November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

गजल

सजल भट्टराई

विधवाको सेतो सारी अशुभ मान्छ मेरो समाज  
हेराइमा नै अलच्छिनी किन ठान्छ मेरो समाज ?

स्वास्नी मरे हतार हुन्छ घरमा अर्की भित्र्याउनलाई
तर एक्ली नारीलाई वचनले हान्छ मेरो समाज ।

हाँस्न हुन्न बोल्न पनि सङ्कोच राख्छे एक्लो ठानी
स्वास्नीमाथि स्वास्नी थप्दा भतेर खान्छ मेरो समाज।

विधवालाई स्विकारेर कोही कसैले अँगालेमा
‘बर्बाद भयो, कन्या पाउँथिस्’ भन्न जान्छ मेरो समाज ।

समयको मागअनुसार हिँड्नु पर्छ भने पनि
फेसन नयाँ सोच पुरानै किन छान्छ मेरो समाज !