March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

सपनाको सन्देश

प्रतिभा खनाल
कक्षा : १०
श्री रत्न मा.वि. सोल्मा, तेह्रथुम

‘सरकार पनि कस्तो निर्णय गर्छ, लकडाउन अरे ! अब के हामी घरबाट बाहिर पनि ननिस्कनु ? म त घुमघामतिर पो जान्छु । अफिस पनि खुल्दैन क्यारे !’ भन्दै हरिलाल टिभी बन्द गर्छ र श्रीमतीलाई हावा खान गएको भन्दै बाहिर निस्कन्छ । श्रीमतीले रोक्ने प्रयास गर्छिन्, “नजानू लकडाउन हो ।” हरिलालले भन्यो, “ह्याँ केही पनि हुँदैन ।”


हरिलाल बजार पुग्छ । बजार सुनसान देख्छ अनि मनमनै सोच्छ, “यी मान्छेहरू कति डराएका होलान् । लकडाउन भन्दैमा घरबाटै पो बाहिर निस्कन छाडेछन् ।” ऊ चिया पसलमा गएर साहुनीलाई “एक कप चिया ल्याउनू ल्याउनू साहुनी” भन्छ । साहुनी चिया ल्याएर टेबलमा राख्दै भन्छिन्, “बाबु, तपाईंचाहिँ किन घरबाहिर निस्कनुभएको नि; सरकारले लकडाउनको घोषणा गरेपछि पनि ।”


हरिलाल बेवास्ता गर्दै भन्छ, “ह्या साहुनी, सरकार घोषणा गर्दै गर्छ नि । बाहिर निस्कँदैमा के नैपो हुन्छ र ।”


“कहाँ त्यसरी हुन्छ र बाबु ! यो निर्णय सरकारले हाम्रै लागि त गरेको हो नि । आज तपाईंबाहेक कोही पनि चिया खान आएका थिएनन् । आज मेरो विशेष काम थियो र मात्र पसल खोलेको । अब त म पनि पसल बन्द गर्छु ।”


“साहुनी, तपाईं पनि कति डराउनुभएको होला । केही पनि गर्दैन त्यो कोरोनाले हामीलाई । चाइनाबाट सुरु भएको रे, होइन ? त्यहाँ त निको भइसके । सङ्क्रमित नै नभेटिएको कति दिन भैसक्यो भन्छन् ।”


“कस्तो कुरा गर्नुहुन्छ बाबु ! चाइनामा त प्रविधि छ, देश विकसित छ, नागरिक अनुशासित र सचेत छन् र पो नियन्त्रण गरे तर हाम्रो देश कहाँ त्यस्तो छ र ! हाम्रा देशको त कुरै छाडिदिनुहोस् न । अमेरिकाजस्तो विकसित देशमा त नियन्त्रण हुन सकेको छैन । बरु अझ विकराल रूप लिँदै छ । सबैभन्दा बढी सङ्क्रमितहरू त त्यही देशमा छन् ।”


“जेसुकै होस् साहुनी, म त घरभित्र मात्र थुनिएर बस्न त सक्दिनँ । अब म जान्छु है साहुनी । विदेशबाट साथी आउने कुरा थियो । भेटेर आउँछु । कति वर्षपछि आएको कसरी नभेटी जानु ।”
“बरु नजानु नि । विदेशबाट आएका मानिसमा कोरोनाको सङ्क्रमण हुनसक्छ ।”


“केही पनि हुँदैन साहुनी । तपाईं पनि कस्ता कुरा गर्नुहुन्छ । यतिका वर्षपछि बल्ल आएको साथीलाई पनि ‘भेट्न नजा’ भन्नुहुन्छ ?”


“खै तपाईंसँग पनि के कुरा गर्नु र !”


हरिलाल साथीको घर पुगेर भन्छ, “हैन रामु अहिलेसम्म घर आइपुगेको छैन ? कि मिठाइ दिनुपर्छ भनेर लुकेको ?”


रामुकी आमा लट्ठी टेक्दै आएर भन्छिन्, “रामु त एक्लै बसेको छ रे बाबु ! अब चौध दिनपछाडि मात्र घर आउँछ रे ।”


त्यतिकैमा ‘काका नमस्कार !’ भन्दै रामुकी छोरी पवित्रा भन्छिन्, “बाबा क्वारेन्टाइनमा बस्नुभएको छ रे । यदि बाबालाई कोरोनाको सङ्क्रमण रहेछ भने त हाम्रो गाउँमा नै कोरोना फैलन कति पनि समय लाग्दैन । त्यसैले बाबा क्वारेन्टाइनमा काठमाडौँमा नै बस्नुभएको छ रे ।”


