अहो ! पृथ्वी त चेप्टिएछ
बच्चा बेलादेखि नै सुन्दै आएको थिएँ कि पृथ्वी गोलो छ र यो निरन्तर घुमिरहन्छ, तर मलाई विश्वास भने कहिल्यै पनि लागेन। किनकि म त आखिर सधैं पृथ्वी समतल नै त देख्थेँ बिल्कुल चेप्टो अनि अडिग कहिल्यै नडगमगाउने। अनि सोच्थेँ पनि, यदि पृथ्वी गोलो छ र घुमिरहन्छ भने किन म यसलाई महसुस गर्नै सकिरहेको छैन ? अँह यो थेप्चे नै छ, चेप्टे नै छ र यो बिल्कुलै पनि घुम्दैन।
मानौँ यो गोलो नै छ घुमि नै रहन्छ भने पनि आज जो तल छ किन त्यही सधैँ तलै रहिरहन्छ ? किन माथि आउँदैन त्यो ? र किन दायाँको बायाँ अनि बायाँको दायाँसमेत हुदैन ? यो कुराले सधैं मेरो ध्यान आफूतिरै तानि नै रह्यो । मलाई यसबारे जिज्ञासा यति धेरै बढ्दै गयो र मैले अठोट गरेँ कि म यस विषयलाई लिएर एक न एक दिन राम्रो ज्ञान हासिल पक्कै नै गर्नेछु र यी दुई तर्कलाई मथेर तिनको खाट्टी निष्कर्ष निकाल्नेछु कि ‘पृथ्वी गोलो छ या चेप्टो’ ।
मैले आफ्नो उत्सुकतालाई एक क्षण पनि रोक्न सकिनँ र मैले यस विषयमा आफ्नो ज्ञानलाई अझ फराकिलो बनाउनका लागि एक अध्ययन गर्ने निधो गरेँ । जसकालागि म एक्लो बच्चो सर्बैसर्ब थिइनँ । मैले दुई जना अग्रजहरूको साथ सहयोग लिएर मेरो यो अध्ययनलाई अघि बढाउने निर्णय गरेँ। जसमध्ये एक थिए ग्राम प्रधान बा का नाति राज। त्यस्बेला भने उनी भखरै सायद २१ नाघेर २२ टेकेका मात्र थिए होलान् । तै पनि उनका बाबुबाजेको इज्जतले गर्दा गाउँका उनीभन्दा बुज्रुकहरू पनि उनलाई आदर गरेर ‘हजुर’, ‘तपाईं’ नै भनेर संवोधन गर्ने गर्थे । बाबुबाजेको पैतृक सम्पतिले गर्दा खानबस्न र खर्च चलाउनको कुनै खाँचो नभई छेलोखेलो पुगेका उनलाई यो सम्भवतः थाहा पनि थिएन होला कि परिश्रम अनि मिहिनेत कुन चराको नाऊँ हो। उनको घर नारायनहिटी दरबारझैँ ठुलो, बगैंचा दशरथ रङ्गशालाझैँ फराकिलो अनि खेतबारीचाहिँ सिङ्गो गाउँकै आधाउधी नै छ जस्तो लाग्थ्यो मलाई। घरका सानाठुला सबै काम गर्नलाई नोकरचाकर, बगैंचाको रेखदेखलाई माली, खेतबारीकालागि हलि अनि केटाकेटी पढाउन घरमै शिक्षक बाह्रै मास उनकामा देखिन्थे। ती सबैजना प्रायः सधैँ उनको परिवारकै चाकरीमा र उनलाई रिझाउन नै व्यस्त हुन्थेझैँ लाग्थ्यो। बिहान् ९ बजे ब्युझने, ब्युझनासाथ ओछ्यानमै ‘बेड टि’ अनि फ्रेस भएर चौरासी व्यञ्जनले सजिएको टेबल ! टेबलमा राखिएको त्यो खाना खाएर दिनभर टिभी हेर्ने, गाउँ डुल्ने अनि साँझ परेपछि साथीहरुसँग रोधी र नाटकघरतिर रमझम गर्न जाने र उतै अनेकथोक खाएर राति आबेरमात्र घर आएर पल्टने । यसरी नै बिथ्यो उनको दिनचर्या।
