मानवताका प्रतिमूर्ति – स्वामी रामकृष्ण परमहंस

स्वामी रामकृष्ण परमहंस बङ्गालका एक महान् सन्त हुनुहुन्थ्यो । उहाँ वर्तमान कलकत्ताको प्रसिद्ध दक्षिणेश्वर काली मन्दिरका पुजारी पनि हुनुहुन्थ्यो । काली मन्दिरमा धेरै पुजारीहरू आए गए तर आजसम्म पनि स्वामी रामकृष्ण परमहंसको प्रसिद्धिले बङ्गालका गल्लीगल्ली गुञ्जायमान् छन् । भनिन्छ स्वामी रामकृष्ण परमहंससँग माता काली आएर बोल्नुहुन्थ्यो अरे, तथा उहाँले अर्पण गरेको प्रसाद पनि भोग गर्नुहुन्थ्यो । ईश्वरप्रतिको उच्च भक्तिका साथसाथै व्यावहारिक आदर्शमा पनि स्वामीजी धनी हुनुहुन्थ्यो । संसारभर प्रसिद्ध हिन्दु धर्मका महान् सन्त स्वामी विवेकानन्दजी पनि यिनै स्वामी रामकृष्ण परमहंसका शिष्य हुनुहुन्थ्यो । स्वामी रामकृष्ण परमहंसको परम नैतिकता, ईश्वरीय भक्ति एवं व्यावहारिक आदर्शका कारण विवेकानन्द आफ्ना गुरुलाई ईश्वरका अवतार नै मान्नुहुन्थ्यो ।
स्वामी रामकृष्ण परमहंसका बारेमा यौटा आख्यान अधिक प्रसिद्ध छ– रामकृष्ण परमहंसजीसँग उपदेश लिन दैनिक धेरै विद्यार्थीहरू उहाँको मठमा आउँने गर्थे । स्वामीजी उनीहरूलाई शास्त्रसम्बन्धी व्यावहारिक मूल्यमान्यताहरू अत्यन्त सरल भाषामा सिकाउँनुहुन्थ्यो । यसरी उहाँका मठमा धेरै विद्यार्थीहरू आएको ती विद्यार्थीका बाबुआमालाई मन पर्दैनथ्यो । कति बाबुआमाहरू त रामकृष्ण परमहंसलाई आफ्ना छोराछोरी बिगार्ने बदमाससम्म मान्थे । यस्तैमा एकदिन रामकृष्ण परमहंसलाई कुनै एक विद्यार्थीका अभिभावकले अपमानका साथ भुँइ सफा गर्ने जीर्ण कपडा दानमा दिए । त्यो देखेर मठमा धेरैलाई नराम्रो लाग्यो । तर स्वामी रामकृष्ण परमहंसले प्रेमभावले त्यो कपडा ग्रहण गर्नुभयो । कपडालाई पानीले धोएर सुकाई कपडालाई उधारेर धागो निकाली त्यसको बत्ती बनाई माता कालीलाई सन्ध्याको दीप बाल्नुभयो । त्यो देखेर सबै विद्यार्थी अचम्मित भए । आफ्ना गुरुलाई गरिएको त्यस्तो अपमानलाई पनि उहाँले यसरी प्रेममा परिणत गरेको देखेर सबैलाई गर्वको महसुस पनि भयो ।
स्वामी रामकृष्ण परमहंसले आफ्ना शिष्यहरूलाई उपदेश दिँदै भन्नुभयो – “सारा संसार नै भगवान्को हो । यस संसारमा हाम्रो भन्नु केही पनि छैन । कसैले दान दिँदा त्यसलाई पनि ईश्वरीय अनुग्रह मानेर ग्रहण गर्नु नै सदाचार हो । यदि त्यो कपडा दान दिँदा उनीहरूको मनमा अपमान वा दुर्भावा भए त्यसको फल उनीहरूलाई नै लाग्छ । म त ईश्वरको भक्त हुँ र कसैले मलाई दिएको दानमा श्रद्धाभाव खोज्नु मेरो कर्तव्य हो ।”
स्वामी रामकृष्ण एक योग्य गुरु हुनुहुन्थ्यो । उहाँको गुरुभाव अन्त्यन्त विशाल थियो जसकारण उहाँका शिष्यहरू स्वामी विवेकानन्द, स्वामी अभेदानन्द जस्ता महान् सन्तहरू हुन सके । उहाँका शिष्यहरूमा पनि आफ्ना गुरुझैँ मानवतावादी सोँच भरिपूर्ण थियो । सम्पूर्ण मानवसमुदायलाई एक परिवारसमान मैत्रीभावले हेर्नुपर्ने, सदाचार, विश्वबन्धुत्व एवं परस्पर प्रीतिलाई धर्मको आधार मान्ने स्वामी रामकृष्ण परमहंस चिरकालसम्म स्मृतिमा रहिरहनुहुनेछ ।

लेखकको सम्वन्धमा