June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार

रामपुरमा वातावरण सम्बधी प्रस्तुतीकरण तथा वृक्षारोपण कार्यक्रम

आज ५ जुन २०२६, विश्व वातावरण दिवसका अवसरमा चितवनको रामपुरमा वातावरण सम्बधी प्रस्तुतीकरण तथा वृक्षारोपण कार्यक्रम आयोजना गरी वातावरण संरक्षणको सन्देश प्रवाह गरिएको छ। ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नाराका साथ मनाइएको यस दिवसले वातावरण संरक्षणका लागि सामूहिक प्रयासको खाँचो औंल्याएको छ।

रामपुर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा सहरीकरण र वातावरण क्षेत्र मुख्य कार्यक्षेत्र रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) विशिष्टिकृत अनुसन्धान केन्द्र, बागमती प्रदेश र रामपुर माध्यमिक विद्यालयको संयुक्त आयोजनामा वातावरणीय सचेतना सम्बन्धी प्रस्तुतीकरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा विशिष्टिकृत अनुसन्धान केन्द्रका बरिष्ठ प्राबिधिक अधिकृत ई. बाबु राम के. सी.ले वातावरण, जलवायु परिवर्तन र त्यसका असरहरू र न्यूनीकरण गर्न वातावरण संरक्षणको महत्त्व बारेमा प्रस्तुतीकरण दिनु भएको थियो ।

प्रस्तुतीकरणको कार्यक्रम पछि बिद्यालयको  वातावरणलाई हरियाली बनाउने उद्देश्यले विद्यालय परिसर र वरपरको क्षेत्रमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक र नास्ट विशिष्टिकृत अनुसन्धान केन्द्रका कर्मचारी हरुले भविष्यको पुस्ताका लागि स्वच्छ वातावरण जोगाउनु हामी सबैको साझा दायित्व रहेको कुरामा जोड दिएका थिए। कार्यक्रमले वातावरण संरक्षणका लागि सबैजनाको  सक्रियता बढाउनुपर्ने सन्देश दिएको छ।