यही हो नयाँ नेपाल ?
सिक्किम काण्ड : जसरी सिक्किमका राजालाई प्रलोभनमा फसाएर अनि सिक्किमी जनतालाई झुक्याएर भारतले सिक्किमलाई एकै सासमा निल्यो त्यसरी नै नेपाललाई निल्ने भारतको षड्यन्त्र त होइन ?
सुन काण्ड : तेत्तिस किलो सुन काण्डबारे त कसलाई अवगत नहोला र ? घरी सुन घरी चाँदी भनिने त्यो काण्ड किन निर्क्योल हुन सक्दैन ? मानिसहरुले सुन र चाँदी पनि चिन्न छाडे कि क्या हो ? राजनैतिक संरक्षण प्रस्ट देखिन्छ यहाँनेर ।
मदन भण्डारी काण्ड : स्वर्गीय मदन भण्डारीकै धर्मपत्नी राष्ट्रपति भइन् । उनै पार्टीका धेरै नेताहरू पनि सत्तामा गए तर खोई त अपराधी पत्ता लगाएको ?
राजा वीरेन्द्र काण्ड : राजा वीरेन्द्रको वंश नास गर्ने षडयन्त्र कसले रच्यो ? एउटा राजा आफ्नै दरबारमा सुरक्षित छैनन् भने यो देशमा सुरक्षा नीतिको आशा कसरी गर्ने ?
निर्मला पन्त एवम् नवराज वि.क. काण्ड : यस काण्डमा पनि राजनैतिक संरक्षणको आशङ्का गर्न सकिने ठाउँ धेरै छन् नत्र खोई अपराधीले सजाय कहिले पाउने ?
यत्ति मात्र होइन, भ्रष्टाचारले देशमा सीमा नाघिसकेको छ । धेरै राजनेताहरू पनि भ्रष्टाचारको दलदलमा फसिसकेका छन् । राणाशासन, पञ्चायत, राजतन्त्र फ्यालेर प्रजातन्त्र, लोकतत्र, गणतन्त्र ल्यायौँ भन्छन् यिनीहरू आखिर यो सब केका लागि भन्दा त लुटतन्त्रको विकासका लागि पो रहेछ । आफू सुख सयल र ऐस आराममा भुलेर जनतालाई अन्धकारै अन्धकारमा धकेलेर आफ्नो व्यक्तिगत स्वार्थलाई परिपूर्ति गर्नका लागि मात्र सत्तामा पुगेका रहेछन् भन्ने कुरा छर्लङ्गै भएको छ । कार्यकर्तालाई झुक्याएर झुटमाथि झुटको बीजारोपण गरिरहेका छन् ।
राष्ट्रवादको नाममा झुट र भ्रमको खेती भएको कुरा त बल्ल पो बुझिँदै छ । भारतीय मिडियाले ‘चाइना युजेज् नेपाल’ किन भन्यो भनेर गाली गर्ने कठैकरा हामी सोझा नेपाली ! भारतले जे भन्यो त्यही ‘हओस् हजुर’ भनेर मान्ने नेपाली राजनीतिज्ञहरू एकाएक भारतका विरुद्धमा कसरी जान सके भन्ने कुरामा सशङ्कित भएर पो चीनको इसारामा नाचेको भन्ने सोचेका रहेछन् । दलालहरूको के विश्वास भयो र ? फेरि छ सात महिनाअघि पनि कालपानी, लिपुलेक र लिम्पियाधुराजस्ता नेपाली भूमि फिर्ताका लागि जनसागर नउर्लिएको भने पक्कै होइन । यो त सबैले देखेकै कुरा भयो । त्यस बेला सरकार साह्रै मौन थियो । अहिले छ सात महिनापछिचाहिँ आफूलाई सत्तालोभीको ट्याग लाग्ने डरले उग्र राष्ट्रवादको देखावटी चाल चालेको हो कि ? चीनको इसारामा यसो गर्न वाद्य भएको हो ? यो त द्विधा नै छ । कारण भारतको एकाएक विरुद्धमा जानसक्नु, अरू नेताले ‘योचाहिँ गरेकै हो’ भन्नु अनि भारतकै मिलेमतोमा नक्सा पास गर्न पछि हट्नुलगायत अन्य थुप्रै कारणहरू । यदि यो उग्र राष्ट्रवाद साँच्चि नै मनबाटै आएको थियो भने खै कता गयो ? कता हरायो त्यो उग्र राष्ट्रवाद ? केवल बोक्रे राष्ट्रवादीहरूको बोक्रे राष्ट्रवादको कर्तुत रहेछ भन्ने कुरा त छर्लङ्ङ भइसकेको छ ।
कमसे कम राजा हुँदा त एउटै राजाको परिवारले खाएका थिए देशको सम्पत्ति । अहिले राजा फ्यालेर त असङ्ख्य मात्रामा राजाहरू निस्कनथाले । यति धेरै राजाहरूलाई देशको सम्पत्ति बाड्दै गर्दा देशको विकास र समृद्धि भन्ने कुरा त निर्दोष जनतालाई ‘आकाशको फल आँखा तरी मर्’ भनेजस्तै भएको छ, होइन र ? देशद्रोही भ्रष्टाचारीहरूलाई यो कुरा जायज नै होला तर सच्चा देशभक्त, निस्वार्थी र सोझा जनतालाई त देशको यस्तो दुर्दशा कसरी पाच्य हुन सक्छ र ?
