February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

सामाजिक सञ्जालमा दलित चिन्तन

सोमनाथ दाहाल

पछिल्ला समयमा देशमा तीनवटा विषय निकै चर्चामा रहेका छन् । पहिलो :– कोभिड–१९, दोस्रो :– राष्ट्रियता/अतिक्रमित नेपाली भूमी/एम्.सी.सी. प्रकरण र तेस्रो :– रुकुम पश्चिमका नवराज विक काण्ड (२०७७/०२/१० को घटना)। यी भिन्न तीन विषय सन्दर्भले भिन्न तीन सामाजिक चिन्तन र व्यवहारलाई प्रतिविम्बित गर्दछन् । पहिलोले लुकेर भए पनि आफू र आफ्नो परिवारलाई बचाऊ भन्दछ । दोस्रोमा पक्ष र विपक्ष दुई कित्ता छन् । कित्ता भिन्न भए पनि थोरबहुत रूपमा दुवै कित्तामा राष्ट्रिय हित र राष्ट्रिय चिन्तन पाउन सकिन्छ, अनि पाउन सकिन्छ राष्ट्रिय एकताको खोजी । तेस्रो उक्त दुईभन्दा पृथक विषय छ । यसले विभेदलाई प्रतिनिधित्व गरेको छ । सदियौँदेखि प्रचलित सामाजिक विभेद आज पनि जस्ताको तस्तै ठिङ्ग्रिङ्ङ उभिएको छ भन्ने तथ्यको गतिलो प्रमाण बनेर तेस्रो विषय सन्दर्भ उपस्थित भएको छ ।

समयमा चर्चा र बहस हुनु स्वभाविकै हो । समयसँगै यी विषयहरू कुनै न कुनै रूपमा सेलाएर जान्छन् वा ओझेल पर्छन् । उठान भएका विषयको व्यवहारिक र युक्तिसङ्गत बैठान होला न होला, त्यो बेग्लै कुरा हो । तर, यी विषयलाई चटक्क छाडेर समय अघि बढ्छ नै । समयले उठाएका उपर्युक्त विषयसँगै व्यक्ति र समाजमनोविज्ञानका साथै व्यवहारमा पनि परिवर्तन आए भोलिका दिनमा यस्ता जटिल समस्यामा हामीले फस्नु पर्ने थिएन । भलै चर्चा मात्र भए पनि भयो । समयमा चर्चा पाउने यस्ता विषयसँग सम्बन्धित विचार र अभिव्यक्तिबाट व्यक्ति, समाज र सिङ्गो देशको अवस्था र मनोदशा बुझ्न सकिन्छ । यही उद्देश्यमा यो लेख केन्द्रित रहेको छ ।

नवराज काण्डलाई लिएर सामाजिक सञ्जालमा जातीय चिन्तन (दलित चिन्तन) अभिव्यक्त भएको छ । यस्ता चिन्तनबाट व्यक्ति र समाजको साँचो मनको प्रतिनिधित्व हुन्छ भन्ने मान्यतामा आधारित भई यो लेख तयार पार्ने प्रयत्न गरिएको छ । घटनासम्बन्धी सत्य, तथ्य र यथार्थ यस लेखमा समेट्ने कुनै प्रयत्न गरिएको छैन । त्यो सम्बन्धित निकायकै कार्य हो । ढिलो चाँढो सत्य, तथ्यको छानविन होला नै । यहाँ त मात्र सामाजिक सञ्जालमा अभिव्यक्त उद्गारहरू र तिनले नेपाली समाजको कस्तो चित्र प्रतिबिम्बित गर्छ भन्ने लेखाजोखा गर्ने प्रयत्न गरिएको छ । यस क्रममा सर्वप्रथम सामाजिक सञ्जालमा भेटिएका केही उद्गारहरू प्रस्तुत गरी तिनको विश्लेषण गर्दै नेपाली समाजको प्रतिबिम्ब केलाइएको छ ।

पाइएका केही उद्गारहरू :

