साहब ए सुब्बा
‘वहाँ साहब ए सुब्बा’ एउटा व्यक्ति जो पहिले पनि हाम्रो डेरामा आइसकेको थियो र मेरी श्रीमतीकै कार्यालयमा काम गर्दथ्यो, ले अरू सम्मुख मेरो परिचय दियो यसरी । लगभग सबै जिल्ल परे । कसैले यस्तो पद पनि सुनेका थिएनछन्, र यसरी कोही हालसम्म चिनाइएका पनि थिएनन् होला । भूतो न भविष्यति । मसमेत एक पटक त अकमक्क परेँ । ‘के रे के हो यो साहब ए सुब्बा भनेको ?’ एउटाले जिज्ञासा धेरै बेर गुम्स्याउन उचित ठानेन क्यारे ! सबैले पालैपालो उसको र मेरो मुख हेरे । म पनि उसको भनाइ बुझ्न नसकेर चुप्पै लागेर बसेँ ।
‘सर्वत ए अनार भनेको सुन्या’ छ ?’ उसले उल्टै सोध्यो ।
‘अनारको सर्वत भनेको हो क्यार उर्दूमा’ एक अर्धसन्दिग्ध उत्तर आयो ।
‘त्यस्तै रामजी सुब्बाको साहब’
सबै गललल्ल हाँसे, उन्मुक्तसँग, मेरी श्रीमतीको पनि त्यस हाँसोमा सहभागिता थियो, मचाहिँ रोएको हो कि हाँसेको हो गरी हाँसेँ । मेरो भित्री मन रुन खोज्दै थियो, बाहिर देखाउन पनि हाँस्नै पर्यो ।
उसले भनेको के हो भने मेरी श्रीमती सुब्बाको जागिर खान्थिन् त्यसैले उनीहरूले मेरी श्रीमतीमार्फत चिनेकाले सुब्बाको साहब भन्न सक्ने नै हो, अली ठट्यौली गर्दा । सुब्बाको श्रीमतीलाई सुब्बा साहेबनी भने जस्तै सुब्बाको श्रीमान्लाई के भन्ने ? सुब्बा साहब भन्दा त उनलाई नै सम्वोधन गरेको भै गयो, उसले दिएको उपमा राम्रै थियो, मैले पनि शायद शाखा अधिकृत वा उप–सचिव वा अन्य त्यस्तै अधिकृतको जागिर खाएको भए । उसले ठट्यौली गरेको मलाई वज्रपात भयो किनभने म मास्टर्स् गरेको घर कुरुवा थिएँ । उनी आई. ए. मात्र भएकाले सुब्बामा जाँच दिइन्, पास भइन्, जागिर खाइन् तर म मास्टर्स गरेको अधिकृतभन्दा तलको जाँच नै दिन्न भन्ने मेरो अहम् । बरु घर कुरुवा बस्ने अफ्नो ल्याकतले भ्याउनेभन्दा तलको जाँचै नदिने । त्यसैले मेरा लागि चिनजान गराउन पनि उर्दूको शब्दावली सापट माग्नु पर्ने हुन आयो ।
सबैलाई अघिको कुरा गराइले खुसी गराएँ भन्ने लागेछ क्यारे, मसँग नजिक भैसकेको देखिने तरिकाले उसले फेरि भन्यो ‘बुझ्नु भो वहाँ त यस्तो मिठो चिया बनाउनु हुन्छ कि कुरै नगरौँ, गएको त छैन तर फाइभस्टारको कुकले पनि त्यस्तो बनाउन सक्दैन होला, अस्ति नै यहाँ आएर खाएको फेरि आऊँ आऊँ बनाइराख्याथ्यो, आज भाग्य खुल्यो ।’ उसको प्रशंशा मेरा मुटुमा वाणझैँ लाग्यो, एकातिर होटेलको कुकसँग दाँज्यो भने अर्कातिर खाना पकाउने सधैँको यही हो नत्र यस्तो पोख्त हुन कहाँ सकिन्छ र ? भन्ने भान पनि झल्कायो शायद । मलाई त ठ्याक्कै त्यस्तै लाग्यो । हो मैले केटाकेटी हेर्ने, खाना पकाउने गरेको छु, उनी कार्यालय गई काम गर्ने भएपछि मैले सघाउनै पर्ने हो, मैले आफ्नै विचारले गरेको हुँ, गर्दागर्दै बानी पर्यो । अब उनलाई घरधन्दा नआउने मलाई अफिस चाहार्न नपर्ने, एक किसिमको श्रमको बाँडफाँड पनि मिलेकै हो तर यस समाजलाई त्यो सह्य भएनछ । उनीहरूलाई त श्राद्ध गर्दा बिरालो खोजेर ल्याएर भए पनि बाँध्नै पर्ने । कस्तो विडम्बना ! लोग्नेमान्छेले गरिरहेको काम स्वास्नीमान्छेले गर्न हुने तर स्वास्नीमान्छेले गरिरहेको काम लोग्नेमान्छेले गर्नु नहुने ?
