घोप्टेघ्याङ्गमा घुइरो !
सपनामा सेर्माथाङ्ग पुगिएछ। रिम्पोन्छे, देवकोटा र सांस्कृत्यायनको आशीर्वाद परेको माटो। म नामुद यात्रीहरूसँग रै’छु। एकताका गोसाइँकुण्ड यात्रामा रतनलाल विश्वा जस्ता यात्रीहरूसँग भेट भएको थियो। नेपालका हिमाली क्षेत्रमा २५ पटकभन्दा बढी पुगिसकेको। तिनलाई एक पटक फेरि सपनामा देखिएछ। यात्रीसँगै सपनामै यात्रा गरेसि कुनै विपनीमा यात्रा नजुर्ला भन्ने त छँदैछैन।
बिहान चिया खाइवरी म तल ट्राउट फार्मतिर ओर्लिएँ। गाउँमा छँदा तलमाथि गरिरहनु मेरो दिनचर्या नै हुन्छ। हजुरामाले दिएको दुध खाइसकेपछि म काकाहरूका भुरा माछा हालेको फार्ममा पुग्छु। गफैगफमा ‘घोप्टेघ्याङ्ग जान्छस् तँ?’ भनी सोध्नुहुन्छ काका मलाई। ‘घोप्टे’ झुन्डेको नामले मलाई धेरै पहिलेदेखि तानेको हो। विशेषतः ऊबेला दसैँमा बली दिँदा घोप्टे खुकुरीले मार हान्ने गरेको प्रसङ्ग सुन्थेँ। घोप्टे खुकुरी हत्तपत्त चलाउन जानिँदैन भन्ने पनि सुनिन्थ्यो। मनमा कौतूहलता थियो कस्तो हुन्छ होला यो घोप्टेखुकुरी? धेरैपछि घोप्टेखुकुरीको दर्शन पाएँ। हेर्दा सलक्क परेको हुँदा पैलो देखाइमा नै मन तान्यो। त्यसैगरी गोसाइँकुण्ड यात्रामा पर्ने घ्याङ्गफेदीबाट देखिने सुन्दर दृश्यले मन तानेको कहिल्यै भुल्दिनँ, यद्यपि कताकता घ्याङ्गफेदीको एउटा दृश्यले मन सिरिङ्ग बनाउँछ। घ्याङ्गफेदीको पल्लो भिरलाई घोप्टेभिर भन्छन्।
१९९२ जुलाई ३१ मा घोप्टेभिर भन्ने ठाउँमा थाई विमान दुर्घटना भएको थियो, जसमा सबैभन्दा बढी थाई नागरिक र त्यसपछि नेपाली थिए। त्यस विमान दुर्घटनामा १४ देशका ११३ जना मानिसहरूको मृत्यु भएको थियो, जसमा जहाजका मात्रै १४ जना सदस्य थिए। तत्कालीन समयमा प्लेनलाई कलकत्ताको आकाशतिर उड्न सल्लाह दिए पनि पाइलटले उत्तरतिर प्लेन डोर्याउँदा ठुलो मूल्य चुकाउनुपरेको बताइन्छ। ट्राफिक कन्ट्रोलर र पाइलटमा भाषा संवादले समस्या निम्ताएको हो पनि भनिन्छ। त्यसै दिन चीनको नान्जिङमा पनि विमान दुर्घटना भएको रहेछ। अझै पनि त्यस घोप्टेभिरमा विमानका टुक्राहरू भेट्न सकिन्छ।
अर्को यस्तै प्रसङ्गचाहिँ कहिलेकहिँ भैसीले कुँडेको खोले घोप्ट्याउँदा बाले रिसाउँदै, ‘हाँडी घोप्टेले कुँडे घोप्ट्याओ..’ भनेको नि सुनेकै हो। धेरै कुराहरू विस्मृतिमा पुगिसके । तै नि केही नाम–शब्द मनमा डेरा मात्रै जमाएर होइन घर नै जमाएर बस्दारहेछन्। अनि त्यस्ता शब्द सुनेपछि मनको भाव नै छुट्टै हुनेरहेछ। घोप्टेघ्याङ्गको यात्रा गर्ने भन्ने सुनेपछि अब मन नाच्न थाल्यो, मन फुरुङ्ग भयो। अनि घरतिर लुगा लगाउन दौडिहालेँ। त्यसपछि म लुगा, जुत्ता लगाइवरी तयार भएँ। काकासँगै चनौटे निस्किएँ।
