ज्वाइँको बिहे

रमेश पौडेल

‘ज्वाइँको बिहे छ,जसरी पनि आउनुहोला ।’ औपचारिकतापछि प्रयोगले फोनमा भने ।

‘कहिले, कहाँ, कति बजे ?’ ‘बिहे’ सुन्नेबित्तिकै खुसी हुँदै सोधेँ मैले ।

फागुन महिनाका केही दिन मात्र बाँकी थिए । चैतमा बिहे गरिँदैन । वैशाख लाग्नासाथ अर्को वर्ष सुरु हुन्छ । यस साल एउटै पनि बिहेमा सहभागी हुन पाइएको थिएन ।

ठाउँठाउँमा बेन्ड बाजाको भ्याँरभ्याँर सुन्दा, नौमती बाजाको झ्याइँझ्याइँ सुन्दा र बिहे भइरहेको दृश्य देख्ता यो कुरा सम्झिन्थेँ म । अतः प्रयोगले बिहेको निम्तो गर्नासाथ खुसी भएँ ।

‘भोलि बिहान दस बजे वनकालीमा आइपुग्नू !’ प्रयोगले भने ।

‘हुन्छ’ भनेर फोन राखेँ ।

प्रयोग । चर्चित पुरुष । सहरमा उनलाई नचिन्ने बिरलै होलान् । (पाठक ! उनलाई साहित्यकार, नेता, गायक, खेलाडी, अभिनेता वा अरू कुनै व्यक्तित्व ठान्न सक्नुहुन्छ । जे होस्, उनी युवावस्थामै चर्चित हुनुपर्छ ।) सहरमा उनको आफ्नै विशाल भवन छ ।

इका चर्चित महिला हुन् । (प्रयोगलाई जस्तै उनलाई पनि कुनै महत्त्वपूर्ण व्यक्तित्व ठान्न पाउनु पाठकको अधिकार हो ।) सायद सहरमा प्रयोगको भन्दा धेरै चर्चा उनको हुन्छ । उनीसँग मेरो एकतर्फी चिनजान छ । अर्थात् म उनलाई चिन्छु । उनी मलाई चिन्दिनन् ।

दुई वर्ष भयो होला- प्रयोग र इकाको जोडी बाँधिएको । भव्य रूपमा बिहे भएको थियो । सहरमा निकै दिन चर्चाको विषय बनेको थियो ।

सामान्य चिनजानकै आधारमा प्रयोगले आफन्तको बिहेमा मलाई निम्ता गर्नु ठूलो कुरा हो ।

पत्नी भान्साकोठामा बेलुकाको खाना बनाउने तयारी गर्दै थिइन् । म भान्सामा पसेँ । प्रयोगले बिहेमा निम्तो गरेको कुरा खुसी हुँदै सुनाएँ । उनी पनि खुसी भइन् ।

‘दुईचार पटक भेटेकै आधारमा बिहेमा बोलाएछन् । ठूला मान्छेले बोलाएको ठाउँमा जानुपर्छ । भोलि स्कुलबाट बिदा लिनोस्, सबै जना जौँ,’ पत्नीले सब्जी सुधार्दै भनिन् ।

‘आमा ! काँ दाने ?’ हाम्रा कुरामा चासै नदिई खेलिरहेको साढे तीन वर्षको छोराले जाने कुरा सुन्नेबित्तिकै खेल्न छाडेर पत्नीतिर हेर्दै सोध्यो ।

‘वनकाली,’ पत्नीले भनिन् ।

‘काँ ?’ उसले फेरि सोध्यो । उसका लागि वनकाली नयाँ ठाउँ परेछ क्यार !

