नयाँ अध्याय लेख्नु छ
वरिपरिको सल्लासँगै
सुसाउँदै उच्छवास् निकालिन् राराले
‘माताश्री’ मेरो बाटोको ‘हार’
यसपालि पनि पहिरन नपाउने नै भएँ त !
पचहत्तरै दिदीबहिनीलाई ‘बाटो’को हार दिने
निर्णय गर्या’थे रे कहिँ कतै
कि म पचहत्तर दिदीबहिनीभित्र
पर्नै पो सक्दिन कि ?
घोप्टो परेको अनुहार उठाउँदै,
गहभरि आँसु भरिएका रक्तिम चक्षुसहित,
माताले आफ्ना पीडा सबै
एकै सासमा ओकल्नुभयो ।
नानी, तिमीलाई महाभारतको कथा त सुनाएकै थिएँ
त्यहाँ चीर हरण भएथ्’यो देवरहरूवाट,
तर,
अहिले त मेरो अङ्ग हरण गर्न मेरै छोरा,
लालायित् छन्, उद्यत छन्
‘बटोहार’ पहिले नै पाएकाहरू बलिया भए रे !
तिमीजस्तो पाउँछु कि भनी सोध्दैनन्,
खोसेर, रोकेर, मारेर, काटेर, फाँडेर, जसरी सकिन्छ,
अर्काको भाग खोस्नु नियती नै बनेको छ।
जन्मने वित्तिकै,
ठुलेलाई पहिले देब्रे स्तन चुसाएँ रे,
त्यसैले मेरो देब्रे स्तन उसको भाग रे !
माहिलालाई पहिले दाहिने स्तनपान गराएँ रे,
त्यसैले उसको भागमा दाहिने स्तन रे !
लिटो खुवाउँदा,
हातमा मात्र नलागी, नाडीसम्म पनि लत्पतिएको थियो रे,
त्यसैले अर्काको अधिकार नाडीसम्म पनि पुग्यो रे !
अहिले त दाहिने खुट्टाको बुढी औँला काटेर,
देब्रेमा नटाँसे, देब्रे खुट्टै छुट्याउने रे,
उछिट्याउने रे !
उता,
गान्धारीको विवाह गराएकै भरमा,
‘रोटी बेटी’ को दुहाइ दिँदै,
शकुनी पासा फ्याँकिरहेछ, लगातार
खुच्चिङ भनी काखी बजाउँदैछ,
मेरा छोराहरूको बुद्धि भ्रष्ट भएको देखेर
‘बाँड र राज गर’को राजनीति त,
उसको रगतमै आयातीत जो छ,
कसैलाई थर्काउने कसैलाई चटाउने,
कसैलाई फुल्याउने, कसैलाई फकाउने,
कसै गरे पनि एक हुन नदिने ।
धर्मको पासो फ्याँकेर,
फुटकै राजनीतिको
पृष्ठपोषक भएका छन्,
अर्काथरी धमिराहरू।
‘महामानव’ को सन्तती भन्दै,
खसीको टाउको देखाई,
कुकुरको मासु बेच्नै,
एकथरी आफ्नो पुरुषार्थ देख्छ
अर्को थरी,
‘गरिबको चमेली कोइ छैन कोइ छैन’ भन्दै,
सारङ्गी रेट्दै हिँड्थ्यो,
धेरै भयो सारङ्गी फ्याँकेको,
धेरै भयो ती शव्द सुन्न छोडेको,
अब ती सारङ्गी चिन्ने, शव्द खोज्ने
सत्तामा पुगेपछि सबै बिराना भए ।
राम राज्य ल्याउने भनेर,
वनबास हिँडेकाको
खराउ माग्दै छ एक थरी।
मैले दश धारा दुध खुवाएर,
हुर्काएकालाई,
दुधले पुगेन अरे र
हिजोआज रगत नै चुस्न थालेका छन्।
यस्तो छ नानी, मेरो खबर,
म तिमीलाई कसरी कसलाई ‘बाटोहार’ दिन गुहारूँ, छोरी !
भैगो’ माताश्री ‘बाटोहार’ लाई कुरुँला,
वश्त्रहरण वा अङ्गहरण गर्ने हातलाई,
लडाइँको अन्त्यमा हैन,
सुरुमै उखेलौँला,
वश्त्र वा अङ्गहरण कसै गरे हुन नदिउँला,
भए पनि, आमाको होइन,
दु:शासनको नै गरौँला
त्यसपछि,
पासा फ्याँक्ने शकुनी लाज र सरमले,
आफैँ आत्महत्या गर्नेछ।
रक्तपिपासु भ्रष्टाचारीलई,
माखेसाङ्लामा गुजुल्ट्याएर,
टुँडिखेलमा प्रदर्शनी राखौँला।
मलाई थाहा छ माता,यो कसैले कहीँबाट हुँदैन,
गर्नु छ हामी आफैँले,
र अब, त्यसैले,
नयाँ महाभारतको श्रृजना गर्नु छ,
नयाँ अध्याय लेख्नु छ।
गोविन्द काफ्ले ‘शाण्डिल्य’
माघ २२, २०७२
लेखकको सम्वन्धमा