कास, म क्यान्भास भैदिए

कास, म क्यान्भास भैदिए
कहिले सुनौलो बिहानी भई
पँहेलो रङ्गमा पोतिन्थेँ
कहिले रात भई
कालो रङ्गमा बिलिन भैदिन्थेँ
कहिले कलकल बग्ने पानी भई
कुचीको वेगसँगै बगिरहन्थे
कहिले हिमाल पहाड भई
स्थिर शान्त उभिरहन्थेँ
कहिले आकाशका ती
सेता बादल भई
मुस्कुराउँदै उडिहिँड्थेँ
कहिले त्यही बादल गर्जिँदै
झरी बनी बर्सिन्थेँ
कहिले ढकमक्क फुलेको
गुलाबको फूल बनिदिन्थेँ
कहिले त्यसमा भएका
काँडालाई मात्र उजागर गरिदिन्थेँ
कहिले रङ्गमाथि रङ्ग पोतिँदै
आफू रहस्यमए बनिदिन्थेँ
कहिले सादा, रङ्गहीन भई
जोखिम्पूर्ण भैदिन्थेँ कहिले पिकासोको पीडाको
त्यो निलो रङ्गमा उदास भैदिन्थेँ
कहिले उनको हर्ष र प्रेमको
त्यो गुलाबी रङ्गमा फुरुङ्ग भैदिन्थेँ
काश, म क्यान्भास भैदिए
तर, म त मान्छे
त्यतिका स्वतन्त्रता मेरो काहाँ
समाजको दाएराभित्र बाँच्नुपर्ने
त्यही दाएराभित्र अट्नु पर्ने
जहाँ, मेरा हिँडाइको, मेरा बोलाइको
मेरा लवाइको, मेरा खुवाइको
मेरा हसोँको, मेरा उदासीनताको
मेरा प्रगतिको, मेरा हारको
मेरा हरेक कदमको
नाप तौल अनि मूल्याङ्कन हुन्छ
त्यतिका स्वतन्त्रता मेरो कहाँ
काश, म क्यान्भास भैदिए……।
लेखकको सम्वन्धमा