January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

अनलाइन कक्षाको आवश्यकता, चुनौती र सम्भावित उपायहरू

दिलिप प्याथ

विश्वमा प्रविधिको विकास  अत्यन्त द्रुत गतिमा  भइरहेको छ। तर नेपालमा प्रविधिको अवस्था  निकै  पछाडि छ। विकसित राष्ट्रहरूले विविध रूपमा प्रविधिको प्रयोग गरी हरेक  काम छिटो छरितो गर्न सक्दा पनि नेपालमा भने  सामान्य कक्षा सञ्चालनका लागि पनि आधुनिक प्रविधिको प्रयोग  मुस्किल  देखिन्छ। हामीलाई थाहा छ, शिक्षामा प्रविधि हुनु अत्यन्त आवश्यक छ। आधुनिक प्रविधिको प्रयोगबाट गरिएको शिक्षण परम्परागत शिक्षणभन्दा कैयौँ गुणा बढी उत्कृष्ट हुन्छ। तर नेपाल  विकासशील मुलुकका रूपमा रहेको र  प्रविधिमा निकै पछाडि परेका कारणले त्यस्तो लाभबाट बञ्चित देखिन्छ। आज संसारका अधिकांश मुलुकहरू कोभिड-१९  बाट  ग्रसित छन् । यस्तो समयमा नियमित कक्षा सञ्चालन गर्नु पूर्ण रूपमा सम्भव हुँदैन। यस्तो अवस्थामा विकल्पका रूपमा अघि सारिएको अनलाइन कक्षा जहाँ  आधुनिक प्रविधिको भरपुर प्रयोग  गरिन्छ,  नेपालजस्ता गरिब मुलुकमा अति नै आवश्यक तर चुनौतीपूर्ण छ ।

किन आवश्यक छ त अनलाइन शिक्षा ?

गत नोभेम्बर २०१९ मा  चीनको वुहान  सहरबाट सङ्क्रमण सुरु भएको कोभिड-१९  नामक  महामारीबाट अधिकांश मुलुकहरू ग्रसित भएका छन्। यस महामारीबाट नेपाल पनि ग्रसित भइरहेको छ।आजको दिन सम्म (८ जुन २०२०) आउँदा १८८ भन्दा बदी मुलुकहरुमा सङ्क्रमण फैलिसकेको छ । यस महामारीबाट नेपाल पनि ग्रसित भईरहेको छ। हालसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या ३  हजार ४ सय ४८  पुगेको छ भने उपचार भइ निकोसक्नेको सङ्ख्या ४६७ पुगिसकेको छ । त्यस्तैगरी यस बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या १३ जना  पुगेको छ।    वर्तमान अवस्थामा यो सङ्क्रमण नियन्त्रण हुने सम्भावना देखिएको छैन । विदेशबाट नेपालीहरू फर्कने क्रम जारी छ । सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । औद्योगिक, शैक्षिक, पर्यटन, व्यापार-व्यवसाय, बैंकिंग,  कृषि र अन्य आर्थिक गतिविधिहरू पूर्ण अथवा आंशिक रूपमा प्रभावित भइसकेका छन्। शिक्षा क्षेत्र पूर्ण रूपमा ठप्प  भएको छ। दुई महिनाभन्दा बढी सम्पूर्ण शैक्षिक संस्थाहरू बन्दाबन्दी रहँदा देशभरका लाखौंलाख विद्यार्थीहरू आफ्नो पढ्न पाउने अधिकारबाट बञ्चित भएका छन् । आर्थिक विकासका विभिन्न पुर्वाधारहरु मध्ये महत्वपूर्ण मानिने शिक्षा क्षेत्र पनि पूर्णरूपमा ठप्प  भएको छ। यसलाई अझ प्रस्ट रुपमा भन्नुपर्दा ५५ लाख ८३ हजार सार्बजनिक बिद्यालयहरुमा र २५ लाख ४४ हजार संस्थागत बिद्यालयहरु मा पढ्ने सम्पूर्ण बिद्यार्थीहरु दैनिक पठन पाठन बाट बन्चित भयका छन् ।

बन्दाबन्दीले घरबाहिर निस्कने अवस्था छैन । बालबालिकालाई कतिन्जेल घरमै थुनेर राख्ने ? सबै अभिभावक र परिवेश शिक्षित नहुन सक्छन् । पाठ्य सामग्री उपलब्ध नहुन सक्छ । विद्यालयमा पढ्ने, खेल्ने र रमाउने बालबालिकालाई घरमै थुनेर राख्दा नकारात्मक मानसिक असर पर्नसक्छ । कोरोना त्रस बढ्न सक्छ । एउटा शैक्षक शत्र ग्याप हुन सक्छ । मुलुकले ठुलो क्षति बेहोर्नुपर्ने हुन सक्छ । त्यसैले वैकल्पिक शिक्षाको खोजी गर्नु जरुरी छ । विद्यालयहरूमा नियमित पठनपाठन सूचारु गर्न नसक्ने अवस्थासम्स अनलाइन कक्षाहरू सञ्चालन गर्ने एउटा विकल्प देखिन्छ ।  यस अवस्थामा कतिपय संस्थागत विद्यालयहरूले सार्वजनिक रूपमै सूचना जारी गरी अभिभावकहरूलाई सम्पर्क गर्न र  वैकल्पिक विधिबाट  सञ्चालन गरिने कक्षाहरूमा  बालबालिकालाई आवश्यक व्यवस्था मिलाइदिन अनुरोध पनि गरेको पाइन्छ। कतिपय संस्थागत विद्यालयहरूले त अनलाइन कक्षा सञ्चालन नै गरिसकेका छन् । राजधानी र प्रमुख सहरका केही सामुदायिक विद्यालय पनि अनलाइन कक्षाहरू सञ्चालनमा जुटेका छन् । यो सराहनीय कुरा हो । तर यो कार्य चुनौतीपूर्ण छ ।