‘लौ न त हजुर ! राजेशजीले फर्माइस गरिहाल्नु भयो, यस्सो हामी पनि त्यो मिठो चियाको चुस्की गर्न पाऊँ न त ! मेरी श्रीमतीको लाडे स्वर सुनियो, अरू बेला भए असाध्यै प्यारो लाग्ने गरी । मेरो मनस्थिति पनि त्यहाँ बस्न सक्ने, बसेर गफ गर्न सक्ने नभएकाले फन्किँदै त्यहाँबाट उठेर हिँडेँ । मेरो मनस्थिति कसैले बुझेनन्, मिठो चिया बनाउन हिँड्यो भनेर सबै गललल्ल हाँसे ।
मैले आफूले आफैँलाई र जानेबुझेसम्मका सबैलाई धिक्कार्न थालेँ, धिक्कार छ मलाई, पढाइको साटो कुन देशको मुद्रा के हो ?, राष्ट्रपतिको नाम के हो ? इत्यादि पढेर लोकसेवाको जाँच पास गर्न नसक्नेलाई, धिक्कार छ ती किताबलाई जसले मेरो आकांक्षा मात्र बढाउने काम गरेछन्, धिक्कार छ त्यस कलेजलाई जसले लडेपछि उठ्न सिकाएनछ, लडेको लड्यै हुने बनायो, बरु केटाकेटीले हिँड्न सिक्दा धेरै पटक लडेर थोरै पटक पाइला चाल्दै गरे पनि अन्ततोगत्वा लड्न सिक्दैनन् हिँड्न नै सिक्छन् तर मलाई त पाइला चाल्ने प्रक्रिया नै सिकाएनछ र धिक्कार छ यो समाजलाई जसले मलाई रामबाट ‘साहब ए सुब्बा’ बनायो ।
उनीहरूका बीच बीचको उन्मुक्त हाँसोरूपी झिर मेरो कान घोच्दै थियो । म चिया बनाउने, श्रीमती गफ गरेर बस्ने ? शायद मैले यस प्रकारले कहिल्यै सोचेको थिइनँ ‘साहब ए सुब्बा’को टाइटल पाउनुअघि । मैले सहयोग गरेँ भन्ने लागेका सबै क्रियाकलाप मेरा अकर्मण्यता ढाकछोप गर्ने असफल प्रयाशझैँ लाग्न लागे । जुन श्रीमतीको हालसम्म कुनै खोट पाउन सकेको थिइनँ, ती सबै गुणहरू अवगुणमा बदलिएको महसुस गरेँ ।
मान्छे किन यति कमजोर हुन्छ ? मान्छेको जीवन तासको महलजस्तै एकै क्षणमा भताभुङ्ग किन हुन्छ ? किन उसले त्यसैलाई गुण र कोहीबेला अवगुण भनी ठोकुवा गर्छ ?
उनी चिया लिन आउन्जेल मेरा भक्कानाहरू छचल्किँदै थिए, उनी मतिर र म उनीतिर हेरेको हेर्यै भयौँ । तेल तातेको थियो, चिसो पानीको छिटाको जरुरत थियो पड्किन । मैले सोचेँ म तेलझैँ पग्लिइसकेको थिएँ, हृदयदेखि दिमागसम्म । तातेको कराही उनको सुब्बाको जागिर थियो र आगो ‘साहब ए सुब्बा’ को टाइटल ।
लेखकको सम्वन्धमा