साहिँला काका चनौटे बजारमा हामीलाई कुरी बस्नुभएको रहेछ। छोटो समयमा हिँडेर धेरै ठाउँ पुग्न कठिन हुने देखेपछि साहिँला काका, काका र म उहाँकै गाडीमा घोप्टेघ्याङ्गसम्मको यात्रा गर्न तयार भयौँ। घडीले झन्डै सवा नौको समय हामीलाई पस्किदिसकेको थियो। मनमनै एउटा नयाँ यात्रा गर्नपाउने भएँ भनेर उमङ्गित थिएँ।
गगनचुम्बी सहर, सहरमा बनेका मानव संरचनामा घुम्न मेरा लागि उति रूचिको विषय होइन। उभिएका महलहरूमा म कुनै जीवन भेट्दिनँ, नितान्त व्यक्तिगत कुरो। हुन त हुर्काई बढाई नै सहरमा भएपछि तिनले पनि मनमा खासै ऊर्जा दिन्न रहेछन्। नत्र म साइबेरियन चरो बन्दै फुत्त किन गाउँ आइपुग्थेँ र? सहरमा मान्छेले बनाएको संरचना हुन्छ, सुविधा हुन्छ तर यी सबै कुराले मनलाई सन्तोष, सन्तुष्टि अनि आनन्द दिन्छ भन्ने नै चाहिँ हुन्न। फेरि यी सबै कुरा सापेक्ष पनि त छन्। हुन त सुन्दर नभनिएका चिज पनि निरपेक्ष कति गज्जप देखिँदा हुन्। खैर, यात्रा मनमा उर्लेका भावहरूबिच सुरु भयो।
साहिँला काका बजारमा अल्मलिएकाले गुनासो गर्दै हुनुहुन्थ्यो। गाडीबाटै होटेलकी साहुनीलाई ६ वटा समोसा हाल्न भन्नुभयो। समोसा खासै खान्नथेँ। एकताका नेममा एम्बीबीएसको इन्ट्रान्स तयारी गर्दा त्यहाँका क्यान्टिन चलाउने दाइसँग थोरै विवाद पनि भयो। समोसा किनेको भित्रको तरकारी गनायो। अनि मैले समोसा गनाएको छ भनेँ। अरू साथीहरू ट्वाँ परेर मलाई हेरे। ती दाइ रिसाउँदै, ‘नेममा क्यान्टिन चलाएको १४/१५ वर्ष भैसक्यो ऐलेसम्म कसैले कम्प्लेन गरेको छैन, तिम्लाई कसरी गनायो?’ भने। ‘दाइ सुँघ्नुस् न त’ भनेँ। थोरै आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त बुझ्ने भैसकेको थिएँ। अनि लाग्यो मेरो नाकले सुँघेको दुर्गन्ध अरू कसैको नाकले सुगन्ध पाउन सक्दैन भन्ने कहिँ छ र? भन्ने कुरा त्यतिबेला नै सोचेँ।
त्यो त थियो त्यतिबेलाको संवाद। म कति ठाउँमा सही हुन्छु, तर त्यो जितको लागि थिएन। बुझ्नुपर्नेले नबुझेपछि केही लाग्यो र?
यहाँ गाउँमा बनेको समोसा मजस्तै च्याँसे थियो, तर स्वादिलो थियो। तरकारी पनि गनाएको थिएन। खाँदै उकालो चढियो।
गोहोरे खोलो तरेपछि थापाटार पुगियो। भुइँचालोपछि बस्ती सुन्दर देखियो तर जति हुनुपर्थ्यो त्यति होइन। त्यो बालापनमा मैले धुरी भएका घरहरू एकनासको देख्थेँ। जतिबेला म सुन्दरताको गहिराइ बुझ्न सक्दिनथेँ, त्यो बेला पनि यस्तो राम्रो भनेर सोच्न सुरु गरिसकेको रहेछु।
हुन त कतै पढेजस्तै, ‘पाप धुरीबाट कराउँछ भनेर होला, मान्छेहरूले धुरी भएको घर नै बनाउन छाडे’, न यस्तै पो हो कि? न होइन कि? प्रश्नका आफ्नै तर्क र उत्तर होलान्। तैपनि गाउँका घरले जुन मौलिकतालाई अँगाल्नुपर्थ्यो त्योचाहिँ चट्क्क भुल्न नै खोजेको हो कि भन्ने पर्यो एकमनमा?
