December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

गजल

सुदेश पन्त

भित्री मनले भन्यो– मलामी जाँदा पनि नाच्नुपर्छ साथी
किनकि मर्ने मजाले मर्‌यो मैले पनि बाँच्नुपर्छ साथी ।

अधा पेट खाएर अघाएँ भन्ने छिन् मेरी अर्धाङ्गिनी
तर शङ्का मेट्न उनका पत्रमञ्जूषा जाँच्नुपर्छ साथी ।

खुसी छोरीका हुन् या छोरी खुसीका, म उसको बाबु
तर हाँस्न पनि क्यालेन्डर हेरी औँला भाँच्नुपर्छ साथी ।

मृत्यु जीवन हो कि जीवन मृत्यु, पर्गेल्न हुन्छ गाह्रो
त्यसैले हाँस्दै पीडारूपी पलहरू ङ्याच्नुपर्छ साथी ।

घरमा कोही बिरामी पर्ला, चिन्ता पर्छ हिजोआज
नुनतेल जोर्न मृगौला बेचेँ, कलेजो साँच्नुपर्छ साथी ।