January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

माउन्ट फुजीको फेदमा

उद्धव लुइटेल
हाल: टोकियो, जापान

टोकियोका थाप्लामाथि झुल्किएका घामले फुजी हिमालको टुप्पो झलमल्ल थियो । वरिपरि देखिने होचाहोचा पहाडहरू हरियो दोसल्ला ओढेझैँ लाग्दथ्यो । गर्मीको मौसम, झुल्किँदैका घाम तन्नेरी लाग्यो मलाई । वर्षा ऋतुको सुन्दरता र हरियालीले मनमा उमङ्गको सञ्चार गरेको छ मज्जैले ।

बिहानको साढे आठ बजे फुजी क्यु हाइलेन्ड पुगेथ्यौँ, अङ्कित उप्रेती र म । अङ्कितको देब्रे गालाबाट झरेका पसिनाका धाराले तापमानको पारो बढेको सङ्केत गरिरहेथ्यो ।

दाइ जुलाइ १८ को बिदाचाहिँ रोलर कोस्टर खेलेर मनाउने है- एक महिना अगाडि अङ्कितले भनेको वाक्य गुनगुनाइरहेथ्यो मेरा कानमा । जापान आएदेखि नै हामी एकअर्काका आडभरोसा भएर बसेथ्यौँ । हामी विश्वकै तीव्र गतिका दस रोलर कोस्टर मध्येको एउटा कोस्टर खेल्ने मनस्थितिले फुजीको फेदसम्म तानिएथ्यौँ ।

३७७० मिटर अग्लो फुजीको फेदमा प्रचण्ड गर्मीले हायलकायल छौँ हामी । मानिसहरू रेलबाट ओेर्लिरहेथे व्यारेकबाट निस्किएका सेनाझैँ । जापानीहरूकै बाहुल्यता देखिरहेछु म । यी सबजना रोलर कोस्टर खेल्न आएका हुन् त ! जिज्ञासाको भुँमरीमा घुमेको छु म फनफनी ।

वातावरण ऊर्जामय छ । बालक र तन्नेरीहरूकै चहलपहल छ जताततै । जापानी, युवतीहरूका अनेक लीला ठोक्किन्छन् आँखामा घरीघरी । युवकहरू पनि कम देखिरहेको छैन म ।

केही क्षणको पर्खाइपछि एकएकवटा टिकट हातमा बोकेर भित्र पस्यौँ हामी । पस्नासाथ अगाडि ठोक्कियो एएज्यानाखाइ रोलर कोस्टर । एघार सय त्रिपन्न मिटरको ट्रयाकमा एकसय छब्बिस किलोमिटरप्रति घण्टाको वेगमा हुँइकिने एएज्यानाइखा जापानको पहिलो र विश्वकै दसौँ तीव्रगतिको रोलर कोस्टरमा पर्दछ ।

अङ्कित तिमीलाई यहाँका रोलर कोस्टरका बारेमा कुनै जानकारी छ कि ? – एक टकले एएज्यानाखाइका घुमिरहेका रित्ता ट्रली हेरिरहेका उप्रेतीलाई प्रश्न गरेँ ।

खास छैन दाइ । साथीहरूबाट सुनेको मात्र हुँ । – उनले सटिक उत्तर फर्काए ।

देब्रेतिरको होचो रूखको फेदमा बिस एक्काइस वर्षका देखिने जोडी एकअर्काको अङ्गालोमा बेरिएर गाला मुसारिरहेको दृश्य आँखाका नानीमै आएर ठोक्कियो ।

रोलर कोस्टर खेल्नु मेरा जीवनकै नौलो अनुभव हुनेछ भाइ – उप्रेतीलाई मनको कुरो सुनाउँछु म ।

मैलेचाहिँ कहाँ खेल्नु र दाइ – उनले पनि मनकै कुरा पोखे ।

उसो भए कहिल्यै नखेलेका मनुवाले आज खेल्ने भएछन् – मेरो कुरो टुङ्गिन नपाउँदै उप्रेती हाँसे धक फुकाएर ।