१. नेत्र एटम त्रिभुवन विश्वविद्यालयमा सह–प्राध्यापक हुनुहुन्छ । उहाँले फेसबुकमा व्यक्त गरेको विचार यसप्रकार छ :

अहिले हामी प्रजातन्त्र, गणतन्त्र र समाजवादका उपरी संरचनामा बोलिरहेका छौं, आधार संरचनाचाहिँ पीडाको दलदलमा झन्झन् भासिँदै छ । जातीय उच्चताको अहङ्कारले गर्दा हाम्रो समाजिक चेतना मध्ययुगबाट खासै अगाडि बढेको छैन । दलित समुदायले अहिले भोग्नुपरेको अपमान, पीडा र ज्यादती जातीय भेदभाव मात्र होइन, मानवताका विरुद्धको जघन्य अपराध पनि हो । नवराज विकको घटना त्यसको चरम जङ्गली अभिव्यक्ति हो । म यस घटनाले लज्जित छु, असभ्यताको भारी जाँतोले आफ्नै छातीको एक पक्ष थिचिएको अनुभूत भएको छ । यसमा दुई वर्गका प्रतिक्रिया आइरहेका छन् ।

जोरी खोज्नेलाई ठिक भयो भनेर ताली पिट्ने, मौन बसेर बर्बर घटना–प्रवृत्तिलाई अनदेखा गर्ने, किन्तु–परन्तु राखेर घटनाको आलोचना गरेजस्तो गर्ने वा दलितले सत्तामा सानो भाग पाउलान् कि भन्ने ईर्ष्याले कुण्ठित कथित चिन्तक–साहित्यकार–ठेकेदारहरूको पश्चगामी सामन्ती वर्ग । यो वर्ग ठुलो सङ्ख्यामा छ र प्रत्यक्ष वा लुकेर परिवर्तनलाई सत्तासँग मिलेर प्रहार गरिरहेको छ तर नैतिक र मानवीय रूपमा यो वर्ग अति कमजोर छ ।

दोस्रो वर्गमा समाजलाई स्वतन्त्र, न्यायपूर्ण र समानताको व्यावहारिक फूलबारीका रूपमा चिनाउन–हुर्काउन–बढाउन चाहने अनि इतिहासमा पुर्खाबाट भएगरेका गल्तीहरूको भागसान्ती जिम्मा लिने र आवश्यक क्षतिपूर्ति गराउँदै मानवीय चेतनाको पक्ष लिने सम्पूर्ण अग्रगामी गैरदलित र दलितहरूको प्रगतिशील वर्ग छ ।

हामी हाम्रो वर्ग स्पष्ट गरौं र चेतनशील छौं भने दोस्रो वर्गमा लागेर विभेदको अन्त्य गरी समाजलाई रूपान्तरणको दिशामा हिंडाउन पहिलो वर्ग र त्यसलाई संरक्षण गर्ने राज्यसत्ताको विरुद्धमा विद्रोही अभियान सुरु गरौं ।

२. अशोक थापा त्रिभुवन विश्वविद्यालयमा उप–प्राध्यापक हुनुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

छुवाछुत जीवित रहजुन्जेल, मानवीयता मरिरहन्छ…। उहिल्यैदेखि ठुलो साम्राज्य जमाएर छुवाछुतको भावना हाम्रै मनमा बसिरहेको छ । लोकलाजले वा दलितमैत्री देखिन फाट्टफुट्ट नक्कली भावना सम्प्रेषण गरिए पनि खासमा हामी कट्टर जातिवादी संस्कारमा हुर्केका उचोजात हुन चाहने ढोँगी हौँ । “म ज्यान गए पनि मेरी छोरीको गोडा धोएर दलित केटालाई सुम्पन सक्दिन” भने तुरुन्त मैले छुवाछुतको विषयमा बोल्ने नैतिक धरातल पनि गुमाइसकेको हुन्छु र नवराज वि.क.हरूलाई हार्दिक श्रद्धाञ्जली भन्ने हैसियत पनि ।

३. हरिप्रसाद सिलवाल त्रिभुवन विश्वविद्यालयमा उप–प्राध्यापकका साथै रत्न राज्यलक्ष्मी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुनुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