अनलाइन शिक्षा सञ्चालनमा देखिने चुनौतीहरू के हुन् त ?

सुन्दा सामान्य र निकै राम्रो लागे पनि अनलाइन शिक्षा सञ्चालनमा धेरै चुनौतीहरू देखिन्छन् । यहाँ तिनकै लेखाजोखा गरिन्छ ।

गतसाता मात्र एउटा समाचार हामी सबैले पढेकै हुनुपर्छ । भारतको कुनै स्कुलमा पढ्ने एक  बालिकाले स्कुलले सुरू गरेको अनलाइन कक्षामा बस्न आफ्ना अभिभावकले आवश्यक सामग्री किनिनदिएको रिसमा आत्महत्या गरिछन् । हाम्रा अभिभावकहरू यस कुराबाट  केही मात्रामा भए पनि त्रसित हुनु स्वभाविकै हो । अनलाइन कक्षाका नाममा अभिभावकलाई थप आर्थिक भार पर्नसक्छ । धेरैजसो अभिभावकले त यो पूरा गर्न नसक्न अवस्था पनि छ ।

नेपालको शिक्षामा प्रविधि जसरी  प्रयोग  हुनुपर्ने हो त्यसअनुरूप हुन सकेको छैन। धेरैजसो विद्यालयहरूमा कम्प्युटर तथा इन्टरनेटको अभाव छ । विद्यार्थीमा पनि यो अभाव देखिन्छ ।

एकातर्फ सामूदायिक विद्यालयहरूमा अनलाइन कक्षाको कुनै तयारी छैन भने अर्कातर्फ संस्थागत विद्यालयहरूमा वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्दा निश्चित रूपमा नेपालको शिक्षाक्षेत्रमा  विभेद पैदा  हुन्छ।

सरकारी विद्यालयहरूमा प्रविधिको पहुँच निकै कम छ, साथसाथै भौतिक पूर्वाधारहरू पनि आवश्यकतानुसार विकास गर्न सकेको देखिँदैन। त्यस अवस्थामा सरकारी विद्यालयहरूमा प्रविधिमा निहित कक्षा सञ्चालन गर्न असम्भवप्रायः छ, भने संस्थागत विद्यालयहरूमा पनि यो समस्या उत्तिकै छ। केही शैक्षिक संस्थाहरूको अवस्थाबाहेक अधिकांश संस्थागत विद्यालयहरू जुन  उपत्यकाभित्र  अथवा उपत्यकाबाहिर सञ्चालनमा रहेका छन्, तिनमा पनि आवश्यक प्रविधिक  पूर्वाधारहरू खासै व्यवस्था गरिएको देखिँदैन । तिनीहरूले कसरी अनलाइन कक्षा सञ्चालन गर्लान् ?

अधिकांश अभिभावकहरू निम्न र मध्यमवर्गीय परिवारका छन्। यस परिस्थितिमा प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गर्दा आइपर्ने प्राविधिकका साथै आर्थिक समस्याहरू जताततै बाधाका रूपमा रहन सक्छन्।

उपत्यकाबाहिर एवं देशका विभिन्न जिल्ला, सहर र ग्रामीण भागमा सञ्चालित संस्थागत तथा सामूदायिक विद्यालयहरू आफैँ पनि त्यति सम्पन्न छैनन्,  प्राविधिक रूपमा सबल छैनन् तिनले  के-कस्तो वैकल्पिक विधि प्रयोग गर्लान्  ? र कुन तरिकाबाट अनलाइन कक्षाहरू सञ्चालन  गर्लान्, यो आफैमा चुनौतीपूर्ण सबाल हो ।

केही संस्थागत विद्यालयहरूले शिशु कक्षादेखि नै अनलाइन कक्षाहरू सञ्चालन गर्दै आएको र केहीले गर्ने तयारी गरिरहेको देखिन्छ। जुन धेरै हदमा अव्यवहारिक हुन्छ ।

अधिकांश विद्यालयहरूमा आबद्ध शिक्षकहरू प्राविधिक ज्ञानमा खासै निपुर्ण  देखिँदैनन्। विषयवस्तुको ज्ञानले मात्र के गर्नु ? प्रविधिमा असक्षम शिक्षकले अनलाइन कक्षा कसरी सञ्चालन गर्लान् ?