हामी लाग्यौँ एएज्यानाइखातिर। लामो लाइनमा फस्यौँ हामी । अगाडि पछाडि तरुनतन्नेरीहरूका गफ, क्रियाकलाप र भीडमा च्यापिएका छौँ दुई भाइ ।

यो एक्लै आउने ठाउँ होइन रहेछ दाइ – भीडभाडको आवाजसँगै उप्रेतीको आवाज पस्यो कानका प्वालभित्र ।

अनि हामी पनि दुई भाइ छँदैछौँ नि – उप्रेतीको लाक्ष्यणिक अर्थलाई झन बङ्ग्याउन खोजेँ मैले ।

दाइ पनि ! – उनले दुई शब्दमै जवाफ फर्काए ।

घुमेको फलामे भर्याङ हुदैँ मानिसको लामो लाइन छिचोलेर हामी पुग्यौँ रोलर कोस्टर चढ्ने ठाउँ । आफूले लगाएका लुगाबाहेक सबथोक लकरमा थन्क्याउन लगाई त्यहाँ उभिएकी एउटी सुन्दरी जापानी युवतीले । जता गए पनि यी सुन्दरीहरूको अनुहारमा आँखा ठोक्किहाल्ने । धन्य हो हामी लोग्नेमान्छेको जात । तन्नेरी मनले टाउको उठाउन खोज्छ घरीघरी ।

एकएकवटा सिटमा बस्यौँ हामी । खुट्टा झुन्डिएका छन् तुन्द्रुङ्ग । पछाडिबाट अर्की युवती आई र दुईपट्टिबाट मोटो प्लास्टिकको पातो ल्याएर कसी दिई छातीमा । मान्छे नखस्ने पक्का भो अब ।

ताली बजाएर बिदा गरे तिनले । हामी बसेको ट्रली हिँड्यो पछाडि र एउटा घुम्ती छिचोलेर उकालो चढ्यो । जतिजति ट्रली उकालो लागेको छ त्यति नै डरको पारो बढेको बढेकै छ । भुइँ धेरै तल देखेर अक्क न बक्क भएँ म । अङ्कितको अनुहारको चमक हराइसकेथ्यो यतिन्जेल ।

उनान्असी मिटरको उचाइसम्म एकनासले गएको कोस्टर एक्कासी जमीनको सतहमा आयो । दुई सेकेन्ड पनि लगाएन होला त्यसले भुइँसम्म आउन । यसबीचमा हामी बसेको सिट दुई फन्का घुम्यो । माथिबाट तल आउँदा टाउको तल र खुट्टा माथि भएर झरेथ्यौँ । हामी दुईले एक अर्कालाई सम्झने समय नै थिएन । मेर मुखबाट आ…… मात्र निस्कियो । ‘आमा’ शब्द पूरा हुन पाएन ।

तीव्रगतिमा वेगिएको कोस्टर घरी तल घरी माथि चढ्थ्यो । हामी बसेको ट्रली माथि पुगेर तल झर्दा घरीघरी घोप्टो पर्थ्यो । मन चिउचिउ गर्नुबाहेक अरू कुरा सोच्न र सम्झन सक्ने अवस्थामा थिएनौँ ।

करिब दुई मिनेटमा पहिला चढेकै ठाउँमा आएर रोकियो । नजिकैको सिटमा बसेर पनि आपसमा हेर्न नपाएका हामीले एकअर्कालाई पुलुक्क हेर्यौँ ।

कस्तो लाग्यो त भाइ रोलर कोस्टर ? – उप्रेतीलाई सोधीहालेँ ।

हाम्रा नेतालाई यसैमा हालेर आठ दस फन्का घुमाउनु पर्ने रहेछ दाइ – कोस्टरको भयावहतासँगै नेताको अपाच्य गतिविधि र जब्बरे मानसिकताप्रति आक्रोश पोखे उनले ।

