं । हामी आफूले लेखेको रचना पढेर सुनाएपछि सुझाव दिने र लिने गर्थ्यौं । यो क्रम करिब दुई तीन वर्ष नै चल्यो । हामीले यो समूहको नाम “कोपिला साहित्य समाज” राखेका थियौं । गणेश योन्जनजीको जागिर एक्सन एड नेपालमा भएकाले कहिलेकाँही जहरसिंह पौवातिरबाट कालिज ल्याउनुहुन्थ्यो । मैले पहिलो पटक कालिजको मासु त्यहीँ खाएको थिएँ । एउटा बैठकमा रमेश खनालले “कृषि विकास बैंकका साथीहरूले दर्ता गराएको एउटा ‘चित्रण’ साहित्यिक पत्रिका त्यतिकै नचली बसेको छ’रे हामीले चलाउने भए कुरा गरौं” भने । हामीले हुन्छ भन्यौं ।
हामी रमेश विकल दाइहरूले चलाउनुभएको ‘उत्साह’ साहित्यिक गोष्ठीमा नियमित सहभागी हुने हुनाले पनि पत्रिका प्रकाशनमा रुचि जाग्नु स्वाभाविक नै हो । रमेश खनालले कृषि विकास बैंकका उनका आफन्त बनमाली पौडेल ‘बाँकी’ सँग छलफल गरी यही बडा दसैँमा निकाले हुन्छ भनेकाले हामी पत्रिका प्रकाशनको तयारीमा जुट्यौँ । पत्रिकाका सम्पादकज्यूले रचनाहरू सङ्कलन गर्न आग्रह गरेकाले हामीले सम्बन्धित व्यक्तिलाई नभेटीकन नै रचनाहरू सङ्कलन गर्न खगेन्द्र नव जीवन केन्द्र जोरपाटीका साथीहरूसँग भेटेर “चित्रण” साहित्यिक गोष्ठी आयोजना गर्ने निर्णय गर्यौ । अपाङ्ग सङ्घको हलमा गर्ने गरी हामीले निम्ता बाँडेका थियौँ । तर एक दिनअगाडि खगेन्द्र नव जीवन केन्द्रको प्रशासनले हामीलाई हल दिन नसक्ने जानकारी गरायो । निम्ता बाँडिसकिएकाले हामीले चामुण्डा मा.वि.को एउटा कक्षाकोठामा कार्यक्रम आयोजना गर्ने निर्णय गर्यौँ ।
चामुण्डा मा. वि.को कक्षा कोठामा वरिष्ठ आख्यानकार रमेश विकलज्यूको सभापतित्वमा ‘चित्रण साहित्य गोष्ठी’ का रूपमा सम्पन्न गर्यौं । साथै कार्यक्रममा बाचित रचनाहरू आफूहरूले निकट भविष्यमा प्रकाशन गर्ने ‘चित्रण’ साहित्यिक पत्रिकामा प्रकाशन गर्ने जानकारी पनि गरायौँ । हामी कति अपरिपक्क रहेछौं । अहिले सम्झँदा हाँसो उठ्छ । पत्रिका आफ्नो जिम्मामा आउनुभन्दा पहिले नैं रचना सङ्कलन गर्दै हिँड्ने !
भन्न जति सजिलो हुन्छ गर्न त्यतिकै गाह्रो । ‘चित्रण’ पत्रिकाका सम्पादकले अन्तिममा धोका दिए । पत्रिका हामीलाई प्रकाशन गर्न नदिने निर्णय गरेको कुरा रमेश खनालले हामीलाई सुनाए । त्यस दिन हामी साह्रै निराश भएका थियौँ। हाम्रो उत्साहमा कसैले चिसो पानी खन्याएको जस्तै महसुस गर्यौं ।
अब के गर्ने ? हामीले बैठकमा व्यापक रूपमा छलफल गरी ‘चित्रण’ पत्रिकाले धोका दिए पनि नयाँ पत्रिका प्रकाशन गर्ने निधो गर्यौं । हामीलाई चित्रण पत्रिकाका सम्पादकले धोका दिएकाले पत्रिकाको नाम ‘मुक्का’ सामयिक सङ्कलन राख्ने निर्णय गर्यौ। बड़ादसैँमा निकाले विज्ञापन पनि पाइने सामयिक सङ्कलन निकाल्न दर्ता गर्नु पर्नेलगायतका झन्झट पनि नपर्ने हुँदा हामीहरू २०३९ सालमा नै पत्रिका प्रकाशन गर्न कस्सियौँ । विज्ञापनले मात्र पुगेन भने दामासाहीले पैसा हालेर भए पनि पत्रिका प्रकाशन गर्ने निधो गरेका थियौँ । पछि पैसा आफैंले हाल्नु पर्नेभयो भने हामी बेरोजगार युवाहरूलाई गाह्रो हुन्छ भनेर हामीले विशेष सहयोगीको रूपमा सीताराम ढुङ्गेल, धन्वन्तरी ‘कात्वायन्न’ विदुर चालिसे र भेषराज सापकोटालाई पनि जोड्यौं । सबै अनुभवहीन र फरक फरक राजनीतिक आस्थाका युवाहरू भएकाले हामीलाई पत्रिका प्रकाशन गर्न निकै गाह्रो भयो । सम्पादन सहयोगीमा गणेश योन्जन र रमेश खनालको नाम राख्यौं । प्रकाशकमा बौद्ध साहित्य समाज भनेर राख्यौं । सम्पूर्ण साथीहरूले दामासाहीले पैसा हालेर पत्रिका प्रकाशन गर्ने निधो गरेको भए पनि केही साथीहरूले पत्रिका प्रकाशन भएपछि पैसा दिनुभएन । पत्रिका ‘मुक्का’ बजारमा गएपछि जोरपाटीमा मात्रै होइन यस क्षेत्रमा नै हलचल मच्चियो। धेरैले ‘मुक्का’ नामप्रति नै आपत्ति जनाएका थिए । विविध ढङ्गले आलोचना टिप्पणी आउने क्रममा मकुचाजीले ‘नेपाल पोस्ट’ पत्रिकामा छपाएको टिप्पणीले हाम्रो गम्भीर ध्यनाकर्षण गर्यो । कोपिला साहित्य समाजका पाँच भाइ गणेश योन्जन, गोपाल बराल, वसन्त रिजाल, बिमल अर्याल र रमेश खनालले अरू साथीहरूलाई छोड़ेर पछि हामीहरूले मात्रै “आगमन” सामयिक सङ्कलन नाम राखेर पत्रिका प्रकाशन गर्यौ । यो पत्रिकाको सम्पादन पनि २ अङ्कभन्दा बढी जानसकेन । ‘नेपाली साहित्य’ नामक पत्रिकाले आयोजना गरेको भेलामा गणेश योन्जनजीले हामी कसैसँग पनि छफलकालागि कुनै प्रयास नगरी एक्लै उत्साहमा सघाउने आगमन बन्द गर्ने निर्णय गरेकाले पुनः हामीले पत्रिका प्रकाशन गरेनौँ । तर पनि यो प्रयासले हामीलाई साहित्य सिर्जना गर्नमा घचघचाइरह्यो।
जोरपाटी मडगाल २०७६/१२/३०
लेखकको सम्वन्धमा