मलाई साथ दिने अर्का व्यक्ति थिए वीरबहादुर काका, उमेरले ४० काटेका भए नि उनको पेसा अनि कमजोर आर्थिक अवस्थालाई नै हेरेर होला गाउँका ठुलासाना सब उनलाई बिरे भनेरै बोलाउने गर्थे र सम्बोधन पनि तँ भनेरै गर्थे। तर मलाई भने त्यस्तो कहिल्यै मुख लागेन, आफूभन्दा बुज्रुक भएकाले ‘काका’, ‘तपाईं” भनेर नै संवोधन गर्थें। वीरबहादुर काका भने आफ्नै नामको उत्कृष्ट उदाहरण नै थिए- वीर, बहादुर, पौरखी अनि परिश्रमी।
गाउँको पुच्छरमा सानो झुप्रो घर, त्यसमुनि दुई गरा मकैबारी अनि त्यसमुनि सानो टुक्रा खेत थियो उनको। काकीको शृङ्गारले त्यो झुप्रोलाई पनि सुन्दर चिटिक्कको पारेका हुन्थ्यो अनि त्यो सनो टुक्रा खेतबारीमा पनि मक्कै हलक्क र धान लहलह साथै मौसमअनुसारका सागसब्जी र फलफूल अटेसम्म फलाउँथे वीरबहादुर काका। लाग्थ्यो यत्तिका फलफूल र अन्नलाई भित्र्याउँदा तिनको त्यो सानो झुप्रोले थाम्ला के ? बाली धेरै भएर त हैन उनीहरूको घर सानो भएर । त्यसको अलाबा उनको आम्दानीको श्रोत के नै पो थियो र । उपचारकालागि पैसा जुटाउन नसकेकैले केही वर्षपहिले मात्र उनका छोराको किड्नी फेल भएर अकालमै निधन भएको थियो । त्यसपछि सायद इखैले पनि होला उनले भनेका थिए- ‘अब मेरी ठुली छोरीलाई म डाक्टर पढाउछु ।’ आज दुःख गरे पछिलाई सुख साचिन्छ भन्ने सोच्दै, आफ्नो पनि खुसीका दिन आउने आशामा अनि उनले जे भनेका थिए त्यो पूरा गर्नकैलागि उनी दिनरात नभनी मिहेनत गर्थे । आफ्नो खेतीका साथसाथै सिजनमा गाउँमै हली काम अनि बेसिजनमा चाहिँ सहर पसेर इटा बोकेरै भए पनि छोरीको पढाइलाई भन्दै पैसा जम्मा गर्न थालेका थिए । काकी पनि आफूले सक्केसम्म मेलापात धाएर घरखर्च जुटाउँथिन्।
यस्तै पृष्ठभूमि बोकेका यी मेरा दुई सहयोगीहरूले मलाई मेरो अध्ययनमा भने अपेक्षित साथ सहयोग दिई नै रहेका थिए। आज अध्यन थालेको पनि ४ वर्ष भैसकेको थियो। यतिन्जेलमा, राज दाइले पनि आफ्नालागि जीवनसाथी घर भित्र्याइसकेका थिए र केही दिनअघि मात्रै उनीहरूका घरमा एउटी प्यारी छोरीले पनि जन्म पनि लिइसकेकी थिइन् ।
उता वीरबहादुर काकाले पनि आफ्नी जेहेन्दार छोरीलाई धरानको हात्तीसार कलेजबाट आई. एस्. सी. सकेपछि छात्रवृत्तिमा डाक्टर पढाउन भारत पठाइसकेका थिए। पढाइ छात्रवृत्तिमै भए तापनि उनको खुवाइ, बसाइ, होस्ट्लको फि नै महँगो पर्थ्यो जुन खर्च जुटाउन यहाँ काकाकाकीलाई भने धौधौ नै परेको थियो।
अलि पछि राज दाइ भने कुनै पर्टीमा लागेर वडाध्यक्षका लागि चुनाव लडे । उनको पारिवारिक पृष्ठभूमि र आर्थिक अवस्था हेरेर पार्टीले नै त्यस छेत्रमा उनले नै चुनाव जित्छन् भनेर नै उनलाई चुनाव लडाएको थियो। बाउबाजेका अनुयायीहरू र प्रसस्त पैसाको दममा आखिर उनले सोचेजस्तै गरी चुनाव जितेरै छाडे। वडाध्यक्ष भएपछि उनी गाउँको महलजस्तो घर छाडेर भाउजू अनि छोरी दुबैलाई लिएर बजारतिरै बस्न थाले । वडाकार्यलय नजिकै र आफ्नै कार्यलयको काममै व्यस्त रहे।