“खै तिमीहरू सबैजना किन डराएका होलाऊ, म त बुझ्नै सक्दिनँ । हामीलाई केही पनि हुँदैन ।”
“त्यसो भनेर कहाँ हुन्छ र काका ? हामीले सरकारले दिएको निर्देशन पूर्ण रूपमा पालना गर्नुपर्छ र आफै सुरक्षित रहनुपर्छ ।”


“ल ! ल ! मचाहिँ घरतिर लागेँ नानी, तिम्रो बाबा पनि आएको रहेनछ ।”


हरिलाल घर पुगेर थ्याच्च खाटमा बसेर ढल्कन्छ अनि सोच्छ, “यी मानिसहरू किन यति धेरै डराएका होलान् !” यत्तिकैमा ऊ भुसुक्क निदाउँछ । केही समयपछि ऊ बरबराउँदै काहालिँदै व्युँझन्छ । श्रीमती आत्तिदै ‘के भयो हजुर !’ भन्दै आउँछिन् ।


हरिलाल लामो सास फेर्दै निधारको पसिना पुसेर भन्छ, “धन्न सपना मात्र रहेछ !” ऊ छेउमा रहेको बोतलबाट घटघट पानी पिउँछ ।


श्रीमती सोध्छिन्, “के देख्नुभयो त्यस्तो सपना ? कहालिँदै उठ्नुभयो त ।”


हरिलाल त्रसित मुद्रामा श्रीमतीलाई सपना सुनाउन थाल्छ, “म मेरो साथी रामुलाई भेट्न गएको रहेछु । रामुले पनि धेरै वर्षपछाडि विदेशबाट घर फर्किएको भनेर गाउँका सबै साथीभाइलाई पाटी दिने विचार गरेछ । सबै जना भोजमा भेला भएछन् । रामु विदेशबाट आएर क्वारेन्टाइनमा नबसी भागेर घर आएको रहेछ । उसलाई कोरोनाको सङ्क्रमण भएको पत्तै रहेनछ । भोजमा आउने सबै मानिसहरूले उसलाई बधाई र शुभकामना दिन थाले । कसैले हात मिलाए भने कसैले अँगालो मार्न थाले । पाटी सकिएर सबै घर फर्किए । पाटीमा आएका मानिसहरूमा केही दिनपछाडि ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने जस्ता विभिन्न समस्याहरू देखापर्न थाले । उनीहरू कुनै सावधानी नअपनाई आफ्ना कार्य गरिरहे । त्यसपछि त्यस्तै लक्षण एक व्यक्तिबाट अर्को व्यक्ति हुँदै परिवार, समाज सबैतिर नै देखापर्न थाल्यो । वास्तवमा ती लक्षणहरू कोभिड–१९ अर्थात् कोरोना भाइरसका रहेछन् । सबै मानिसहरू थलापर्न थाले । समाज नै सबै ग्रसित भएकाले कसैले पनि कसैको हेरचाह गर्न सकेनन् । एकपछि अर्को गर्दै हाम्रा गाउँमा सबै मानिसहरू भकाभक मर्न थालेपछि ती लास उठाउने मानिस पनि कोही भएनन् । त्यसपछि ती लास त्यहीँ कुहिन थाले । हाम्रो गाउँमा सबै मान्छे मरे तर त्यो मसानघाटजस्तो ठाउँमा म मात्र कोरोना सङ्क्रमित भएर पनि बाँकी रहेँ । त्यसैले म काहाल्लिएर व्युँझेछु । धन्य भगवान् ! यो सपना मात्र रहेछ ।”


“मैले त भनेको हो नि तपाईंलाई बाहिर ननिस्कनू भनेर । अब त तपाईंका आँखा खुले होला नि । सरकारले गरेका निर्णय र निर्देशनहरू हाम्रै लागि हुन् ।”


“तिमीले ठिक भन्यौ । कोरोना भाइरसबाट बच्न लकडाउनलाई पूर्णरूपमा पालना गर्नैपर्ने रहेछ । अब म मेरा सम्पूर्ण साथीभाइहरूमा यसबारे चेतना जगाउँछु ।”


“के तपाईं फेरि बाहिर निस्कन लाग्नुभयो ?” श्रीमतीले सशङ्कित हुँदै भनिन् ।


“हैन, सामाजिक सञ्जालमार्फत म सबैमा चेतना जगाउने काम गर्छु ।” हरिलालले प्रस्ट पार्यो । यसपछि हरिलाल सामाजिक सञ्जालमार्फत कोरोनाका विरुद्ध जनचेतना जगाउने एक अभियन्ताका रूपमा देखियो ।