परिवर्तनको नाममा हामी अग्रज पुर्खाले सिकाएका विधिहरू चट्क्कै छाडी नयाँ संरचना बनाउन त सक्छौं तर हामी त्यो ‘हामी’ नरहन सक्छौं। अब बन्ने घरहरू गाउँमुखी बनून्, मौलिक बनून्, यो माटोलाई सुहाउने बनून् भन्ने कुरो काकालाई छ्यास्स बताएँ।
हुन पनि पहिलेका घरमा राखिने खट्प्वाल पनि भेटिन्न। खट्प्वाल हराएसँगै हराए केही चराहरू।
सोच्दासोच्दै उकालोमा चढिन् इचोकतिर पढाउने मिस्। काका, साहिँला काका अनि ती मिसको संवाद सुनिरहेँ। बोल्न सिपालु रहिछिन् भन्ने लख काटेँ।
बाटाभरि गफिँदै गयौँ। पहाडमाथिबाट देखिएका बेँसीका सुन्दर तोरीफाँट, आलुखेतहरूको सुन्दर दृश्यलाई मस्तिष्कको क्यामेराले मात्रै खिच्न बाध्य भएँ। सबै तस्बिर लिएर साध्य पनि छैन अनि मैले देखेको सुन्दरता कुनै दोस्रो मान्छेलाई सुन्दर लाग्छ भन्ने कहीँ पनि त छैन।
नदी मात्रै नागबेली देख्थेँ, अहिले त गाउँ गाउँ, बस्ती बस्ती सड्क पुगेछन्, टाढाबाट हेर्दा ती नागबेली त देखिन्थे नै, सुन्दर पनि उस्तै। तर जताततै जे मनलाग्दी त्यै बाटो खनेको देख्दाचाहिँ दिक्क लाग्यो।
अब सडक मात्रै विकास होइन, स्तरीय अनि बस्ती छोएको सडकचाहिँ वास्तविक विकास हो भन्ने बुझ्नुपर्ने बेला भयो। चेतनाले पनि सडकको गति लिनुपर्छ नि, कि कसो?
बिस्तारै पहाडहरूले फेर्दै गएको रूपले मलाई एक मन रमाइलो पनि गराउँथ्यो अनि एक मन प्रश्न पनि तेर्स्याउँथे। पहाडहरू नि मान्छेको जीवनजस्तै भ्रम त होइनन् भन्ने एउटा दह्रो प्रश्नले मस्तिष्कमा हिर्कायो। हुन पनि मैले घरबाट देखेको पहाड अब पहाड रहेन। ‘ऊ एक्लो उभिएको होला’ लाग्थ्यो, उसलाई मैले देखेको पहाड बनाउन अरू धेरै पहाडहरूले आफूले सकेको सघाएका रहेछन्। घुम्ती र मोडहरूले मैले देखेका हरदृश्यलाई परिवर्तन गर्दै लगिरहे। हामी निरीह बढिरह्यौँ या घटिरह्यौँ? काकाहरूका मनमा पनि यस्तै प्रश्नहरू तेर्सिए होलान् है? वा फाँट हेरेर दङ्ग पर्नुभयो कि? अनि हामीले इचोकमै पुगेर खाजा खायौँ। फर्किंदा दाउराको भारी ल्याइदिनुपर्छ है भने साहिँला काकालाई त्यहीँका दाइले। काकाले ‘हुन्छ’ भन्नुभयो।
साहिँला काका साह्रै मिजासिला मान्छे। प्रायः काकासँगै काठमाडौँ यात्रा मैले उहाँको गाडीमा धेरैचोटि ओहोरदोहोर गर्ने मौका पाएँ। रिस कस्तो हुन्छ भन्नेचाहिँ देख्या छुइनँ। जहाँ गए नि बोल्नुपर्ने, बोलाउनुपर्ने स्वाभवले पनि होला उहाँसँग हिँड्दा मनमा एकखाले ऊर्जा आएको अनुभूति हुन्छ। बाटाभारि गफिँदै हिँड्न पाइन्छ्। केही अलिक असजिला हुन्छन्, कतै ओर्लन परे पनि आफैँलाई ‘भन्न नपरे हुन्थ्यो’ हुन्छ। ‘मान्छेको जिन्दगी केही छैन, बाँचुन्जेल दु:ख नि गर्नुपर्छ, रमाइलो नि गर्नुपर्छ’ भन्नुहुन्छ। आफैँ गाडी किनेर गाडी चलाउन जान्नुभएको उहाँ यस पटक गाडी किस्ताबाट उतार्ने लक्ष्यका साथ अघि बढ्नुभएको रहेछ। मनमनै शुभकामना पनि दिएँ। सबै अघि बढून्, सबैको जिन्दगी सुन्दर बनोस्।
