जुँगाको कविता

ल आउनुस् कुरा गरौँ जुँगाको
जुँगा भनेसि झट्ट कसको याद लाउँछ
अरूलाई आफ्नै बाबु–बाजेको याद आउँछ
मलाई जुँगामुठे नेताको याद आउँछ
कसैलाई उखुमै माया लाउँछ
जति काट्यो उति पलाउँछ
पलाएसि दिक्दार लाउँछ
हुनेले ताउ लाउँछ
नहुनेले के लाउँछ ?
कोरी कोरी तेल लाउँछ
उफ जुँगा पनि खाने ठाउँमै आउँछ
बेला बेला झ्याउ लाउँछ
काटेर फालिदिऊँ झैँ लाग्छ
काटेसि ऐना हेर्यो बिरक्त लाग्छ
घरी घरी रहर लाउँछ
जति काट्यो उति पलाउँछ
पलाएसि दिक्दार लाउँछ
कहिले रिस उठ्छ
कहिले आफैँलाई हेर्‍यो दया जाग्छ ।
……………………….
आखिर जे भेने नि
जुँगा भनेको जुँगै हुन्छ
कसैको पातलो हुन्छ कसैको बाक्लो हुन्छ
सुन्नेलाई लाग्दो हो
त्यस्ता जावो जुँगाको कविता कसले सुन्छ
सुन्नेले सुन्छन् सुन्नेले कान थुन्छ
तपाईँलाई थाह छ,
जुँगा कति प्रकारको हुन्छ ?
……………………….
ल हेर्नुस् जुँगाको प्रकार
जुँगाको लडाईं, जुँगाको प्रहार
पानपाते जुँगा, सनपाटे जुँगा
घिउचिप्ले जुँगा, तीनपिप्ले जुँगा,
पाल्पालीजुँगा, सिरपालीजुँगा
पोके जुँगा, बोके जुँगा
ताउले जुँगा, जाउले जुँगा
झ्याउले जुँगा, उत्ताउले जुँगा
प्याउले जुँगा, काउछे जुँगा
चार्लीजुँगा, कर्ली जुँगा
उखाने जुँगा, बखाने जुँगा,
बखते जुँगा, लखने जुँगा
असने जुँगा, लसुने जुँगा
लोभीजुँगा, भोगीजुँगा
फुकुटे जुँगा, सुकुटे जुँगा
तिखुरे जुँगा, लिखुरे जुँगा
ठुटे जुँगा, पानबुट्टे जुँगा
सुइखुट्टे जुँगा, दुई खुट्टे जुँगा
पाकपुके जुँगा, टाकटुके जुँगा
आखिर जे भेने नि जुँगा भनेको जुँगै हुन्छ
नखानेको पातलो हुन्छ, 
खानेको बाक्लो हुन्छ ।
…………………………
आँख्ले जुँगा, बाक्ले जुँगा
सुत्ले जुँगा, घुनपुत्ले जुँगा
पात्ले जुँगा, डाँक्ले जुँगा
कानठाडे जुँगा, नाकघोप्टे जुँगा
गोरुसिँगे जुँगा, रोटेपिँगे जुँगा
बाँङ्‍गेटिङ्‍गे जुँगा, जोईटिङ्ग्रे जुँगा
झिँगे जुँगा, सिँगाने जुँगा
कटेरी जुँगा, अटेरी जुँगा
टोकरी जुँगा, कोटरी जुँगा
सक्कली जुँगा, नक्कली जुँगा
फुर्के जुँगा, सुर्के जुँगा
झ्यापे जुँगा, आँपे जुँगा
लाहुरे जुँगा, चाउरे जुँगा
पिउरे जुँगा, तिउरे जुँगा
ब्याडे जुँगा, गलगाँडे जुँगा
डरलाग्दो जुँगा, रहरलाग्दो जुँगा
लबस्तरो जुँगा, जबरजस्तो जुँगा
पिलपिले जुँगा, तिलमिले जुँगा
झिलीमिली जुँगा, मिलीजुली जुँगा
टाकनटुकन जुँगा, टापनटिपन जुँगा
आखिर जे भेने नि जुँगा भनेको जुँगै हुन्छ
नखानेको पातलो हुन्छ, 
खानेकोे बाक्लो हुन्छ ।
…………………..
कर्कले जुँगा, सलसले जुँगा
कर्कसे जुँगा, सर्कसे जुँगा
लरखरे जुँगा, खरखरे जुँगा
सुलसुले जुँगा, फूलथुँगे जुँगा
तिखे जुँगा, बिर्खे जुँगा
बाफ्रे जुँगा, घोरताप्रे जुँगा
सुनपाप्री जुँगा, गोलकाँक्री जुँगा
लम्पट जुँगा, झम्पट जुँगा
बँधेरी जुँगा, पँधेरी जुँगा
उजाड जुँगा, पतझड जुँगा
लहलह जुँगा, कानपुरे जुँगा
तानपुरे जुँगा, तीनतिरे जुँगा
चारधुरे जुँगा, सरकारी जुँगा,
सत्कारी जुँगा, तस्करी जुँगा
स्टालिन जुँगा, स्टाइलिस जुँगा
वीरप्पन जुँगा, बडप्पन जुँगा
विपन्न जुँगा, सम्पन्न जुँगा
रसबरी जुँगा, लस्करी जुँगा
बाघे जुँगा, पाटे जुँगा
ताउ लाग्ने जुँगा, साहु लाग्ने जुँगा
कसैलाई खसखस, कसैलाई सकसक
आखिर जे भेने नि जुँगा भनेको जुँगै हुन्छ
जनताकोे पातलो हुन्छ 
नेताको बाक्लो हुन्छ ।
…………………….
कसैलाई त्यो जाबो जुँगा
मायालुलाई फूलको थुँगा
आखिर जे भेने नि जुँगा भनेको जुँगै हुन्छ
जनताकोे पातलो हुन्छ नेताको बाक्लो हुन्छ
त्यसैले त खाने मुखलाई जुँगाले छेक्दैन
सेटिङमा खाएको अख्तियारले देख्दैन
नीतिगत निर्णयलाई सतर्कताले छेक्दैन
जुँगाको महत्त्व नभए मैले नि कविता लेख्दैन
तपाईलार्ई लाग्दो हो
त्यस्ता जावो जुँगाको कविता कसले सुन्छ
सुन्नेले सुन्छन् नसुन्नेले कान थुन्छ
आखिर जे भेने नि जुँगा भनेको जुँगै हुन्छ
कसैलाई त्यो जावो जुँगा, 
मायालुलाई फूलको थुँगा ।
……………………