केही भन्यो भने ‘बढी भयो, कसले चलायो यसलाई’ भन्ने आरोप लाग्ने हो कि भन्ने डर तर नभनौँ भने यो मनले मान्दै मान्दैन । सधैँ पराई मुलुककै विस्तारवाद, साम्राज्यवादलगायत विभिन्न वादको हित चिताउने र पराई शक्तिकै स्तुति गर्ने भ्रष्ट नेतालाई देशको सत्तामा राखेर पनि कसरी फड्को मार्न सकिन्छ र ? प्रश्न गम्भीर छ । मैले त समग्रमा के मात्र ध्यानाकर्षण गर्न खोजेको हो भने नेपालमा अरू कुनै वाद चाहिँदैन, मात्र नेपालवाद भए पुग्छ । मात्र सच्चा नेपालवाद जसले नेपाललाई समुन्नतितिर मात्र धकेलोस् । यसका लागि पहिले भ्रष्ट नेताहरूलाई सत्ताच्युत गर्नुपर्छ, देशका निम्ति केही गर्न चाहेका र आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने यथेष्ट प्रमाण देखाइसकेका कैयौँ ऊर्वर व्यक्तिहरूलाई छानी छानी सत्तामा पुर्याउनुपर्छ । पाँच छ वर्षको सीमावधिभित्र देशका निम्ति काम गर्ने अवसर दिएर फेरि आफ्नो पूर्व काममा नै फर्काउनुपर्छ । अनि बल्ल सीमित समय देशका निम्ति केही गर्नुपर्छ भन्ने भावना आउँछ र धेरैले पालो पनि पाउँछन् । केवल राम्राले मात्र पालो पाउँछन् । अहिलेका जस्ता भ्रष्ट र दुष्ट दलाललाई ‘भोट अफ नो कन्फिडेन्स्’ राख्न पाउने प्रावधान हुनुपर्छ । नेपालीले भारतलगायत अन्य देशको गुलामी गर्न छाड्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । अरूसँग भर पर्न छाडेपछि बाह्य हस्तक्षेप र आन्तरिक द्वन्द्व ह्वात्तै घट्न जान्छ । फलतः देशले फड्को मार्न सक्छ । खुट्किलो पार गर्न सक्छ ।
दोस्रो विश्वयुद्धपश्चात जापानको हिरोसिमा र नागासाकीजस्ता सहर नराम्ररी ध्वस्त भएका थिए । त्यहाँका देशभक्त नागरिक एवं राजनीतिज्ञहरूको समन्वय तथा मेलमिलापमा सभ्य र विकसित मुलुक बन्न सफल भएको छ जापान । उदेक लाग्दो कुरा त के छ भने हामीले नेल्सन मण्डेलाजस्तो राजनेता पाउन सकेका छैनौँ जसले सत्ताका लागि होइन बरु देश र जनताका लागि सत्ताइस वर्षसम्मको कष्टकर जेलजीवन व्यतित गरे अनि दोस्रो पटक राष्ट्रपतिका लागि उमेद्वारी दिन त्यत्रो अफ्रिकी जनताले आग्रह गर्दासमेत ‘देशको सेवा गर्न पद नै चाहिन्छ भन्ने होइन, पदबाहिर बसेर पनि देशको सेवा गर्न सकिन्छ । काम गर्ने अवसर अरूलाई पनि दिनुपर्छ । मेरो अन्तिम साससम्म पनि यस देशका निम्ति योगदान जारी रहने छ ।’ भन्ने जस्ता मर्मस्पर्शी एवं देशभक्ति महान् विचार दिएर उमेद्वारी दिन अस्वीकार गरे । सबैको मनमनमा बस्न सफल भएका छन् उनी । सम्पूर्णलाई राजनीतिका विषयमा अनि सच्चा देशभक्ति एवं मानव कल्याणका विषयमा एउटा राम्रो पाठ सिकाएका छन् । एक महान् उदाहरणीय एवं अनुशरणीय व्यक्ति बन्न सफल भएका छन् ।
बिडम्वनाको कुरा अन्तिम साससम्म पनि सत्ता छोड्नुहुन्न भन्ने सिद्धान्त नेपालका नेता भनाउँदाहरूमा रहेको छ । आफ्ना निहित स्वार्थलाई परित्याग गरेर देश र जनताको हित नै सबैको सर्वोपरी हित वा स्वार्थ हो भन्ने भावनाले अभिप्रेरित, कर्तव्यनिष्ठ, योग्य र दक्ष शासकले मात्र नयाँ नेपालको सुन्दर चित्र उतार्न सक्छन् । चाँडै त्यो दिन देख्न पाइयोस् ।
लेखकको सम्वन्धमा