प्रेम, धर्म व्यक्तिको स्वतन्त्र चयनमा भर पर्छ । कुनै जातमा जन्मेको भरमा त्यो व्यक्ति ठुलो वा सानो हुन्न र विभेद गर्न पाइन्न । कर्म र विचारले मानिसको मूल्य निर्धारण गर्छ । कुनै व्यक्ति र समूहका घटनालाई जाति, धर्म, राजनीति, पार्टी, सम्प्रदायका आधारमा विभाजन गर्नु हुन्न ।

४. दीपकिरण खड्का चाइनामा एम्.बी.बी.एस्. पढ्दै हुनुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

आजसम्म यत्ति बुझेँ, चाहे शङ्ख फुकुन् वा सहनाई, दुबै मान्छेले फुकेर बजाए तर समाजले विभाजनको एउटा रेखा कोरिदिएको छ । शङ्ख फुक्ने ठूलो हुन्छ, सहनाई फुक्ने सानो । कुकुर र बिरालाले जत्ति पनि इज्जत नपाएका मान्छे बस्ने समाजको म तर यति हुँदाहुँदै पनि मेरा घरमाचाहिँ हर जातिका मान्छे, मान्छे हुन्छन् । समाजले भिराइदिएका तक्माहरू मेरा घरमा रहँदैनन् । न मेरा परिवारले कैले तल्लो जात भने, न हामी भन्छौं । बोलीमा मात्रै होइन हामी व्यवहारमा पनि प्रस्ट छौँ । मेरो भान्साको चुल्होमा हर जातिले पकाएको खान पाक्छ । समाजले स्थापित गरेका सबै सत्य हामीलाई मान्य नहुन पनि सक्छ, नाजायज सत्य वकालत गरिएन । मान्छेले मान्छे भएर बाँच्न पाउँदैन वा समाजमा बस्ने अर्को मान्छे उसलाई मान्छे मान्दैन भने त्यो नमान्ने मान्छे होइन ।

५. पेशल अधिकारी स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

‘मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ।’  यो महान् वाणी सबैका मुखमा भने रह्यो बानीमा भने अझै रहेन ।

६. माधवप्रसाद भट्टराई मनोहर माध्यमिक विद्यालय, काठमाडौँमा प्रधानाध्यापक हुनुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

माया कुनै जात, धर्म, वर्ण, वर्ग, जाति, क्षेत्रको सीमित दायरामा बस्तैन, बस्नु पनि हुँदैन ।

७. प्रेम धिमिरे झापाका विभिन्न शैक्षिक संस्थामा शिक्षण गर्नुका साथै टेलिभिजनमा ज्योतिष कार्यक्रम सञ्चालन गर्नुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

दलित शब्द कतै प्रयोग नगरे नयाँ पुस्ताले विभेद हुनुपर्ने थिएन । दलित छात्रावृति, दलित कोटा, दलित आयोग आदि आदि । यस्तो विभेदकारी चलनलाई प्रश्रय दिने काम स्वयं सरकारले गरिरहेको छ । मेरो एक छिमेकी नानीले स्कुलमा छात्रवृत्ति नपाउँदा हामी दलित हुनलाई के गर्नुपर्छ भन्दै प्रश्न गर्दै थिइन् । ती अबोध बालिकालाई बाध्य भएर दलितको बारेमा भन्नुपर्‍यो । यदि त्यो शब्द प्रयोग नगरेको थियो भने ती बालिकालाई दलित भन्ने थाहा हुन्न थियो । दलितको बारेमा सबै स्कुल, पालिका, निकायमा खुब पढाइन्छ र त्यसैमा राजनीति पनि ।

८. प्रभात किरण नेपालमा एम्.एस्.सी. उत्तीर्ण गरी हाल डेनमार्कमा बसोबास गर्नुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

जातीय विभेद दण्डनीय हो भनेर कानुनमा लेखेर मात्र अन्त्य हुँदैन ।

९. कृष्ण वाग्ले नेपालबाट अङ्ग्रेजी विषयमा एम्.ए. गरी क्यानडामा बसोबास गर्नुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

