माउन्ट ताखाओको टुप्पामा

हाचिओजीको अधिकांश भागमा खपिनसक्नु गर्मी छ आज । डाँडाका टुप्पातिर चढ्दा त गर्मी केही कम हुनु नि । त्यहाँ पनि उस्तै छन् घामका उत्ताउला र उन्मत्त किरणहरू ।
हाचिओजीको उत्तर पश्चिममा ठडिएको माउन्ट ताखाओको टुप्पातिर उक्लिरहेछौं काभ्रे कोलातीका अनील सेडाई र म ।
यो साल जापानमा गर्मीले करिब दुई सय मानिसहरू मरे – अघिल्ला दिन समाचार पढेको थिएँ एउटा नेपाली अनलाइन मिडियामा ।
हाइजिमाबाट नजिकै भएर पनि यो डाँडो चढ्ने समय नमिलेकोमा बेलाबेला आश्चार्य लाग्थ्यो मलाई । मानिसले पाइला नहालेका ठाऊँहरू आफ्नै वरिपरि पनि थुप्रै हुँदारहेछन् ।
बाटाभरि मानिसहरूको लर्को भेटियो । हामी दुवैले धेरै मानिसहरूलाई उछिनेर तेर्पे तेर्पे बाटो उक्लियौं ।
धूपी सल्लाका आकाश छेड्ने रूखहरू बाटाभरि भेटिए । नदेखेका नजानेका रूखहरू त कति हो कति । प्रकृतिको सुन्दर रूप आँखै अगाडि उभियो । असरल्ल हरियाली देखेर आँखाहरू निकै लोभिए । मनको चौडाइ ह्वात्तै बढ्यो । छेउको खोलामा कलकल गर्दै बगेको सङ्लो पानीले बाल्यकालमा पिप्लेको अँधेरी खोलामा पानी खेलेको खुब याद आयो मलाई ।
अनील कपाल काटेर चिन्डे देखिएका छन् । टोकियोदेखि उत्तर दिशामा रहेको गुन्बा क्षेत्र घुम्न जाँदा फेदै लाएर काटिदिए छन् कपाल । यस्तो रूपमा नदेखेर होला उनी अलि अनौठा लागिरहेछन् आज । होचा कदका अनील निकै फुर्तिला छन् । मृदुभाषा उनको वैयक्तिक गुण हो । जापान आएदेखि नै उनको र मेरो मित्रता प्रगाढ भएको थियो । मनका सफा छन् उनी ।
केबुलकार चढेर पहाडको आधा भाग उक्लिएथ्यौं । ठाडो उकालोमा त्यस्तो किसिमको यातायातको साधनले पहाडको टुप्पामा पुग्नेहरूका लागि आधा बाटो सजिलो बनाइदिएको छ । दाँयाबाँया परम्परागत जापानी काष्ठकलाले सुसज्जित बौद्ध गुम्बाहरू प्रशस्तै भेटिए । गुम्बा परिसरमा जापानी परम्परा झल्काउने ढुङ्गाका मूर्तिहरू छ्यासछ्यासती देखिए । ससाना पसलहरू टुप्लुकिए बाटाका दाँयाबाँया ।
स्कुले केटाकेटीहरू बाटाभरि भेटिए । उमेर ढल्केकाहरू पनि दुईवटा लौरा टेकेर टुप्पातिर चढिरहेका भेटिए । कतिपय अधवैंशेहरू त उकालोमा दौडिएर हामीलाई उछिन्थे । ताखाओका फेदतिर बस्नेहरू डाँडातिर रमिता हेर्न उक्लिने कुरा सामान्य हो जस्तो लाग्यो मलाई ।
साना गाडीहरू पहाडको टुप्पोमै पुग्ने गरी बाटो बनेको देखेर आश्चार्य लाग्यो । ठाडो उकालो डाँडोमा धेरै घुम्ती पनि नराखी बनेको सडक पनि ठाडै छ । पैदल उक्लन पनि गाह्रो हुने सडकमा गाडी गुडेर डाँडाका टुप्पामा पुग्नु सामान्य कुरा होइन । झन् ओरालो आउँदा गाडीमा केही प्राविधिक गडबडी भयो भने त जिन्दगी खत्तम हुने सुनिश्चित छ ।
उकालो बाटोमा फोटो खिच्न व्यस्त छन् अनील । उनको चिन्डे टाउकोबाट निस्केका पसिनाका धाराहरू गालाको बाटो हुँदै भुँइतिर झरेको देखिरहेछु म । मेरो ढाड पसिनाले निथ्रुक्क भिजेको छ । अनुहारको हालत पनि उस्तै छ । हातको बोतलबाट एक घुड्की पानी पिउँछु केही शीतल हुने आशमा ।
