March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

साना नानीहरूका लागि खेलको आवश्यकता

गिता नहर्की (डल्लाकोटी)

जीवन एक भ्रुणको रूपमा जब आमाको गर्भमा सुरु हुन्छ, एक स्वस्थ बालकको जन्मका लागि आमाको स्वस्थपूर्ण बानी, व्यवहार, खानपानका साथै शारीरिक व्यायाम र क्रियाकलापहरूको भूमिका उक्त पेट (गर्भमा) रहेको जीवनका लागि अपरिहार्य हुन्छ । आमाले गरेका हरेक शारीरिक, मानसिक क्रियाकलाप, खानपानले उसको बच्चा कति स्वस्थ जन्मन्छ भन्ने कुराको सहज आँकलन गर्न सकिन्छ । त्यसैले त आमा स्वस्थ, जाँगरिलो र हँसिलो भएको खण्डमा सकारात्मक सोच राख्दै हल्का शारीरिक र मानसिक व्यायाम गरेकी छिन् भने बच्चा जन्मिसकेपछि पनि उक्त प्रकारका आर्जित गुणहरू सँगसँगै लिएर हुर्कन्छ ।

मनोवैज्ञानिक हर्लकअनुसार बालकको जन्म पछि २ चरणमा बाल्य अवस्थालाई बाँडिएको छ । जसमा पूर्वबाल्य अवस्था २–६ वर्ष र उत्तरबाल्य अवस्था ६–११र१२ वर्ष सम्मको लाई मानिएको छ । बाल्यअवस्था स्वभावले नै निकै चञ्चल, जिज्ञासु र क्रियटिभ हुन्छन् । साना नानीहरूको आनिबानी बुझ्न तिनको मनोविज्ञान थाहा पाउनु पनि जरुरी हुन्छ । बालबालिका पेटमा हुँदा कसरी हुर्किए भन्ने कुराले जति धेरै महत्त्व राख्दछ त्यो भन्दा पनि धेरै तिनिहरू जन्मपछाडि कस्तो वातावरणमा हुर्कन्छन् भन्ने कुराले महत्त्व राख्दछ । बालबालिकाका घरपरिवारको वातावरण कास्तो छ ? बानीव्यबहार, कस्तो सङ्गत कस्तो संस्कार र सभ्यता उसले परिवारमा प्राप्त गर्दछ सोही अनुरूप उसमा भावी जीवनका लागि जग बसाल्ने र त्यसको गाह्रमा ईंटा थपिँदै जाने हुन्छ ।

बालबालिकाहरू स्वभावले नै पुस्तक पढ्न, कुनै बन्धनमा बाँधिनभन्दा खेल खेल्न बढी रुचाउँछन् । खेल खेल्नाले बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा सामान्यभन्दा बढी सहयोग पुर्‌याउँछ । शरीर, मन र मस्तिष्कबिचको तादम्यता कायम राख्दै बालबालिकामा असल संस्कार, अनुशासन, सहनशीलता र धैर्य जस्ता असल गुण विकास गरी शरीरलाई पनि सँगसँगै स्वस्थ र बलियो बनाउन खेल बराबरको कुनै अरू अस्त्र हुनै सक्दैन र यसको अरू कुनै विकल्प हुनै सक्दैन ।

खेल खेल्ने बानीले बालबालिकाको शारीरिक मानसिक बृद्धि विकासका साथै औपचारिक शिक्षामा पनि अपरिहार्य भूमीका निर्वाह गर्दछ । घर तथा विद्यालयमा नानीहरूलाई खेल वातावरण भन्नु या बालमैत्री वातावरण निर्माणका लागि पनि उमेर अनुसारका खेलको धेरै महत्त्वपूर्ण स्थान छ । कतिपय अवस्थामा छोराछोरीका लागि खेल सामग्रीहरू जम्मा पारिदिँदा पनि बच्चाहरूले खेल खेल्न नरुचाउन सक्छन् किन कि खेल र खेलसामग्री पनि बच्चाहरूको उमेर सुहाउँदो हुन नित्तान्त जरुरी छ ।

१–२ वर्षका नानीहरूका लागि खेलहरू :

  • चाचा बाजा र विभिन्न स्थानीय खेलौनाहरू खेलाउने ,
  • नरम फल, बल फाल्न लगाउने ,
  • झ्यालढोका खोल्न बन्द गर्न लगाउने ,
  • घरका चिजविजहरू झिक्न राख्न लगाउने ,
  • फूल टिप्न, माला बनाउन, लगाउन, खोल्न लगाउने ,
  • कथा भन्न, बनाउन, सुन्न लगाउने ,
  • नाच्न, तालिबजाउन, चिजबिज जम्मा गर्न, भत्काउन लगाउने,
  • सँगसंगै हिड्न, दौडन सिकाउने ,

२–३र५ वर्ष सम्मका नानीहरूका लागि खेल :