जातीय विभेद, छुवाछुतजस्ता अन्धविश्वासलाई जरैदेखि उखेलेर फालौं । जातको आधारमा छुवाछुत भेदभाव गरे सरकारी जागिरका लागि अनुपयुक्त र भविष्यमा सरकारी सेवा–सुविधाका लागि अयोग्य ठहरिने गरी कानुनको निर्माण गरौं । बहालवाला कर्मचारीबाट त्यसो भए स्वतः बर्खास्त हुने व्यवस्था गरौं।

१०. जयन्ती सत्याल स्पन्दन साहित्यकारका साथै राष्ट्रिय परीक्षाबोर्डको बागमती प्रदेश कार्यालयमा कार्यालय प्रमुख हुनुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

मान माथि मान थपी पगरी गुथ्ने बेला
जातीय विभेदले प्रेम थलिएको बेला
कोरोना र छिमेकीको अङ्कुश पनि उस्तै
जीवन बाँच्न जित्नु पर्ने युद्धको यो बेला ।

११. विजय चालिसे साहित्यकार तथा गोरखापत्रका पूर्व प्रधान सम्पादक हुनुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

छुवाछुत मानवीय कलङ्क हो । यसको उन्मूलनका लागि आवेश र उद्वेगभन्दा चेतना, शिक्षा र सांस्कृतिक नीतिमा उचित परिवर्तन तथा ऐनकानुनहरूको पूर्ण कार्यान्वयन पहिलो सर्त हो ।

१२. प्रभा पोखरेल साहित्यकार हुनुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

पौरख पनि बिक्छ तिम्रो, श्रम पनि चल्छ
तिम्रै सिप मन्दिरमा दियो बनी जल्छ ।
तिम्ले ठेला उठाई उठाई बनाएको ओदान
ठुलो जातको अगेनीमा अहिले पनि बल्छ ।
पसिना त चल्छ तिम्रो कहिले चल्ने पानी ?
नचल्ने त सम्बन्ध हो चल्छ त्यै जवानी ।

१३. रेनुका सोलु त्रिभुवन विश्वविद्यालयमा उपप्रशासकका रूपमा कार्यरत हुनुहुन्छ साथै उहाँ साहित्यकारका रूपमा समेत स्थापित हुनुहुन्छ । उहाँका फेसबुकमा पाइएको विचार यस्तो छ :

…यदि केटा दलित थिएनन् भने यो घटना हुने थिएन । नौमती बाजा बजाएर विवाह हुन्थ्यो । कानुनको कुरा कहाँ लागु भएको छ, कानुन कागजमा छ, कारोवार समाजमा छ, कागजी कानुनभन्दा बलियो छ सामाजिक कानुन, व्यवहारिक पक्षले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

विश्लेषण

१. नमुनामा परेका सम्पूर्ण अभिव्यक्तिहरू गैरदलितका हुन् । यसो हुनु संयोग मात्र होइन, यथार्थ पनि हो । नेपालमा दलित अल्पसङ्ख्यक छन्, तुलनात्मक रूपमा अशिक्षित र पिछडिएका छन् । अल्पसङ्ख्यकमध्ये पनि अन्यन्त न्यून मात्र सामाजिक सञ्जालमा आबद्ध छन् । तीमध्ये धेरैजसो अरूका फोटा हेर्ने र आफ्ना फोटा अपलोड गर्ने मात्र गर्दछन् । कुनै स्टाटस लेख्ने गर्दैनन् । मसँग सामाजिक सञ्जालमा आबद्ध भएका दलित साथीहरूले यस विषयमा कुनै स्टाटस नराखेकाले पनि दलित साथीहरूका स्टाटस यहाँ समावेश गर्न सकिएन ।

२. धेरैजसो स्टाटस जातीय विभेदका कुरामा मात्र सीमित नभई सम्बन्धित अन्य कुरातर्फ लम्केकाले तिनलाई काँटछाँट गरी प्रस्तुत लेखमा नमुनाका रूपमा समेटिएका छन् ।

