January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

चिरन्तन यात्रा

प्रकाशमणी दाहाल

रोक्न सकेन केहीले उसका पाइला
अज्ञानता वा अन्धकारको कालोले
जँघार, जङगल वा जबर्दस्त भीर–पहरा–भडखालोले
न सक्यो छेक्न उसको बाटोे कुनै रोगव्याधि वा विपत्तिले ।

आदिम चेतनाको रिमरिमे बिहानीदेखि
ज्ञान–विज्ञान र पराज्ञानले झलमलाउँदो मध्यान्हसम्म
शारीरिक शक्तिको चिरन्तन समर्थन र
धरतीको ममतामय प्रोत्साहनमा
महत्वाकाङ्क्षाको शक्तिमत्त घोडा चढेर
कामनाको अन्त्यहीन क्षितिज चहार्दै
हिँडिरहेको छ ऊ लगातारलगातार
अझ कुदि र उडि नै रहेको छ
समयको क्रमानुसार ।

न मास्नै सक्यो प्राकृतिक विपित्तिको कुनै विभीषिकाले उसलाई
भयावह भुइँचालो, बाढी–पैरो, आँधी–तुफान, खडेरी
हैजा, प्लेगल कारोनाजस्ता दुर्भिक्षका महामारी
न स्वयं सिर्जित आगलागी, दुर्घटना, युद्ध
केहीको केही चलेन ऊसँग ।
लड्यो पटकपटक, उठ्यो पटकपटक
मर्‌यो पटकपटक, जाग्यो पटकपटक
उही जीवनमा, पुस्ता–पुस्तामा र युगौँयुगमा ।
अङ्गभङ्ग भयो
साधनहीन भयो
बेघर भयो, बेवारिस भयो
तर फेरि पन्कियो झन् शक्तिसँग
जुर्मुराउँदै रक्तबीजझैँ झन् मौलाएर
झन् जुक्तिसँग ।

समाप्त भएन कतिपय पुर्खाजस्तो
बरु अबध्य, अबाध्य र अजेय भएर
झन् झरिलोपन, झन् दरिला पाउ र झन् ठाडो शिरसँग
हिँडिरहेको छ, हिँडिरहेको छ ऊ
मृत्युन्जयी भएर !

तर हिँडेको कहाँ हो ? लागिरहन्छ ऊ अलमलमा छ ।
यस्तै हो त हिँडाइ ? लागिरहन्छ ऊ ढुलमुलमा छ ।

जेलिफिसको खोलबाट निस्केर
विकासवादी सुरुङका अनेकौँ तह छिचोल्दै
बाटो बिराउँदै फेरि पाइला फिराउँदै
यति माथि आइपुगेको उसलाई कसले भनेर के हुन्छ र ?
त्यसैले त सधैँ हडबड, गडबड र खबलबलमा हुन्छ ऊ
जतिसुकै बन्दुक र बारुद भए पनि
कुदिरहन्छ कसैबाट भागेझैँ र कसैलाई खेदेझैँ
सायद आफैँबाट, आफ्नै वास्तविक अभिमतबाट
पार्दै बहाना के के न महान् गरेझैँ
आँसु, आर्तनाद र आतङ्कका कोलाहलबीच
रक्तमुछेल भएर अट्टहास गर्दै !
हो, जारी छ उसको चिरन्तर यात्रा
जसरी पनि जारी छ
निन्तर निरन्तर निरन्तर !