उक्लिँदै गर्दा आउँछ जिन्दगीले २ दशकदेखि चियाएको इचोकको डाँडा। टाढाबाट बुट्यानले विशेष देखिन्छ। ती रूखहरूले मलाई सधैँ तानेका छन्। मैले धेरै पहाडहरूलाई फेदीबाट हेरेको छु तर सबै पहाडले त्यसरी नै तानेका छैनन्। मनमा धोकोचाहिँ थियो कुनैदिन कसो नपुगुँला भनेर। यसरी बाटाभारि मैले त्यो बुट्यानमा पुगिएला कि नाई भनेर काकाहरूलाई जिज्ञासा राखिरहेँ। नभन्दै हामी नजिक नजिक पुग्यौँ। ४/५ वटा सल्लाका अग्ला रूखहरू ट्याक्कै डाँडामा रहेछन्, जसरी याङ्री डाँडामा आमा याङ्री बसेर हेलम्बु उपत्याकालाई नियालिरहिछन्, ठिक त्यसैगरी उभिएका थिए ती रूखहरू। त्यस डाँडालाई चिहान डाँडा भनिँदो रहेछ। तामाङ जातिको चिहान डाँडामा हुन्छ। ठ्याक्कै डाँडामा नै चिहान रहेछ। अनि मैले इच्छाएको ठाउँ त्यै चिहान डाँडा रहेछ।
कसैलाई धाम प्यारो होला तर मनले चिताएको चिहान नै भए पनि त्यो ठाउँले मन जित्यो। कुनै अर्को समय फेरि आउनेछु भन्ने वाचासहित हामी हाम्रो लक्ष्य घोप्टेघ्याङ्गतिर हुइँकियौँ।
गाडी बिस्तारै हुइँकिरह्यो। हामी विभिन्न बस्तीहरूलाई वारिपारि हेर्दै, टेक्दै गइरह्यौँ। कुटुमसाङ्गलाई टाढैबाट हेरेँ। गोसाइँकुण्ड जाँदा चिसापानी र चनौटेबाट यात्रा गर्नेहरूको ट्रान्जिट बस्ती पर्छ। कुटुमसाङ्ग ठ्याक्कै भन्ज्याङमा देखिन्थ्यो। दृश्यहरू अति सुन्दर थिए, झपक्क बसेका बस्ती उस्तै सुन्दर, सल्ला बसाएको बासमा उस्तै!
घोप्टेघ्याङ्ग पुगेर अहिले बनेको ‘ग्रेट्वाल’ भन्ने गरिएको पदमार्गमा पुगियो। मिस वर्ल्ड पनि पुगेकी रहिछन्। नयाँ बनेका सिँढीहरू चढेर हामी अलिक माथि पुग्यौं। समुन्द्री सतहबाट २४०१ मि. को उचाइमा रहेको घोप्टेघ्याङ्ग सुन्दर रहेछ। चिसो लेकाली हावा अनि आकाशसँग खेलिरहेका सेता सेता बादलहरू उडिरहेको दृश्य गज्जप देखिन्थ्यो। बादलहरू देख्दा मन तरङ्गित थियो। बादलमा बसेर उड्न पाए? बादलमा बसेर उड्न सकिने भए हवाइजहाज चाहिन्न थियो होला हगि? बादलहरूसँगै तौरिएर मात्रै पनि उड्न पाए, ती समस्त हिमाल र पहाडलाई धित मरुन्जेल हेर्न पाइन्थ्यो होला, आहा! ‘कल्पनाको संसार धेरै नै रमाइलो छ’ भन्ने गीत जस्तै होला बादलसँगै उड्ने कुरो!
ग्रेट्वालको कन्सेप्ट मलाई बढै चित्त खाएन। ग्रेट्वालभन्दा भएका पदमार्गलाई स्तरोन्नति गरे गज्जप हुन्थ्यो भन्ने कुरो हाम्रो थियो। थाडेपाटी त्यहाँबाट झन्डै १ दिनको पैदलमा छ जसले गर्दा यो सपनाले मूर्त रूप लिन ठुलो खर्च गर्नुपर्ने देखिन्छ।
नयाँ पदमार्गलाई हाम्रै मौलिक शैलीका माटो र ढुङ्गाको प्रयोग गरी सिँढी बनाए राम्रो हुने कुरो काकाहरूको पनि थियो। केही तस्बिरहरू लियौँ। मैले चिसो पानी र हावाको आनन्द बटुलेँ। यही आनन्द यी लेकाली ठाउँमा आएर लिने मौका सधैं कहाँ मिल्ला!