शक्तिले शरीर छोडेको महसुस भयो । मगज गुम्म भयो ।

पुनर्जन्म पाएको अनुभूति भयो । अब अझै तिनवटा छन् खेल्न बाँकी रोलर कोस्टर ! – उप्रेतीको मन बुझ्न खोजेँ मैले ।

अब त आज मात्र हैन जीवनमै खेल्दिनँ रोलर कोस्टर – किलकिलेसम्मै अघाएछन् उनी ।

बिहान खाएको जुस र ओनिगिरीले छोडेको महसुस भो मलाई ।

के खाने त ? – भोकाएको पेटको घण्टी बजिरहेका बेला उप्रेतीतिरै प्रश्नको पोको हुत्याएँ मैले ।

अगाडि गएर हेरौँ न दाइ – उप्रेती बोले ।

खानेकुराको खोजीमा केही अगाडि बढ्यौँ हामी । एउटा गाडीभित्रै पसल भेटियो । गाडीमा पसल राख्नुका अनेकौँ फाइदा देखेँ मैले । आफ्नो जमिन पनि नचाहिने । कोठा भाडा पनि नलाग्ने । पसल नचले ग्राहकको चहलपहल हुने ठाउँमा गुडाएर लगे पनि हुने । ढुवानीका लागि अर्को गाडी पनि खोज्नु नपर्ने । नेपालमा पनि यो अवधारणा लागु गरे धेरैका परिवारको पेटमा जाउलो टुट्दैनथ्यो । अनायासै सोचमग्न हुन्छु म ।

टर्किच चराको फिलो खायौँ दुई भाइले । उप्रेतीलाई उति बढी मन परेन । भोकका सुरमा केही नसम्झी खाएँ मैले । खानेकुरा छान्न थाले व्रत बस्नु पर्ला भन्ने पीरको पोको छ मनको एउटा कुनामा ।

घामका तेजले हायलकायल छौँ हामी । मन्थलीको गर्मीलाई चुनौती दिने गरी तातेको छ जमिन र हावा । मानिसहरूको चहलपहल बाक्लिएको छ बेफिक्री । युवा र अधबैँसेहरूकै बाहुल्यता छ जताततै । माथि फुजीको टुप्पो लुकेको छ बादलको घुम्टोभित्र ।

सुरम्य वातावरणमा आन्नद मान्ने जापानीहरू यत्रतत्र देखिरहेछु म । भौतिक विकासले उचाइ छोएकाहरू प्रकृतिमा नफर्की सुखै छैन । जिन ज्याक रूसोको ‘ब्याक टु द नेचर’लाई सम्झिरहेछु यतिबेला । रूसो मरेर गए पनि उनको सिद्धान्त र त्यस अनुसारको व्यवहार युगयुगसम्म बाँचिरहने छ ।

समय अझै धेरै छ । अरू केही न केही त खेल्नै पर्छ दाइ – निकै बेर मौनतामा हराएका उप्रेतीले मुख खोले ।

नत्र हाम्रो टिकटको पैसा कसरी असुल हुन्छ त भाइ – मैले आफ्नो विचार पोखेँ ।

हामी अगाडि बढ्यौँ । मानिसहरूको बाक्लो उपस्थिति थियो त्यहाँ ।

यता लाइन लागौँ दाइ ।

कुन खेल छ यता ?