काकाकाकी भने अझै पनि उस्तै मिहेनतका साथ निरन्तर परिश्रम गरि नै रहेका थिए छोरीहरूको पढाइकालागि पैसा जुटाउन अनि जीविकाकै लागि आखिर अरू विकल्प पनि त केही थिएन उनिहरूसँग। काकालाई पैसाको कमी भएको छर्लङ्ग देखिन्थ्यो, काकाको आङको त्यो पुरानो कमिज, सुरुवाल अनि काकीका आङमा भएका ती पुरानै सारीचोलो नै त्यस्का प्रतीक थिए । सम्भवतः काकाकाकीले ठुली छोरी भारत गएपछि आफ्नालागि एक जोरसमेत नयाँ लुगा थपेका छैनन्। आफू जे जस्तो लाए पनि घरमै भएकी सानी छोरीलाई भने उसका हरेक जन्मदिनमा नयाँ कपडा ल्याइनै दिन्थे।
यसोउसो गर्दागर्दै अब त काकाकी छोरी पढाइका लागि गएको नि चार वर्ष बित्नलागेछ । सानी छोरी पनि पाँच कक्षामा पुगिसकेकी थिइन्। ३/४ महिनापछि ठुली छोरी अन्तिम सेमेस्टरको जाँच सकेर डाक्टरको ट्यागसहित घर आउने र नेपालमै जागिर खाने कुरा सुन्झदैमा मात्र पनि मख्ख पर्न थालिसकेका थिए काका ।
अब त मेरो अध्ययन पनि सकिनै लागेको र म निष्कर्षमा पुग्न लागेझै मलाई महसुस हुनथालेको थियो। निष्कर्ष मैले सोचेभन्दा ठ्याक्कै विपरीत निक्लिन लागे पनि म भने धन्य थिएँ । मेरा सहयोगी वीरबहादुर काकाप्रति । आखिर उनकै सहयोगमा त मैले पृथ्वी गोलो भएझै सुइँको पाउन थालेको थिएँ ।
काका मजदुरी गर्न सहर गएका थिए । चैतको महिना ! उनको त्यो चाहुरिएको अनुहारमा अनि ती सुकेका ओठमा खुसी र मुस्कानले राम्रोसँग खेल्ने ठाउँ नपाउदै उनी आत्तिएछ्न्। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस छिमेकी मुलुक भारत भित्रिएको खबर सुनेर ।
काकाका त्यसै त सुकेका ओठ अझ नमज्जाले सिकुटिए । काकीलाई पनि त पर्नुसम्म पीर परेको थियो । नपरोस् पनि त कसरी छोरी भएकै देशमा आइपुगेको थियो त्यो हैजा । यता नेपाल सरकारले पनि तत्काल चैत ११ गते देखि बन्दाबन्दी (लकडाउन)को घोषणा गर्यो । काका भने ठेकेदारले मजदुरीको पैसा दिने आशमा केही दिन सहरतिरै बसेछ्न्। ठेकेदार भने गाडी नचल्ने डरले आफ्नो घर सुदुरपश्चिमका लागि हिनिसकेछ । काकाको बिजोग भएछ मजदुरीको पैसा पनि आएन अनि गाउँ फिर्ने गाडी पनि चल्न छाडिसकेका थिए। काका त्यत्तिकै खाली हातै, भोकैतिर्खै, हिडेर ४/५ दिनमा घर आइपुगेछन् । काका घर आइपुगेपछि रेडियाले भनेछ कि भारतको त्यही हस्पिटल जहाँ उनकी छोरी पढ्दै थिइन् त्यहाँ पनि ३ जना स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ।
काकाले हतारहतार छोरीलाई फोन गरे, फोन उठेन । काका अझ अतालिए, सोचमा परे- कतै ती तीन जनामा हाम्री छोरी त परिन ? फेरि उनले आफ्नै चित्त बुझाउँदै भने- ‘पढाइमा व्यस्त हुनसक्छे।’
लकडाउन अझ लम्मियो भने काकाको घरमा महामारीभन्दा पहिले भोकमारी आउने निश्चितै थियो । अझ त्यसमाथि यसपालिको मजदुरीको पैसा पनि पाएका थिएनन् काकाले । नभन्दै लकडाउनको नाममा १/२ महिनै बितिसकेपछि आखिर त्यो दिन आइछाड्यो- काकाका घरमा न खानकालागि केही बाँकी नै रह्यो न त खुत्रुकेमा एक कौडी पैसा नै। गाउँमा राहत बाड्ने मान्छे त आए तर काकाको घरमा त्यो रहात पुगेनछ। पछि गाउँमा हल्ला फिजियो, कि ‘असली गरिबको पहिचान नभई आफ्ना पार्टीका मान्छेहरूलाई मात्र राहत बाँडे नेताहरूले’।