३. स्टाटस लेख्ने सम्पूर्णले थोरबहुत रूपमा जातीय विभेदको विरोध गरी समानताको अपेक्षा गरेका छन् ।

४. नेपाली समाजमा जातीय विभेद टड्कारो रूपमा देखिएको छ । 

५. समाजमा जातीय विभेद देखिने विभिन्न कारण छन् । तीमध्ये पहिलो अशिक्षा, अचेतना, पुरातनवादी समाज र पुरानै संस्कार हो । दोस्रो मनको भय हो । व्यक्ति शिक्षित, सचेत भए पनि लोकसमाजले जातीय विभेदको विरोध गरे पनि अनि संस्कार परिवर्तनको सङ्घारमा उभिए पनि मनको भयका कारण मानिस बाहिरी रूपमा जातीय विभेदको विरोध त गर्छ तर हृदयले विरोध गर्न सक्दैन । तेस्रो कानुनको कडाइ नहुनु । कानुनको कार्यान्वयन गराउने ठुलो जमात नै जातीय विभेदको पक्षधर भएकाले कानुनलाई कडाइका साथ लागु गर्न सकिएको छैन । चौथो दलितका नाममा भएको राजनीति हो । दलित आरक्षण, दलित कोटा आदिले पनि दलित र गैरदलितको भेद विद्यमान राखिरहेको देखिन्छ ।

६. जातीय विभेद गैरकानुनी, दण्डनीय, अमानवीय, अन्धविश्वासी, पश्चगामी चिन्तन हो  ।

७. पश्चगामी विचार राख्ने जातीय विभेदका पक्षधरहरूको सङ्ख्या समाजमा ठुलो तर नैतिक र मानवीय रूपमा अति कसजोर छ ।

८. जातीय विभेदका आधारमा विभिन्न प्रकारका शोषणहरू विद्यमान् छन् ।

९. दलितका नाममा राजनीति गरिन्छ ।

१०. जन्म वा जातका आधारमा होइन कर्म र विचारका आधारमा व्यक्तिको व्यक्तित्वको मूल्याङ्कन गर्नुपर्छ ।

११. जातीय विभेदको आधार परम्पराबाट गर्दै आएको पेसा देखिएको छ । सोही व्यक्ति र पेसाद्वारा उत्पादित सामग्री हाम्रा समाजमा चल्छ तर जात चल्दैन । यो उपुक्त होइन ।   

निष्कर्ष

सूचना प्रविधि यत्तिको विकशित भएको र आम सर्वसाधारणका पहुँचमा पुगेको अवस्थामा समेत जातीय आधारमा हुने हिंसाका घटनाहरू प्रशस्त मात्रामा देखिनु दुःखको कुरा हो । समाजमा गैरदलित शिक्षितहरूको ठुलो जमात जातीय विभेदको विपक्षमा उभिएको छ । यो जातीय विभेद अन्त्यका लागि सकारात्मक सङ्केत हो । यस अवस्थामा दलित भनिएकाहरूले दलितकै नाममा आश्रय खोजिरहनेभन्दा कर्म, विचार, क्षमता, संस्कार, बौद्धिकता, योग्यता आदिले आफूलाई निखार्दै गैरदलित वा समाजका अन्य सम्पूर्ण सदस्यसँग सकारात्मक प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्छ । जातीय विभेदका विपक्षमा उभिनेहरूले दलितहरूलाई निरीह ठानी दया देखाउनुभन्दा उनीहरूको प्रतिभा, पौरख, सिप, क्षमताआदिको कदर गरी अझ अघि बढ्न हौस्याउनु जरुरी छ । सम्पूर्ण दलित र अग्रगामी गैरदलितहरू एकतामा आबद्ध भएर समाजलाई शिक्षा, चेतना, जागरण आदिका माध्यमबाट बारम्बार घच्घच्याइरहने हो भने निश्चय नै केही समयपश्चात् जातीय विभेदरहीत समाजमा स्वतन्त्रताको सास फेर्नसकिन्छ ।