अङ्ग्रेज मान्थे डर
पानी हौँ तर छैन आत्म धमिलो बन्छौँ डढेलो सरी
गर्छौ आँट भने तिमी गर सखे आऊ न काली तरी
बोल्छौ लाज विहीन मित्र कसरी के मान्नु तिम्रो भर
बिर्स्यौ त्यो इतिहास आज कसरी अङ्ग्रेज मान्थे डर
टोपी मान्छ भने हिमाल जनले खाला बलेँसी जल
जन्म्यौँ बुद्ध थली पवित्र धरती गर्नै नजान्ने छल
दिन्छन् शूर र वीर बन्धु पहरा छोडेर आफ्नो घर
बिर्स्यौ त्यो इतिहास आज कसरी अङ्ग्रेज मान्थे डर
पुर्खा हुन् बलभक्ति रक्त उनकै झुक्तैन कैले शिर
छोड्दैनौँ लिपुलेक जाल नबुने लुक्दैन हाम्रो पिर
ठान्छौ भारत तिमी सिक्किम अरे नेपाल हो यो तर
बिर्स्यौ त्यो इतिहास आज कसरी अङ्ग्रेज मान्थे डर
गर्छौँ कर्म हरेक लाज नभनी कर्मै त हो पूजन
हेप्छौ रे किन बिर्सँदै विगत यो आँखा नछोपी भन
बोल्दै छन् किन पत्रकार लहडी बन्छौ कि बोक्रे चर
बिर्स्यौ त्यो इतिहास आज कसरी अङ्ग्रेज मान्थे डर
नेताजी गणको नपर्नु भर यो लाग्ला मुखैमा बुजो
बिक्लान् ती एक थान स्वार्थ पदमा हामी बनौँला कुजो
जागौँ ए जनता अबेर नगरी पाइन्छ पक्कै सर
बिर्स्यौ त्यो इतिहास आज कसरी अङ्ग्रेज मान्थे डर
लेखकको सम्वन्धमा