January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

आमा

गीता नहर्की

आमाको हात समाउँदै बाटोमा उफ्रँदै, बुर्कुसी मार्दै दुवै हातभरि लगाएका काँचका राता पहेंला चुरा छिन्द्रिङ छिन्द्रिङ बजाउँदै सुन्तला गेडी चकलेटको गुलियोसँगै आमाको मिठो मायाले फुरुङ्ग हुँदै बजारबाट फर्कंदै थिएँ । पल्लाघरकी दिदीले खै के–के कुरा गर्दै हुनुहुन्थ्यो । मेरी आमा र दिदी हाँस्दै म र बहिनीको खुसीमा मेरी आमाले संसारको सबै खुसी पाएको अनुभूति उहाँको आँखामा छर्लङ्गै थियो । म दगुर्दै थिएँ तर आँखा भने हातमा लगाएको चुरामा र हातचाहिँ टाउकोमा लगाएको पहेंलो रिबनमा । दिदीकी छोरी बहिनी देबकीको पनि खुसीको सीमा नै नाघेको थियो । हामी आमाको हात फुत्काएर नाच्दै दौडँदै थियौं । बाटामा आँखा नभएकाले बाटो देख्ने कुरै भएन । यत्तिकैमा आमा आत्तिएर कराउनु भयो ए…!


यत्तिकैमा आमाले मलाई जोडले अगाडि धक्का दिनुभयो । बहिनी र म बत्तिएर लड्यौं, चोट खासै लागेन, घाँसमा पल्टियौं । दिदी आत्तिएर कराउनुभयो, “लौ न नि दिदीलाई ठुँगिहाल्यो नि !” कत्ति हरियो हरेउ रहेछ । आमालाई हरियो सर्पले ठुँग्यो । हामीले रुँदै बुबालाई बोलाएर ल्यायौं । आमालाई बोकेर घर लगियो, प्राथमिक उपचार बुबा आफैंले गर्नुभएको थियो । गाँउभरिका मान्छेको भीड घरमा जम्मा भइसकेको थियो । घरदेखि २ घन्टाको दूरीमा सिएमए (डाक्टर) लाई खबर गरियो । नली खुट्टामा ब्लेडले चिरेर विष निकालियो । सर्प धेरै विषालु नभएकोले आमाको ज्यान बच्यो । आज सम्झन्छु– यदि त्यो हरेउको सट्टा विषालु सर्प भएको भए…! मेरो मायामा आमाको ज्यानै…! ओहो…! सम्झँदा जीउ नै सिरिङ्ग हुन्छ ।


नेपोलियन बोनापार्टले भनेका छन्– ‘तिमी मलाई एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु ।’ आमा त सधैं असल नै हुन्छिन् सन्तानका लागि । कुनै पनि पेसा व्यवसाय वा कठोर क्रियाकलाप नै गरेकी भए पनि आमा सन्तानको लागि भगवान्, जननी, सृष्टि र शक्ति हुन् । गर्भमा राखेर आफूलाई पीडाको पोखरीमा डुबाएर सन्तानको एक खुसीका लागि आफ्ना सयौं खुसीको बलि हाँसी हाँसी चढाउँछिन् आमाले ।


आजको मिति २०७७ साल वैशाख ११ गते आमाको मुख हेर्ने दिन मातातीर्थ औंसी । विश्व कोरोना भाइरसको आतङकबाट आतङकित छ । नेपाली आमाका विदेशी भूमिमा तड्पिएरहेका सयौं÷हजारौं छोराछोरी नेपाल फर्कने र आमालगायत परिवारसँगै बस्ने पर्खाइमा रहेका छन् । यस्ता सन्तानका हरेक आमाहरुलाई पनि सन्तानसँग छिट्टै भेट होस् भन्ने शुभकामना दिन चाहन्छु । नेपालका सबै आमाहरु पनि आफ्ना सबै सन्तानसँग सँगै हुनपाऊन् भन्ने प्रर्थना श्री पशुपतिनाथसँग गर्दछु ।


