December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

नेपाली भाषा

आँचल अधिकारी
कक्षा : १०
लिभरपूल माध्यमिक विद्यालय

हरेक मानिसमा राष्ट्रिय भावना हुन्छ । आफू जन्मेको मातृभूमि र देशप्रति सबैलाई गौरव लाग्छ ।  नेपालमा जन्मिएर हुर्केकाले म नेपाली हुँ र मलाई नेपाली भएर जिउन पाउँदा गर्व महसुस हुन्छ । त्यसमा पनि मलाई नेपाली भाषा औधी मनपर्छ । बच्चामा आवाज निस्किँनासाथ मैले नेपाली भाषाबाट बोल्न प्रारम्भ गरेँ । त्यसैले पनि होला मलाई नेपाली भाषा विशेष पहिचान लाग्ने गर्छ । सर्वप्रथम त आफ्नी आमाजस्तो लाग्ने मेरो देशको राष्ट्रिय भाषा नेपाली बोल्दा मलाई आफ्नोपनको आभास हुन्छ । अरू कैयौं मान्छेलाई पनि यसै हुनेगर्छ होला जसले आफ्नो देशलाई मन, मस्तिष्कमा सजाएर राख्नुभएको छ।

मलाई नेपाली भाषामा छापिएका लेख, रचना पढ्न पाउँदा त झन् आनन्दित भएको महसुस हुन्छ । मलाई नेपाली भाषाका नयाँ नयाँ शब्दहरू खोतल्न मन लाग्छ । मेरा बुबाआमा अनि म वरिपरि रहेको समाजमा पनि नेपाली भाषा नै बोल्ने गरिन्छ । म बामेसरेदेखि नेपाली भाषासँगै सामाजिकीकरण हुँदैं आएँ । मेरा बाबा, आमा, हजुरबुबा, हजुरआमा पनि शिक्षित हुनुहुन्छ र म एउटा शिक्षित समाजमा बस्नेगर्छु जहाँ नेपाली भाषाको इज्जत गरिन्छ र मुख्य भाषाकै रूपमा बोलिन्छ ।

भाषा सञ्चारको माध्यम हो । भाषामार्फत सूचना, ज्ञान आदानप्रदान गरिन्छ। मानवीय जीवनमा केही काम गर्न तथा अन्तर्क्रिया गर्नका लागि सहज र सजिलो होस् भनेर मानवीय अवयवबाट उच्चारित हुने ध्वनि नै भाषा हो भन्ने मलाई लाग्दछ । नेपालमा धेरै भाषा बोलिन्छन् । तीमध्ये धेरै मानिसले बोल्ने भाषा नेपाली हो । यो भारोपेली परिवारको संस्कृत, प्राकृत र अपभ्रंश हुँदै विकसित भएको भाषा हो । त्यसैगरी नेपाली भाषाको प्रयोग क्षेत्र पनि अन्य भाषाको भन्दा फराकिलो छ । यो भाषा नेपालको सञ्चारको भाषा, शिक्षणको भाषा, जन सम्पर्कको भाषाका रूपमा रहनुका साथै साहित्य रचनाका दृष्टिले पनि अन्य भाषाभन्दा सम्पन्न पाइन्छ । मलाई मेरा मातृभाषा, मातृभूमि र आमाको उस्तै माया लाग्दछ । त्यसैले सबै मानिसले यो भाषाको इज्जत गरिदिँदा आनन्द महसुस हुन्छ ।

म यहाँ मलाई मन नपर्ने केही कुरा उल्लेख गर्न चाहन्छु । जब बालकको बोली फुट्छ तब उसलाई आमा, बाबाको ठाउँमा मम, ड्याड् भन्न सिकाइन्छ । क, ख, ग, घ पढाउनु अगावै A, B, C, D पढाइन्छ । आँखा, नाक, मुख भन्नुको सट्टा eyes, nose, mouth भनेर चिनाउने गरिन्छ । यसैगरी धेरै जसो निजी विद्यालयहरूका विद्यार्थीलाई सबैभन्दा गाह्रो विषय नै नेपाली हुने गरेको छ । अङ्ग्रेजीमा ९९ अङ्क ल्याउनेले नेपालीमा ४० र ५० ल्याउनेसमेत गर्दछन् । यो त नेपाली भाषालाई गरेको हेला हैन र ? हाम्रो  समाजमा नेपाली भाषा लिएर पढ्नेलाई छुट्टै दृष्टिकोणले हेरिन्छ । कतिपय नेपाली समाजमा मैले यो पनि देखेको छु कि शुद्ध नेपाली बोल्नेलाई निम्न शिक्षा हाँसिल गरेको र अङ्ग्रेजी मिसाएर बोल्नेलाई उच्च शिक्षा हाँसिल गरेको र सभ्य भन्ने गरिन्छ । नेपाली चलचित्र, नेपाली लेख, नेपाली गीत आदि मनपराउनेलाई गाउँले र अन्य भाषा विषेश गरी अङ्ग्रेजी मन पराउनेलाई सहरीयासमेत भनेको पनि धेरै सुनेको छु मैले । नेपालीमा भनेको नबुझेर ‘अङ्ग्रेजीमा अनुवाद गर्नुस् न’ भनेर धेरै बालबालिकाले आफ्नो अभिभावकलाई अनुरोध गरेको पनि मेरै कानले सुनेको छु ।

समग्रमा, वर्तमान विश्वव्यापीकरण र सूचना सञ्चार प्रविधिको युगमा भाषा छनोट खुला छ । अध्ययन अध्यापनमा अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा बनिसकेको छ । सबै भाषाको आ-आफ्नो ठाउँ र सन्दर्भअनुसार महत्त्व होला तथापि  देशभित्र आफ्नो मातृभाषाप्रति ममता र गौरव लाग्नु अस्वभाविक होइन । यो त हाम्रो पहिचान नै हो भन्दा फरक नपर्ला । संसारका विकसित देशहरूले समेत आफ्नो मौलिक भाषा संरक्षण र प्रवर्धन गरेसँगै नेपाली भाषाप्रति हामीले पनि गर्व गर्नुपर्दछ । यो हाम्रो पहिचान मात्र होइन धर्तीको माटोसँग जोडिएको भाषा हो । हामीले नेपाल आमाको इज्जत र नेपाली भाषाको संरक्षण गर्नुपर्दछ ।