काकाले बिच बाटोमै बुधुने दाइलाई लोकल कुखुरो र ढिँडो बनाउन भन्नुभाथ्यो।
अब हामी तल ओर्लियौँ। सबै कुरालाई त्यहीँ छाड्दै हामी झरिरह्यौँ। हामीसँग मात्रै सम्झना थिए। कति अचम्म छ है? मान्छेले जीवनभर के कमाउँछ? धन? दौलत? सम्पत्ति? कति?? तर मान्छेको सम्पत्ति यस्तै अनुभूति र सम्झनाहरू रहेछन्। तितामिठा कुराहरू स्मृतिमा रहनु नै जीवन बाँचिरहने एउटा आधार बन्दोरहेछ। विस्मृतिमा पुगेको मान्छे त फ्रेममा झुन्डिएको तस्बिर बन्दोरहेछ। मैले सफा र चिटिक्क तामाङ बस्तीहरू देखेँ। ढुङ्गाले छापेका आँगनहरू कति सुन्दर हगि? तल बुधुने दाइको घरमा कुखुरो र ढिँडो खायौँ। काकाहरूले थोरै कोदाको झोल चाख्नुभयो। ‘घ्याम्पो सकिने तरिकाले खानु नराम्रो, थोरै खानु औषधी’ भनेँ मैले। हुन त कोदाको झोल खत्तम भनेर विदेशी ब्रान्ड बिकाउन लागिपरेका हूल मैले नपढेको होइन। मैले पनि थोरै कोदाको झोल र बोलु चाखेँ। गज्जप थिए ती! कुखुराको मासु र मकैको ढिँडो उत्कृष्ट थियो। अनि त्याँबाट बिदा भईवरी हामी नक्कली बाजेको घरमा गयौँ। जङ्गलमा लोड गरिएका सल्लाका दाउराहरू झारिए। ‘यी डाक्टर बाबु देखेर खाऊँ भन्न मन लाग्यो’ भनेँ। काकाले मेरो परिचय गराएपछि उनी मलाई ‘डाक्टर बाबु’ भनेर संवोधन गर्न थाले । अनि हामी उनको घरमा गयौं। उनको बुद्धप्रेम मलाई अनुसरणीय लाग्यो। हत्या, हिंसाबाट टाढा। केही पापको प्रायश्चित गरेको बताए। पैले हिन्दू-बौद्ध दुबै मान्ने गरेको तर ऐले हत्या, हिंसा त्यागेकोले आफू पूर्ण बौद्ध भएको त्यसैले ल्होछार मान्ने गरेको बताए। उनी बडा हँसिला अनि गज्जपका वक्ता हुन् भन्ने कुरामा शङ्का नै रहेन। अनि बुढी आमै पनि तामाङ बोल्दै ‘डाक्टर बाबु’ भन्दै आइन्। फोटो खिच्दिएँ। अनि हामी फर्कियौँ।
पुरानो गाउँ झरियो। ‘सिन्धुपाल्चोकमा गोरुले नि दुध दिन्छ’ भन्ने प्रसङ्गले राष्ट्रिय स्तरका मिडियामा ठाउँ पायो। अनि गइयो हेर्न दुध दिने गोरु। गोरुका ससाना थुन देखिए। त्यहाँबाट आउँदोरहेछ दुध।
नेपालका युट्युबेहरूलाई प्रस्ट देख्न सक्थेँ म। उचालिएर पछारिने जात भन्छु म। ‘के के न भयो भनेर आउँछन् अनि बेतालले हराउँछन् बाबु’ भन्दै थिए त्यहाँका दाइहरू।
छेवैबाट एउटा पुरानो गोरेटो पनि गएको रहेछ। पहिले पहिलेका चल्तिका मान्छे हिँड्ने गोरेटाहरू पनि यसरी लुप्त जस्तै हुन्छन् भन्ने कसले सोचेको थियो र? जीवन यस्तै छैन र? ‘सांसरिक नियम परिवर्तनशील छ’ भन्ने बुझ्न शास्त्र पढ्नै पर्दैन। अनि हामी ४ बजे आफ्नै माटोमा आइपुग्छौँ।
यात्रा विशेष रहेको निष्कर्षसहित म हातमा मोबाइल, मनका शब्द र मुखमा चियाको चुस्की लिँदै अनुभूति कुँद्न बस्छु। निरन्तर बिसिरहन्छु, मनका भावलाई लिपिबद्ध नगरुन्जेल ।
लेखकको सम्वन्धमा