September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

विदाइको सम्झना

सूर्य शर्मा
सिडर्स, दार्जिलिङ

तिम्रा नयनका मोतीहरूले
मलाई सोधिरहेका होलान्
तिम्रा कोमल बाहुहरूले
मलाई खोजिरहेका होलान्
प्रीतका रीतमा मेरा विवशताहरू पनि
तिमीसँगै रोइदिन्छन्
चन्चल ती पलहरू अनायासै
थाकेर सुस्ताए होलान्
मेरो बाटो हेर्दाहेर्दै तिमीलाई
निद्रामाताले सुताइन् होला
सपनामा पनि घरी घरी म
आएको हुँदो हुँ
सपनीमा पनि तिमीलाई
रुवाएको हुँदो हुँ ।
बिदाइका पलमा तिमी रुँदारुँदै हाँस्दा
मेरो अन्तरआत्मा नरोएको होइन
हाँस्ने प्रयासमा तिमी फेरि नरोएको होइन
के गर्नु र ?
विवशताका बीचमा बाँच्नु परेको छ
हृदय रोए पनि बाहिर हाँस्नुपरेको छ
त्यसैले
तिमी पनि हाँसिदिनु खुलेर
नयनबाट सागर बहे पनि
‘सागरभित्र मोती छन्’ सम्झेर
मिलन मात्र होइन जिन्दगी
बिदाइ पनि जिन्दगी नै सम्झेर
स्वतन्त्र मात्र होइन जिन्दगी
बाँच्नु छ कर्तव्यभित्र रहेर ।