हामीभन्दा कलिलाहरू लाइनमा छन् । हामीले खेल्न सक्ने कुनै खेल होला नि दाइ ।

बिना सङ्कोच स्वोकारी दिएँ उप्रेतीको भनाइलाई । हामी लाइनबाटै अगाडि बढ्यौँ र एउटा ट्रलीमा बस्यौँ । तेह्रचौध वर्षका जस्ता देखिने जापानी बालबालिकाहरू पनि चढेका देखिए ।

बिस्तारै हामी चढेको ट्रली एक तलामाथिबाट भवनको बाहिर निस्कियो र उकालो चढ्यो । बल्ल थाहा भयो यो अर्को रोलर कोस्टर रहेछ । पहिलो पटक चढेर कान समाएका हामी दुई भाइले पुलुक्क एकआपसमा हेर्यौँ ।

अङ्कित म त अब चिच्याउछु – मनमा एक डोको डर बोकेर मुख खोलें ।

किन दाइ ? – उनले प्रश्न हुत्याए मतिर ।

चिच्याउदा मानसिक सन्तुलन बिग्रँदैन अनि कान पनि गुम्म हुँदैन । – जवाफ फर्काएँ मैले ।

हामी उन्नान्असी मिटरको विश्व कीर्तिमानी उचाइमा पुग्यौँ । कोस्टर हिड्ने ट्रयाक पुलुक्क हेरेँ मैले । निकै उचाइमा देखियो । यस पटक मुटु पहिलाको जति काँप्दै काँपेन । आ जे त होला नि । गोर्खे मनले हिम्मत देखायो ।

टुप्पामा पुगेको कोस्टर तल माथि गर्दै बेगियो । तल जमिन हेरे सातोपुत्लो जाने निश्चित छ । नमज्जासँग चिच्याएँ म । आफू अगाडिको फलामे डन्डीमा दुई हातले अठ्याएको छु बेस्सरी । दौडने गति कम भए त ठिकै हो तर यसको वेग नै कहाली लाग्दो ।

दुई मिनेट जति दौडिएको कोस्टरको ट्रली पहिलाकै ठाउँमा आएर रोकियो । दुवै जनाले कान समात्यौँ । अब ज्यान गए पनि खेल्दै नखेल्ने ।

चहलपहल बढेको बढेकै छ । आउनेहरूकै बाहुल्य छ । होक्काइडोको चिसो हावाले भन्दा ओकिनावाको गर्मीले जितेको छ आज । दक्षिणको आकासमा हङकङतिरबाट आएको विमान हानेदा विमानस्थल ताकेर उडिरहेछ ।

 मानिसहरूको बाक्लो उपस्थितिले वरिपरिको जङ्गलमा बर्षौँदेखि आनन्दभोग गरिरहेका चराहरूको आवाज कानसम्म आइपुगेकै छैन । पूर्वतिरको माउन्ट ताखाओ फुजीको अग्लाइ र गर्मीको पेलाइले निरीह बनिरहेको लाग्छ ।

टोकियो संसारकै सुन्दर र सुरक्षित सहरमध्येको एक हो । त्यसैको पश्चिम दिशामा अटल भएर ठडिएको छ फुजी हिमाल । फुजी जापानीको सर्वोच्च धर्ती हो । यसको टुप्पमा जिदोउहानवाइकी पनि छ भनेर सुनेको थिएँ जापानी मिस साच्ची हिहाराका मुखबाट । अचम्म लाग्यो मलाई त्यस बेला ।

जापानी सर्वोच्च धर्तीका फेदमा उप्रेती र म सबथोक हेरिरहेछौँ विस्मय, थकान र आनन्द मिसिएका आँखाले टुलुटुलु । जापानीहरू सबथोकलाई उत्तिकै सम्मान र संरक्षण गर्छन् हृदयको कोरबाट । आफ्नो शरीरलाई कुनै पनि प्रकार पीडाको सिकार बनाउन नदिन पाइलैपिच्छे सचेत र सजग छन् यिनीहरू । कुनै पनि समस्यालाई तोकिएको समयभित्रै जरैदेखि उखेलेर फाल्ने र राम्रा अनि काम लाग्ने कुराहरूलाई त्यतिकै ध्यान दिएर जोगाउने काम जापानीहरूका निम्ति नौलो कुरा हुँदै होइन । एकले अर्कालाई दुःख दिनु पाप ठान्छन् यिनीहरू । वैयक्तिक स्वतन्त्रताको चीरहरण गर्नु जापानीहरूका आँखामा दुष्ट्याइँ हो । मनोरञ्जन गर्न आएका जापानीहरूका बोली र व्यवहार यी कुराबाट चुकेका छैनन् ।