बाटा मास्तिरको रूखमा माकुराको जालो देखिन्छ असरल्ल । चराहरूले बिस्ट्याएका प्रमाणहरू बाटैभरि देखिन्छन् भेटिन्छन् । बाँदरहरूले चिथोरेर फालेका जङगली फलहरू फाट्टफुट्ट भेटिए ।
दूरबीन राखेको रहेछ बाटामा । दूरबीनको प्वालमा सय एन हाल्दिए परपरका लोभलाग्दा दृश्यहरू हेर्न पाइने । अनीलले नहेरी छोडेनन् । मैले रहर नै गरिनँ । हामी निरन्तर उचाइतिर उक्लिरहेछौं ।
अनीलका अगाडि दुईवटा चराहरू च्वाँच्वाँ चुँचुँ गर्दै बाटो मास्तिरको रेलिङमा आएर बसे । अनील तिनीहरूको पनि फोटो खिच्न थाले । चराहरू केही परसम्म उडे र बाटाछेउको रूखको सानो हाँगामा बसे । अनील फेरि तिनका पछि दौडिए फोटो खिच्न । चराको फोटो खिच्न यति सारो मरिहत्ते किन गर्नुपर्यो । चरैचरा भएको देशमा जन्मेको मान्छे । चरा हेर्न र तिनको फोटो खिच्न यति परिश्रम किन गर्नुपर्यो । अनीलको चन्चले स्वभाव बढ्दै गरेको महसुस गर्छु म ।
एकैछिनमा भालेले चुच्चाले पोथीको टाउको समायो र सहवास गर्यो । अनील खित्का छाडेर हाँसे । मैले परबाटै ठूलो स्वरमा भन्दिएँ – त्यै रमिता हेर्न मलाई छाडेका थियौ नि । उनी निरन्तर हाँसी मात्र रहें । जवाफ फर्काएनन् ।
माउन्ट ताखाओको जङगलमा तीस प्रकारका स्तनधारी जनावर पाइने सुनेको थिएँ । अहिलेसम्म एउटा पनि हेर्न पाइएको छैन ।
काठ बिच्छ्याएको बाटो आयो । सामान्य पानी पर्दा पनि बाटो हिलो भएर पैदल यात्रुलाई आवतजावतमा समस्या पर्ने भएकाले स्थानीय सामग्रीको प्रयोग गरेर बाटो सहज बनाएको कुरा बुझ्न गाह्रो भएन मलाई ।
मसिना मसिना कुरामा खुब ध्यान पुर्याउँछन् जापानिजहरूले । त्यसैले त समृद्धिमा आकाश छोएका छन् । ससाना कुराहरूलाई ठिकठाक नराखे मुलुकले गति नलिने रहेछ ।
पट्टेर जङगल छ बाटाका दाँयाबाँया । सडक बेलाबेला भेट्न आइपुग्छ लुइटेल र सेडाईलाई । त्यसको वास्तै गरेका छैनौँ हामीले । हामी त सिंडी उक्लिनुमै आनन्द मानिरहेछौं ।
मास्तिरबाट दुईवटी जापानी युवतीहरू झर्दै थिए । पुष्ट शारीरिक सुगठन, ठुल्ठुला आँखा र सेतो छाला छ तिनीहरूको । दुवै एकै नासका । स्वर्गका अप्सराजस्तै । एउटीले कालो क्याप टोपी लगाएकी छे । अर्कीले थाइकट कपाल लर्काएकी छे । अठार बीस वर्षभन्दा धेरै उमेर खाएका छैनन् तिनीहरूले ।
यहीँबाट फर्किने हो कि दाजु- अनीलले ती सुन्दरीहरूतिर हेर्दै भने ।
नेपालमा करुणालाई फोन गर्दिनु पर्ला – मैले तुरुन्तै जवाफ फर्काएँ ।
मरीमरी हाँसे अनील ।
अब त टुप्पामा पुग्न लागियो कि ? मनमनै अनुमान गर्छु म । उकालो जानेहरूकै लर्को बाक्लो छ बाटाभरि । अनील र मलाई अझसम्म कसैले उछिनेका छैनन् । दौडेर जानेहरूको हिसाब गरिन मैले । फेदबाट हिंडेको एक घण्टा हुनै लाग्दा पनि टुप्पामा पुगेका छैनौँ हामी दुवै भाइ ।
