कोरोना भाइरस
आजको विश्व कोरोना भाइरस अर्थात् कोभिड–१९ ले त्रसित छ । यही विषयलाई लिएर आफ्ना विचारहरू अभिव्यक्त गर्न लागिरहेकी छु ।
आज कोरोना भाइरसका कारण विश्व ठप्प रोकिएको छ । जताततै यसकै चर्चा छ । यसका धेरैजसो नराम्रा पक्षहरू छन् । नराम्राका माझमा राम्रो भएजस्तै कोभिड–१९ का पनि केही राम्रा पक्ष देख्न सकिन्छ ।
कोरोना भाइरस नेपालको छिमेकी देश चीनको वुहानबाट निस्किएको हो । यो एक किसिमको सरुवा रोग हो । यस रोगबाट लगभग एकलाख मानिसले ज्यान गुमाइसकेका छन् । यस भाइरसबाट सङ्क्रमित हुनेको सङख्या आजसम्ममा सोह्र लाख नाघेको छ । यसको फैलँदो क्रम रोकिएको छैन । त्यसैले हामी पनि हरदम डराएका छौँ । कतै यसले हामीलाई पनि सताउने पो हो कि भन्ने चिन्ता हामीलाई छ ।
कोरोना भाइरसलाई हामी हाम्रा आँखाले देख्न सक्दैनौँ । यसबाट देखिने लक्षणलाई भने चिन्न सक्छौँ । एकसय दसमलब चारभन्दा बढी ज्वरो आउने, खोकी लाग्ने, हाछ्युँ आउने, सास फेर्न गाह्रो हुने आदि यसका मुख्य लक्षण हुन् । यस्ता लक्षण देखिना साथ हामी होसियार हुनुपर्छ । डक्टरको सम्पर्कमा जानुपर्छ । डक्टरको सल्लाहअनुसार काम गरे हामी यस सरुवा रोगाबाट बच्न सक्छौँ । चीनमा कोरोना लागेका धेरै मानिस निको भइसकेका छन् । त्यसैले आत्तिहाल्नु हुँदैन । धैर्य गर्नुपर्छ ।
कोरोनाको सङ्क्रमण नहोस् भनेर हामी चनाखो हुनुपर्छ । यसका लागि नियमित रूपमा साबुनपानीले हात धुनुपर्दछ, घरभित्रै बस्नुपर्दछ, भीडभाडमा जानुहुँदैन, गइहाले पनि मास्क लगाएर जानुपर्छ, एक र अर्का व्यक्तिका बीचको दूरी लगभग एक मिटर कायम गर्नुपर्दछ, विदेशबाट आएका वा कोरोनाको शङ्का लागेका व्यक्तिसँग नजिक हुनुहुँदैन, जङ्गली तथा घरपालुवा जनावारबाट टाढै रहनुपर्दछ । खोक्दा वा हाछ्युँ गर्दा कुइनाले वा रुमालले नाकमुख ढाक्ने वा छोप्ने गर्नुपर्दछ ।
कोरानाले विद्यार्थीहरूलाई बढी प्रभाव पारेको छ । वर्षको अन्तिम परीक्षा दिएर बसेका हामी विद्यार्थीमा जुन खुसी हुन्थ्यो त्यो छैन । कतै घुम्न जान पाइँदैन । दैलो थुनेर घरभित्रै बसिरहँदा म त आफूलाई कुनै कैदी नै पो हुँ कि भन्ने ठान्छु । कक्षा पास गरुँला, माथिल्लो कक्षामा जाउँला, नयाँ पुस्तक पढुँला, नयाँ नयाँ साथी बनाउँला भन्ने कुरा पनि त्यतिकै रहे । कक्षा दश, एघार र बाह्रका वार्षिक परीक्षाहरू नै हुनसकेनन् । त्यो परीक्षा दिने दाइदिदीहरूले यस्तो क्षणमा कसरी पढ्नुहोला ? तर म उहाँहरूलाई मन दह्रो बनाएर पढ्नुहोस् । पढेको कुरा खेर जाँदैन । छिटै नै परीक्षा हुन्छ । भन्न चाहन्छु ।
मैले त कोरोना भाइरसका केही राम्रा कुरा पनि देखेँ । बुबाआमा काममा व्यस्त, हामी छोराछोरी पढाइमा व्यस्त, कहिल्यै कुराकानी गर्ने फुर्सत हुँदैनथ्यो । अहिले हामीले आरामसँग कुरा गर्न पाएका छौँ । सँगै बस्न र खान पाएका छौँ । कसैलाई कामको हतारो छैन । यातायातका साधनहरू बन्द छन् । यसले गर्दा ध्वनि प्रदूषण कम भएको छ । यातायातका साधनबाट आउने कालो धुवाले वातावरणको प्रदूषण कम भएको छ । उद्योगहरू पनि बन्द छन् । यसले पनि हाम्रो वातावरण दूषित हुन कम भएको छ । सायद सिकारीहरू सिकार गर्न जाँदैनन् । त्यसैले जङ्गली जनावरहरूले पनि ढुक्कले सास फेर्न पाएका छन् ।
निष्कर्षमा भन्नुपर्दा कोरोनाका थोरै राम्रा र धेरै नराम्रा प्रभाव छन् । यो हामी संसारका मानिसको साझा समस्या हो । यसले हाम्रो खुसी खोसेको छ । हामी सबैजना मिली हाम्रो खुसी फिर्ता ल्याउनुपर्छ । यसका लागि पनि हामी सरकारले भनेका समयमा घरभित्रै बसौँ । दिक्क नमानौँ बरु केही सृजनात्मक काम गरौँ ।
लेखकको सम्वन्धमा