चिया र म

गर्मीमा तरर हुने गरी पसिना झरे पनि
म सिपसिप्याउँछु चिया
जीवन रस झैँ
जाडोको कुहिरोमा उष्ण स्पर्श दिन
बाल्यकालको मेरो काख सम्झाउने गरी
सुरूप्प पार्छु चिया ।
मेरो मनको मलिनतामा
यो बनेको छ मलम
रमाइलो गफमा
यो मिठासको सङ्गम
एकान्तको निस्तब्धता
भङ्ग गर्छ चियाले
साथीहरूको हाँसोमा थप्छ अर्थ
म अवाक हुन्छु
शब्द निस्किन्न चिया देख़्दा ।
आँगनमा बस्दा म मग्न हुन्छु त्यही स्वादमा
बिहानीको प्रथम किरणसँगै
चिया मेरो ध्यान बन्छ
मध्यान्हको थकाइमा
यसको न्यानो अङ्कमाल
लोभ्याउँछ त्यसको रगले मात्र पनि
लट्ठ बन्छु एक घुट्किले समेत ।
साँझपख त यो वियोगको शान्ति बन्छ
रातको निस्फिक्रीमा आत्माको सङ्गत जस्तै
चिया केबल पेय होइन
एक लय हो मेरो जीवनको
मेरो धडकनमा मिसिएको
मौन जस्तै
सायद मजस्तै
मौन तर प्यारो ।
यो प्रेम हो,
अनुहारविहीन, चरित्रविहीन, आकारविहीन,
तर हरेक घाम, हरेक छायामा,
म फेरि र फेरि बर्बराउँछु :
“चिया ! तिमीबिना अधुरो छु म ।”

लेखकको सम्वन्धमा