पूर्वतिर विशाल सहर देखिएको छ क्षितिजसम्म । अग्लाअग्ला घरहरू देखिन्छन् जताततै । सहरका भव्य महल र हरिया रूखहरूले सुन्दर देखिएको छ टोकियो । तल फराकिलो राजमार्गमा एकनासले गाडीहरू दौडिएका छन् । ताखाओको पूर्वोत्तर दिशातिर सुरुङमा पस्तै निस्कँदै गरेका गाडीहरूको लर्कोले जापानी विकास र समृद्धिको सूचना दिइरहेछन् । जताततै सुरुङ छेडेर जापानले सडक र रेलको बाटोलाई सुरक्षित, सस्तो र सुगम बनाएको छ ।
बोतलको पिंधमा बचेको अलिकति पानी पिएर सुकेको घाँटी भिजाए अनीलले ।
अब पानी खान नपाइने रहेछ दाजु – अनीलले मैतिर प्रश्नको गुलेली चलाए ।
म पनि पहिलो पटक आउँदै छु । कसरी भन्नु पानी पाइन्छ कि पाइँदैन भनेर । हामी डाँडाको टुप्पानेर आइपुग्यौं । छेउमा ताखाओभन्दा अग्ला डाँडा पनि छैनन् । पानी नपाउन सकिन्छ ।
एउटा बूढो जापानीज दुईवटा स्टिलका लौरा टेकेर ओरालो झर्दै थियो । कपाल हिउँजस्तै सेतै थियो उसको । अनुहारमा चाहुरिएका छालाका दर्जनौं मुजा देखिन्थे प्रस्टसँग ।
यसलाई सोधौं त धाराको बारेमा – मैले अनीललाई सोधिहालें ।
भो दाजु पर्दैन – अनीलले उत्तर फर्काए ।
पानी पाए सास आउँथ्योजस्तो भएको छ दुवैलाई । पसिनाले शरीरको पानी घट्दैछ । त्यसलाई सन्तुलनमा ल्याउन पानी त पिउनै पर्यो ।
माथि आकाशमा अमेरिकी वायुसेनाका दुईवटा हर्कुलस विमानहरू ओकुतामातिर उडिरहेछन् । नागासाकी हिरोसिमामा दुईवटा बम झारेर लाखौं जापानिजको जीवन स्वाहा पारेको अमेरिकाले उसकै आकाशमा साम्राज्य फैलाएको छ । आफ्नो स्वार्थका निम्ति मान्छे मार्ने बेलायतीहरूको परपीडक ग्रन्थी दोस्रो विश्वयुद्धपछि अमेरिकीहरूमा सरेको कुरा अनीललाई सुनाएँ ।
इतिहास कप्पै खान के गर्नुपर्छ दाइ – सेडाईंले तुरुन्तै सोधिहाले ।
इतिहासका किताब पढ्नुपर्छ । त्यहाँका घटनाहरूप्रति चिन्तन मनन गर्नुपर्छ र आफ्नो विचार निर्माण गर्नुपर्छ- मेरो कुरा ध्यानपूर्वक सुने उनले ।
केही मास्तिर पानीको धारा भेटियो । सुकेको घाँटी भिजाएँ । अनीलले हातको रित्तो बोतल भरे र पानी पिए । यति माथि डाँडाको टुप्पो छेउ कसरी पानी ल्याए होला ? सोचमग्न हुन्छु म ।
एक जोडी तन्नेरी हामीलाई उछिनेर अगाडि गए । जापानिजले यति लामो बाटो छिचोल्दा पनि उछिनेका थिएनन् । टापुका नागरिकले पैदल हिंड्न नभेट्ने रहेछन् गोर्खालीलाई । मनमनै तर्क गर्छु म ।
हामीले फेरि कम्मर कस्यौं, उकालो छिचोल्न । फटाफट पाइला चाल्यौं । तेर्पे तेर्पे बाटो केहीबेर हिँडिरह्यौं । टुप्लुक्कै ताखाओको टुप्पामा पुगिएछ । मन हल्का भयो । पसिनाले लगभग शरीर निथ्रुक्क थियो । अनील र मैले हेराहेर गर्यौ एकआपसमा ।
वरिपरिको भूधरातल होचो देखियो । पश्चिमतिर देखियो गजधुम्म भएर बसेको फुजी हिमाल। उत्तरतिर फराकिला फाँटहरू देखिए । सङ्ला नदीहरू र तिनमा बनाइएका जलाशयहरूले धर्ती सुन्दर थियो । हरिया थुम्काथुम्कीहरू क्षितिजसम्मै देखिए । पूर्वतिरको आकाशमा देखियो बादलको ठूलो मुस्लो ।
