September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

अनन्त प्रेम

शौरव शर्मा

आकृति आँखाले होला हेर्यो या स्विकार्यो मनले
विस्मृति शृङ्गार मुटुले गर्यो सँगाल्यो मनले
हृदयभित्र आकृति बस्छ बोली र वचनको
सादगी जुनी छ प्रिय मलाई पवित्र विचारको ।

लागेथ्यो डाहा गुलाबलाई फुलेको तपाईं
भएथ्यो फिका त्यो रातो रङ्ग फक्रेको तपाईं
लागेथ्यो डाहा त्यो जुनलाई धपक्क तपाईं
भएथ्यो फिक्का सूर्यको तेज उज्यालो तपाईं ।

हे प्रिय ! जादु आँखामा थियो कि थियो मुहारमा
हे प्रिय ! जादु हेराइमा थियो कि थियो नयनमा
त्यो प्रिय ! स्वर्ग बनेथ्यो पृृथ्वी झरेथे अप्सरा
हे प्रिय ! मुटु धड्केथ्यो जोडले झरेथे अप्सरा ।

हराए हुन्थ्यो सिसाको ऐना त्यो ऐना हजुर्कै
नजर मिल्दा नजरसँग झल्किन्थ्यो मुहार
हे प्रिय ! हेर्दा नजर मेरा मुहार हजुर्कै
छल्कन्थे मेरा नयन प्रिय मुहार हजुर्कै ।

मनको भाव मुहारमा पोती हेरदा हे प्रिय !
आँखाका आँसु वियोगी आँसु आँखैमा हे प्रिय !
मनको पीडा वियोगी पीडा मनैमा हे प्रिय !
आत्मीय प्रेम पवित्र प्रेम आत्ममै हे प्रिय !

मनले बिर्स्यो पुरानो चित्र आकृति उडिगो
खोजेर चित्र पुराना दृश्य नजर प्यासो भो
समय वैरी बनेर आयो सम्झना बिर्सायो
समय वैरी सम्झना राखी विमानमा चलिगो ।

त्यो प्रिय प्रेम मनका कुनै कुनामा बसेको
त्यो प्रिय प्रेम बनेर सास फोक्सोमा बसेको
त्यो प्रिय प्रेम धड्कँदा मुटु मुटुमै बसेको
गहिरो खत बनेर प्रेम दिलमा बसेको ।

यो वैरी वायु चुम्दछ गाला पसेको तनमा
यो पानी पसी तनमा मेरो छुँदै छ मनमा
प्रकृति स्थिर प्रेममा मन स्थिर छ भएको
अडियो पृथ्वी समय ठप्प स्थिर छ भएको ।

अनन्त प्रश्न उड्दै र बग्दै अनन्त मनमा
अनन्त उत्तर खोज्दै र डुल्दै डुबेछु आफैँमा
अनन्त प्रश्न उत्तर एकै आस्था र भक्ति प्रेम
बाटो हो भक्ति, मनको आस्था, ईश्वरमाथि प्रेम !