काकाको परिवार अब भने कोरोना कहरमा नमज्जाले पिसुल्टियो । उता ठुली छोरीको भने अझ पनि केही अत्तोपत्तो आएन। सरकारको लाचारीपन र कमजोर रणनीतिले नै त होला नि विदेशमा रहेका को को नेपाली सङ्क्रमित भए र ककस्को ज्यान गयो अनि स्वस्थ नै भएकाहरू पनि कस्तो अवस्थामा छन्, केही अत्तोपत्तो भएन। अझ घरजग्गाको कर तिर्नुपर्ने दिन नजिक आएको कुराले थप पीडा दिइरहेको थियो काकालाई ।
काकासँग अब भने पुर्पुरोमा हात राखेर दुःख मनाउ गर्दै अँखाबाट आँसुको वर्षात गर्नुभन्दा दोस्रो विकल्प रहेन । विश्व नै यसरी कोरोना कहरमा चेप्पिरहँदा पनि मेरा दोस्रा सहयोगी राज दाइ र उनको परिवारलाई कुनै ठाँगेले समेत छोएको थिएन । उनी श्रीमती र छोरीसँग खुसी खुसी दिन बिताइ नै रहेका थिए । उनलाई खानेकुराको कुनै कमी हुने त कुरै थिएन । अझ पैसाको कमी पनि त के होस उनलाई, आफू बस्ने कोठामा लाखौंको नयाँ गलैँचा बिछ्याउने कुरा चल्दै थियो उनको । आफ्नो परिवारसँग खुसीसाथ कोठामै बसेर भए पनि उनका सोसिअल मिडियामा सेल्फीका बर्सातहरू भइ नै रहेका थिए।
अब भने मैले मेरो पृथ्वी सम्बन्धि अध्यनलाई अझ नलम्ब्याई यहीँ नै टुङ्ग्याउनु उपयुक्त हुने देखेँ र आफ्नो अध्यनको निष्कर्ष दिनुपर्ने आवश्यक ठानेँ, ।
मेरो अध्यन अन्त्यसम्म आइपुग्दा पृथ्वी गोलो छझैं बिल्कुलै लागेन, जुन मलाई पहिलेदेखि नै लाग्थ्यो। हुनसक्छ यहाँ अरु पनि कतिपय मानिसलाई लागेको थियो कि पृथ्वी गोलो छैन । तै पनि तिनीहरू जबर्जस्ति बिश्वास भने गरि नै रहेछन् कि पृथ्वी गोलो नै छ । हो पृथ्वी गोलो छैन बिल्कुलै छैन किनकि यहाँ मानिसहरू भनिरहन्छन् ‘पृथ्वी गोलो छ, पालो सबको आउँछ ।’ अँह, हैन रहेछ । यहाँ दुखीको पालो कहिल्यै नआउने रहेछ । किनकि राज दाइका दिनहरू हिजो पनि मोज मस्तीमै बिते र आज पनि सुखसयलमै । तर वीरबहादुर काका भने उबेला पनि सुख साचिने र आफ्ना खुसीका दिनहरू आउने आसामा आफ्ना दुःखलाई निमोठ्दै निरन्तर परिश्रममा लागिरहन्थे। आखिर के पाए उनले ? पहिले पुत्र बियोगको चपेटा अनि अहिले पनि डाक्टर बन्न भारत गएकी छोरीको कुनै अत्तोपत्तो थिएन। जो आज मोजमस्तीमा छन् यहाँ भोलि पनि तिनीहरू नै खुसी रहेछ्न् र जो गरिब दुखी छन् तिनको लाख मिहिनेतले पनि यो चेप्टो पृथ्वी घुमाउने सामर्थ्य नजुट्ने रहेछ । आफ्ना लागि सुखका पाना पल्टाउन नसक्ने रहेछन् उनीहरू । पृथ्वी मैले देखेजस्तै समतल नै रहेछ । जो जहाँ छ त्यहीँ नै रहिरहने, घुम्ने त परै जाओस् अलिकति वरपर पनि नसर्ने।
लेखकको सम्वन्धमा