  • विभिन्न आकार प्रकारका कागजहरू पट्टयाउन, बनाउन लगाउने वा ओरिगामीहरू बनाउन लगाउने,
  • रङ्गिन पेपर काट्न, विभिन्न आकार प्रकारमा पट्टयाउन लगाउने, विभिन्न आकार प्रकारका ओरिगामीहरू बनाउन सिकाउने ।
  • बस्तुहरू छुन, चिन्न र नाम भन्न प्रयोग गर्ने खेल खेलाउने ,
  • साना कामको भूमिका निर्वाह गर्ने, नाटकको पात्र बनाएर खेल खेलाउने ,
  • समूह बनाएर गट्टा, ढुङ्गा र फूल गन्न लगाउने खेल खेलाउने ,
  • डोरी, सिन्का ढुङ्गा माटो वा अन्य स्थानीय सामग्रीहरू जम्मा पारेर घर गोठ जस्ता आकार प्रकार र मोडलहरू तयार गर्न लगाउने ।
  • पात बजाउन, बाँसुरी, मुरली फुक्न लगाउने ,
  • बालबालिकाहरूलाई प्राकृतिक वातावरणमा रमाउन दिँदै र वातावरणसँंग नजिक्याउने,
  • ठूला व्यक्तित्वसँंग तुलना गरेर भूमिका खेलाई खेलाउने ।

७र८ वर्ष माथिका बालबालिकाका लागि खेलहरू :

  • साथीसमूहमा खेल खेल्न लगाउने, जस्तै :– रिले, म्युजिकल चियर, मेरो सहर, गेमबल, भलिबल, बास्केटबल, कबड्डी, खो खो , ब्याडमिन्टन, टेबल टेनिस र अन्य खेलहरू ……..,
  • लक्कुढलाई, पौडी, सानो र ठूलो दुरीका दौडहरू र अन्य प्रतिस्पर्धात्मक खेलहरू ,
  • विभिन्न सिपमूलक खेलहरू जस्तै :– क्यारेमवोर्ड, चेस, काट्ने, बुन्ने, हिसाब गर्ने, नाचगान, कथा, कविता, घोडाचडी, धनुषबाण हान्ने, मुक्काबाजी जस्ता अरू धेरै खेलहरू ।

बाल्यकालमा खेलिने यस्ता खेलहरूले शरीरको तौल, उचाइ र अन्य अङ्गप्रत्यङ्गको आवश्यक मात्रामा वृद्धि विकास भइरहेको हुन्छ भने समन्वयात्मक ढङ्गले मानसिक विकास पनि भइरहेको हुन्छ । यस्ता बालमैत्री खेल र सिपहरूले बालबालिकाहरूमा देहायका फाइदाहरू पुर्‌याइरहेका हुन्छन् ।

  • छिटो र सही निर्णय लिन सक्ने खुवीको विकास गर्छ ।
  • शरीरमा प्रशस्त मात्रामा रोगप्रतिरोधात्मक क्षमताको विकास गर्छ ।
  • स्वस्थ र स्फूर्त जीवनशैली र आत्मविश्वास प्राप्त हुन्छ ।
  • शरीरिक, मानसिक र सामाजिक सक्रियता वृद्धि हुन्छ ।
  • हड्डीको वृद्धि राम्रोसँग हुन्छ ।
  • शारीरिक क्रियाकलाप गरेपश्चात थकान र निन्द्रा पनि राम्रोसँग लाग्छ ।
  • विभिन्न तनाव, चिन्ता र समस्याहरूको व्यवस्थापनमा सहयोग गर्दछ ।
  • शारीरिक र मानसिक परिश्रम गर्न सक्षम बनाउँछ ।
  • व्यक्तिलाई धैर्य, आत्माविश्वासी, सहयोगी, मितव्ययी, अनुशासित र लगनशील बनाउँछ ।
  • सिर्जनात्मक र सकारात्मक सोच भएका सिप प्रदर्शन गर्न सक्ने सक्षम नागरिक बन्नमा सहयोग गर्दछ ।
  • विभिन्न सरुवारोग र दीर्घरोग लाग्नबाट जोगाउँछ ।

उमेरअनुसारका खेल क्रियाकलाप साना नानीहरूका लागि जति उपयोगी छन् प्रौढ र वृद्धअवस्थामा पनि त्यसको आवश्यकता र प्रभावकारिता त्यतिकै उपयोगी रहन्छ । चाहे जुनसुकै उमेर समूह होस् शारीरिक व्यायाम, योग, ध्यानजस्ता क्रियाकलापहरूले व्यक्तिलाई सुनौलो अकल्पनीय अनुभूति दिन्छ भने व्यक्तिलाई स्वस्थ, तन्दुरुस्त र खुसी राख्नमा पनि कुनै प्रकारका कमी रहदैन । बरु यस्ता व्यायाम र क्रियाकलापले व्यक्तिमा अकल्पनीय ऊर्जा प्रदान गर्दै जुनसुकै परिस्थिति र परिवेशमा पनि समायोजन हुनसक्ने ज्ञान प्रदान गरी व्यक्तिलाई स्वाभिमानी, निस्वार्थी, प्रतिवद्ध र उच्च विवेकी महामानव बन्न निर्देशित गर्दछ ।