December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

कोरोना

सपना निरौला
कक्षा :११
एभरेष्ट कलेज, थापाथली

त्राही त्राही भयो विश्व जगत नै आज
कोरोना त्यो भाइरस पस्यो मानवका माझ
न त शस्त्र अस्त्र अनि न बलैले ढल्यो
कोरोनाको प्रहारले मानव आज गल्यो ।

चेतनाको जगतामा मै हुँ ठुलो भन्ने
जीव जगतमा मानव जाति कसैलाई नगन्ने
तर आज झुक्दै गयो सूक्ष्म जीवमाझ
बन्दी बन्यो आफ्नै घरमा बिहान, दिन,साँझ ।

विज्ञान पनि रोयो आज छैन केही तर्क
कस्तो प्रहार गर्‌यो यसले लाग्ने हो कि वर्ष
न त साम, दाम, दण्ड भेदको अर्थ रह्यो
मानवको अस्तित्वलाई सूक्ष्म जीवले हर्यो ।

विज्ञानका द्रष्टा स्रष्टा ज्ञाताहरू सुन
यसबाट बच्नलाई उपाय छ कुन ?
कतिन्जेल घरमै लुक्ने गाह्रो हामीलाई भयो
कोरोनाकै सङक्रमणले धेरै ज्यान गयो ।

ठुला ठुला देशहरू धरधरी रोए
धैरैको ज्यान बच्थ्यो होला उपाय केही भए
विश्व काप्यो, धरती रोयो कोरोनाका डरले
कति दिन भित्रै बसूँ बाँचूँ केको भरले ?