ताखाओको टुप्पोमा चहलपहल बाक्लै देखियो । ढुङ्गाका पर्खालमाथि बसेर मानिसहरू जापानिज नुडल्स चपस्टिकले उनेर खाइरहेथे ।
एउटी सानी फुच्छी सुँक्क सुक्कँ रूदै आमासँग फोनमा बोलिरहेकी थिई । त्यसको छेउमा एउटा बुढो मान्छे र त्यसकै उमेरकी अर्की केटी आइसक्रिम खाइरहेका थिए ।
बाजेले दुईवटा आइसक्रिम किने । एउटा आफूले खाए अर्को एउटा सासाकीलाई दिए – जापानीज भाषामा पोल सुनाइरहेकी थिई ऊ ।
कस्तो विभेदकारी बूढो रहेछ त्यो । आफू नखाएरै भए पनि ती दुवै नातिनी जस्ता केटीलाई दिनुपर्ने । लोभ गर्नुको पनि सीमा हुन्छ नि ।
एउटा आइसक्रिम किनेर दिऊँ त अनील- मैले आफ्नै छोरी सम्झिएर बोलेँ त्यो बेला ।
नचिनेको मानिसले किनेर दिएको खाँदैनन् यिनीहरूले – उनले तुरुन्तै रोके मलाई ।
त्यस बुढाले के सोचेर भेदभाव गरेको होला ? एउटा आइसक्रिममा । केटाकेटीले घुम्न जाँदा केही न केही खान खोजिहाल्छन् नि । खान नदिनेले घुमाउन किन ल्याउनू – मनमनै तर्क गर्छु म ।
केटी फोनमा निरन्तर बोलिरही त्यसकी आमासँग ।
बुढाको मन पग्लिएछ, गएर एउटा आइसक्रिम ल्याएर थमाइदियो रून्चीका हातमा । केटी मुसुक्क हाँसी र आमालाई भन्न भ्याइहाली । फोन बूढोलाई नै दिई र आइसक्रिम कपाकपी खाई । यतिन्जेल अर्कीका हातमा आइसक्रिमको खोल मात्र बाँकी थियो ।
बालमनोविज्ञान नबुझ्नेले छोराछोरी नपाए हुन्छ – पसिनाका धारा पुच्दै अनीलतिर फर्किँएर बोलें ।
उनी फिस्स हाँसें मेरो कुरा सुनेर ।
दुई हजार पटक ताखाओको टुप्पामा चढेको मानिस पनि छ भन्ने सुनेको थिएँ कतै । यसकै फेदतिरको बासिन्दा भए के गाह्रो कुरा हो र त्यो पनि । फेरि त्यसले चढेको गनेर को बस्यो होला र ? आफैं भन्दियो कि के थाहा । कान्छी औंलो जत्रो सर्प देख्दा बुढी औंलो जत्रो देखें भन्ने मान्छेको के भर हुन्छ र ? दश करोड मान्छे बस्ने देशमा थरिथरिका प्रवृति देखिनु के अनौठो भयो र ? तथ्यबिना हावाका पछाडि के दौडिनु ?
टुप्पो निकै फराकिलो रहेछ ताखाओको । टुप्पाकै पश्चिमतिर लाग्यौं हामी । परपरसम्म हरिया जङगल देखेर आँखाले खुब आनन्द माने । आइसक्रिम पसल पनि टुप्पामा । मान्छे बस्ने फलैचा पनि टुप्पामा । त्यति गरेर पनि हजार पन्ध्र सय मान्छे सजिलै अटाउँने खाली भाग छ टुप्पामा ।
मन रोमान्चित छ हामी दुवैको ।
अनील जापान छोडेर सधैंका लागि नेपाल फर्किने तयारीमा थिए । उनीसँगको यो घुमाइ अन्तिम हुन सक्ने अनुमान गरिरहेथेँ मनमनै । म भने केही वर्ष यतै बस्ने योजनामा दृढ थिएँ ।
२०७५ असार १५ गते शुक्रबारका दिन माउन्ट ताखाओको टुप्पामा पाइला हाल्यौं दुई नेपाली युवाले एकैसाथ । मनको सानो रहर पूरा गर्यौं ।
उता नेपालमा सबैजना दही, चिउरा र केरा खाएर पेट भरिरहेका होलान् । असार पन्ध्र मनाइरहेका होलान् । हामी दुई भाइ भने आँखाले नव रसका सुन्दर दृश्य हेरर टन्नसँग मन भरिरहेका थियौं ।
लेखकको सम्वन्धमा