कोरोना कहरको यस विषम परिस्थितिमा विदेशी भूमिमा रहेका सबै सन्तानको याद नेपाल आमालाई पनि पक्कै आइरहेको छ । नेपाल आमाको आँसुलाई त्यसै बिलाएर जान नदिनका लागि र आफ्नी आमाको असल संस्कारलाई टिकाइराख्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई यस विषम परिस्थितिमा नआत्तिकन धैर्य गर्ने शक्ति मिलोस्, आत्मबल बढाइराख्नुहोस् र कुनै गलत निष्कर्षमा नगुग्नुहोला यो नै आमाको खुसीका लागि एक प्रयास हुनेछ ।


भनिन्छ नि संसारको सबैभन्दा धनी मानिस पनि आफ्नी आमाबिना गरिब नै हुन्छ । मन खोलेर रुनका लागि आमाको काख जति उत्तम ठाउँ अन्त कतै हुनै सक्दैन र पनि हामी छोराछोरी भौतिक सुखका लागि तँछाड मछाड गरिरहेका छौं । आफ्ना खुसीका निमित्त बुढा बा–आमालाई गाँउमा एक्लै छोडेर आफ्नो सन्तान र श्रीमतीसँग सहरमा बस्छौं । फर्केर हेर्दैनौं । ती आमाबुबाको मनमा के छ ? उहाँको खुसी केमा छ ? हामी त दौडिरहेछौं प्राप्त गर्न नसकिने असीमित खुसीका पछाडि जसको कुनै अन्त्य छैन । भएको संसार रुवाएर नयाँ संसारको भ्रमण गर्न लागेका छौं । हाम्रो संसारलाई हामीले वृद्धाआश्रममा पुर्‌याएका छौं । जहाँ हाम्रा बुढा बा–आमाको आँसु, छिचोलिएको मन अनि कचपल्टिएको मुटुमा उनका सन्तान मात्र बाँकी छन् । सन्तानको खुसीका लागि अझैं सयौं चित्कार र चोट उक्त मुटुले हाँसी–खुसी सहन तयार छ ।


आफ्ना बा–आमालाई एक्लै छोडेर सहरी भीडमा पहिचान बनाउन निस्केका हामी सन्तान अब आफूले आफैंलाई नचिन्ने भैसक्यौं । हामी सन्तान पैतृक सम्पत्तिमा दाबा गर्ने र तिनै पितृ भइसकेका बा–आमाको खुसीको ख्याल नराख्ने नालायक सन्तानहरुलाई कुनै हक छैन कि एक दिवसीय गेमजस्तो एक दिनको लागि दुनियाँलाई देखाउनैका लागि फेसबुकको भित्ता रंगाउने ! सक्छौं भने आमाबुबाका लागि मिठो वचन गरौं, सँगै बसेर उहाँका लागि समय व्यतित गरौं ! हाम्रा हरेक दिन बुबाआमालाई जान्छ । प्रसव पीडा सहेर जन्माउने आमाले अमृतधारा दुध पिलाएर हामीलाई जीवन दिनुभएको छ । आँसु धारा पिएर बुबाले हामीलाई संस्कार र कर्म दिनुभएको छ । हामी सधैँ बुबाआमाका ऋणी छौं । भगवान् सबैतिर हुन नसकेर उनले आमा बनाएका हुन् । हाम्रा भगवान् पनि हाम्रा आमा बा नै हुन् । आमाको अन्तरआत्मामा सन्तान सधैं छौं, त्यसैले आफू बसेको आत्मालाई जलाउने काम नगरौं । जस्तोसुकै परिस्थितिमा पनि हामी श्रवणकुमार बन्न सकौं ।


जय मातृ दिवस ! जय जननी !! जय नेपाल आमा !!! जय हाम्री आमा !!!