नयाँ वर्ष
नेपालको नयाँ वर्ष वैशाख महिनामा पर्दछ । नेपालमा वैशाख महिनाको विशेष महत्त्व रहेको छ । यस महिनामा प्राकृतिक सौन्दर्य बढेको हुन्छ । प्राकृतिक सौन्दर्यले मनमा उमङ्ग बढाउँछ । नयाँपन, नयाँ अनुभूतिको आभास हुन्छ । यस महिनामा फूललगायत विभिन्न बोटबिरुवाहरु पनि सप्रिएका देखिन्छन् । चराचुरुङ्गीको आवाजले अर्कै आनन्द दिन्छ । कोइलीको ‘कुहु’ आवाज सुन्दा मनै रमाउँछ ।
मैले भदौ–असोजतिर रोपेका फूलका बिरुवा जनवरी अर्थात् विश्वको नयाँ वर्षमा हेरेँ । ठिहिर्याउने चिसाले तिनलाई सकेको रहेछ । एकदुईओटा पहेँला पात देखिए । धेरै पात त झरिसकेका रहेछन् । बिरुवा बढ्न पनि सकेका हरेनछन् । मेरो मन नै दुख्यो । ती नै फूल वैशाख महिनामा हेर्दा मैले अर्कै आनन्द पाएँ । फूलका बोटमा हरिया र चिल्ला पात रहेछन् । बेटैभरि फूल ढकमक्क फुल्दा अर्कै सौन्दर्य देखियो । वरपरको वातावरणमा अर्कै उमङ्ग थियो । बाटामा लालीगुराँसका थुँगा बोकेर हिँड्नेहरुको कमी थिएन । टेलिभिजन र पत्रपत्रिकामा पहाड लालीगुराँसले रातै भएका दृश्य देखिए । म यस समयमा पहाड पुगेकी छैन । मलाई पहाडमा गएर लालीगुराँसका बुटामा फोटा खिच्न मन भयो । सायद यो मेरो मात्र अनुभूति होइन । अरुलाई पनि यस्तो लाग्दो होला । यस दिन पनि सधैँजस्तै उही घाम उदायो । उही घाम अस्तायो । दिन उस्तै रहे । तर पनि कता कता त्यही दिनमा, घाममा अनि साँझमा पनि नयाँ उमङ्ग भरिएको थियो । त्यस दिनले, त्यस घामले अर्कै नयाँपनको आभाष गराउँदो रहेछ । यसरी हरेकलाई नयाँ उमङ्ग दिने वैशाख साँच्चै हाम्रो नयाँ वर्ष हो ।
२०७७ सालको नयाँ वर्ष त्यति उमङ्ग भएन किनभने यस पटक हामीले नयाँ वर्ष मनाउँन पाएनौँ । हामीलाई कोरोनाले दुःख दियो । तर नयाँ वर्षलाई त्यसले केही असर गरेन । यस वर्ष पनि नयाँ वर्ष सधैँको जसरी नै आयो । बध्यताले गर्दा हाम्रो मन भने अलि खल्लो भयो । तर पनि छिट्टै लकडाउन खुल्ला, विद्यालय जान पाइएला र नयाँ साथीहरुसँग कुरा गर्न पाइन्छ भन्ने आशाले नयाँ उमङ्ग भने भरि नै रह्यो ।
साँच्चै विचार गरेर नेपालले वैशाखलाई नयाँ वर्ष बनाएकोमा मलाई खुसी लाग्यो । अनि मलाई म यसै देशमा जन्मिएर वैशाखलाई नयाँ वर्ष भन्न पाउँदा झनै खुसी लाग्यो ।
लेखकको सम्वन्धमा