नेपालमा अनलाइन कक्षा सञ्चालन सम्बन्धी यी र यस्ता अरू धेरै चनौती छन् । यस्तो अवस्थामा के गर्ने त ? कसरी समस्या समाधान गर्ने ?

सम्भावित उपायहरू 

बन्दाबन्दीको यस अवस्थामा आफ्ना विद्यार्थीहरूलाई बिनाथप आर्थिक भार निस्वार्थ भई पठनपाठनमा सहभागी गराउनु पक्कै पनि केही सामुदायिक विद्यालयहरू र धेरै सहर केन्द्रित संस्थागत विद्यालयहरूको सो कार्यलाई  सराहनीय मान्नुपर्छ। यसका लागि  अनलाइन कक्षा सञ्चालन कार्यलाई थप सहज बनाउन निम्न उपायहरू अपनाउन सकिन्छ।

१.  सबै अभिभावकहरूको मोबाइल नम्बर तथा फेसबुकसहित इन्टरनेटको व्यवस्था भए नभएको तथ्याङ्क सङ्कलन गर्ने।

२. हरेक परिवारमा रहेका बालबालिकाको सङ्ख्या र उनीहरूको कक्षा, तह आदिको तथ्याङ्क  सङ्कलन गर्ने।

३. हरेक विद्यालयहरू एवं हरेक विषय शिक्षकहरूले प्रशस्त पाठ्यसामग्रीहरू सङ्कलन गर्ने र आफ्नो पहलमा नयाँ पाठ्य  सामग्री तयार गर्ने र हरेक विद्यार्थीहरूको फेसबुकमा पठाइदिने।

४. साप्ताहिक अथवा दैनिक रूपमा  विषयवस्तुकेन्द्रित प्रश्नहरू तयार पारी हरेक तहका विद्यार्थीहरूलाई पठाउने।

५. नेपाल टेलिकमको voice pack लिएर सम्पूर्ण अभिभावकहरूलाई  समयतालिका मिलाएर  सम्पर्क गर्ने, पाठ्यसामग्री सम्बन्धी परामर्श गर्ने र घरपरिवारमा विद्यार्थीहरूलाई पढ्ने वातावरण मिलाइदिन अनुरोध गर्ने।

६. अधिकांश अभिभावकहरू  निरक्षर भएको अवस्था एवं इन्टरनेटको सुविधा नभएको अवस्थामा online कक्षाको  औचित्य हुँदैन। यस्तो परिस्थितिमा अभिभावकहरूलाई सम्पर्क गरी  घरमै नानी बाबुहरूलाई सम्बन्धित कक्षाका  पुस्तकहरू सङ्कलन गरी पठनपाठनको व्यवस्था गर्न अनुरोध गर्ने।

७. त्यसैगरी सो व्यवस्था पनि हुन नसकेको अवस्थामा नानीबाबुहरूलाई घरमै व्यवहारिक ज्ञान एवं अन्य सम्भावित सिपहरू  सिकाउन अनुरोध गर्ने।

८. अभिभावकहरूलाई उपयुक्त पाठ्य सामग्रीहरू पाउनका लागि विभिन्न स्रोतहरूको जानकारी दिई सङ्कलन गर्न सुझाव दिने र विद्यार्थीहरूलाई पढ्न दिनका लागि अनुरोध गर्ने।

निष्कर्ष

आजको विषम परिवेशमा बलबालिकालाई निरन्तर शिक्षा दिन अनलाइन प्रविधि जरुरी देखिन्छ तर यसमा मनग्गे चुनौती देखिन्छन् । ती चुनौती समाधान गर्दै अनलाइन कक्षा सञ्चालन गर्नु उपयुक्त हुन्छ । चुनौती समाधानका उल्लिखितबाहेक स्थान र परिवेशअनुसार अन्य केही विकल्पहरू भए तिनलाई पनि यथोचित समावेश गरी अनलाइन कक्षा वा अन्य उपयुक्त प्रकृतिले विद्यार्थीलाई शिक्षा दिन सकिन्छ ।

८ वर्षभन्दा कम उमेरका साना-साना नानीबाबुहरूलाई पठनपाठन गर्दा  खेल विधि, आफै गरेर सिक्ने विधि, कुनै चिज हेरेर सिक्ने विधि आदिबाट पढ्न र सिक्न प्रेरित गर्नु उपयुक्त हुन्छ । यनीहरूलाई नीरस तरिकाबाट अनलाइन कक्षा लाद्न खोज्यो भने पठनपाठन प्रक्रिया र शिक्षाप्रति नै वितृष्णा पैदा  हुनसक्छ। जसले नानीहरूमा नकारात्मक असर पर्नसक्छ । यस यथार्थलाई सम्पूर्ण सम्बन्धित पक्षहरूबाट संवेदनशील भएर सोच्नु जरुरी देखिन्छ।

kumarpyatha42@hotmail.com