आर्थिक हिसाबले जनता बलिया भए सरकार बलियो हुन्छ । सरकार बलियो भए विकासले गति लिन्छ । सरकार र जनता बलियो भए त्यस देशले अरूसँग गएर हात थाप्नु पनि पर्दैन । धनी देशले जे चितायो त्यो बनाएर देखाउँदो रहेछ ।

रोलर कोस्टरको ट्रलीभन्दा तीव्रगतिमा घुमिरहेछ मेरो मन ।

के सोचिरहनु भाको दाइ? – निकैबेरदेखि मौन बसिरहेको मेरो मुखको व्रत भङ्ग गर्न खोजे अङ्कितले ।

जापानका प्रगतिका कुरा सम्झिएँ अनायासै – सटीक जवाफ फर्काएँ मैले ।

बेलुका उक्काएको सडक बिहान पिच गरिसक्ने देशका के कुरा गर्नु । हाम्रा राजधानीका सडक सम्झिनु हुन्न र दाइ ? भत्काएको एक वर्षमा नि पिच हुँदैनन् ।

जापान सरकार आफूलाई जनताको सच्चा सेवक ठान्छ । हाम्रा शासक यस्तो ठान्लान् ? – मैले पनि उप्रेतीलाई यथार्थ जानकारी दिन कोसिस गरेँ ।

फुजी क्यु हाइलेन्ड असल सोचको परिणाम हो भाइ । नत्र यस चौरमा कसका पैसा धेर छन् र अरबौँ लगानी गर्नलाई – मुसुक्क हाँसे उनी मेरा कुराले ।

ट्याङ्कीमै अमृत भरेको देश अनि धारामा किन अमृत नै नझरोस् त – अझै कुरा थप्छु म ।

नजिकैको सानो पोखरीमा बोटिङ गर्यौँ हामीले । एउटा फरक किसिमको परिकार खाएजस्तो भो । बोटिङ गर्नुको मजै बेग्लै ।

यो रोहोटेपिङ पनि खेल्नुपर्छ दाइ – दक्षिण दिशातिरको भीमकाय रोहोटेपिङ देखाउँदै उप्रेतीले मुख खोले ।

मैले नखेल्ने भन्ने कुनै कारण नै थिएन ।

दुई भाइले खेल्यौँ रोहोटेपिङ ।

टोकियोको कोलाहलले थकित बनेका कानले यहाँ पनि विश्राम पाएनन् । मन र आँखाले आनन्द पान गरिरहेछन् अघाउन्जेल । कोठा, काम र कलेजको चक्रमा फसेको दिनचर्या आज उपस्थिति जनाई रहेछ फरक स्वाद बोकेर । फुजीको अग्लाइ र मनोरन्जनको अग्लाइ झन्डै बराबरी महसुस गरिरहेछु म ।

मुलुकको गतिशील अर्थतन्त्रका लागि यस्ता भौतिक संरचनाले अहम् भूमिका निर्वाह गरेका हुन्छन् नि भाइ – उप्रेतीको मौन व्रत तोड्न खोजेँ मैले ।

त्यो त हो दाइ- बिना टिप्पणी स्वीकृति जनाए उनले ।

तानाखा खाकुएइको आइडियाले जापानको अर्थतन्त्र ह्वात्तै माथि उकासियो । त्यसपछि त पैसैपैसा यस देशमा भाइ – उप्रेतीले मुन्टो हल्लाए मेरो कुरो सुनेर ।

प्रकृति र भौतिक संरचनाको मायाप्रीति कसिलो र अटुट देखियो फुजी क्यु हाइलेन्डको वरिपरि ।