‘पशुपति जाने सानु ! बाँदर पनि हेर्नुपर्छ,’ मैले भनेँ ।

‘कैले दाने बाबा,’ उसले खुसी भरिएको अनुहारको तल्लो भागमा रहेको सानो मुखबाट फुत्त एउटा प्रश्न ओकल्यो ।

‘भोलि,’ मैले उसका गाला थप्थपाउँदै भनेँ ।

‘भोलि पत्पति दाने ! भोलि पत्पति दाने !’ छोरो खुसी हुँदै एक छिन उफ्रियो र पुनः खेलौनासँग रमाउन थाल्यो ।

मैले विशेष काम परेको हुनाले भोलि आफू अनुपस्थित रहने कुरा जानकारी गराउँदै प्रधानाध्यापकलाई फोन गरेँ । उनले अन्कनाउँदै स्विकारे । बिदा पाइयो ।

‘ठूला मान्छेको बिहेमा त ठूलै कुरा लानुपर्छ । के लाने ?’ पत्नीको प्रश्न थियो ।

एक छिन सोचेपछि मैले भनेँ’- यस्ता कुरा त मलाई भन्दा तिमीलाई बढी थाहा हुन्छ । के लैजाऔँ ?’

‘बिहे कसको हो ?’ उनले मेरो अनुहारमा हेर्दै सोधिन् ।

‘ज्वाइँको, ‘प्रयोगले भनेको कुरा सम्झिँदै मैले भनेँ ।

‘ज्वाइँ ?’ उनले छक्क पर्दै सोधिन् ।

म पनि छक्क परेँ । ज्वाइँको बिहे हुनका लागि कि त छोरी, कि त बहिनी हुनुपर्‍यो। त्यसभन्दा टाढाका नाता पर्ने ज्वाइँको बिहेमा उनले पक्कै निम्तो दिएनन् । उनका त छोराछोरी नै छैनन् । अतः छोरीको बिहे हुँदै होइन । उसो भए बहिनीको होला । उनका बहिनी छन् कि छैनन्, त्यस विषयमा थाहा थिएन हामीलाई । अतः हामीले अनुमान गर्‍यौँ- बिहे प्रयोगकी बहिनीकै हो ।

‘तर किन उनले ज्वाइँको बिहे भने ?’ केही बेर गम्यौँ हामीले ।

ठट्टा गरेका होलान् ! अन्ततः निष्कर्ष निस्कियो ।

प्रयोगकी बहिनी वा इकाकी नन्दको बिहेमा लाने उपहारबारे निकै बेर छलफल गरियो । कपसेट, राइस कुकर, प्रेसर कुकर, आइरन, मिक्स्चर, रुम हिटर, पङ्खा, मोबाइल आदि थुप्रै विकल्पहरू भेटिए । सस्ता सामान तुच्छ ठहरिन सक्ने र महँगा किन्न औकातले नभ्याउने स्थिति देखियो ।

अन्ततः निर्णय भयो- टीका लगाएर पाँचपाँच सय रूपैयाँ दिने । यसअघि हामीले यस्ता कार्यक्रममा बढीमा सयसय रूपैयाँ दिने गरेका थियौँ ।

‘पाँचपाँच सय धेर भएन र ?’ मैले आफैँलाई सोधेँ । पत्नीले पनि सुनिछिन् ।

‘ठूला मान्छे हुन् । उनीहरूको इज्जत राखिदिनुपर्छ । पछि हामीलाई काम लाग्न सक्छन् । मौकामा हीरा फोर्न पछि सर्नुहुँदैन,’ पत्नीले भनिन् ।

निर्णयमा सही छाप लागेपछि मैले पसलबाट दुई वटा खाम किनेर ल्याएँ । दुबै खामभित्र ‘छोरो बिरामी भयो भने चाहिन्छ’ भनेर दराजमा लुकाइएका पाँचपाँच सयका नोट छिराइए । बेहुलाबेहुलीलाई दुबैले टीका लगाइदिने, पत्नीले बेहुलीलाई एउटा खाम दिने र मैले बेहुलालाई अर्को खाम दिने प्रस्ताव पारित गरियो ।

भोलिपल्ट सामान्य खाजा खाएर हामी नौ बजे नै पशुपतितिर लाग्यौँ । बिहेको तयारी हुँदै थियो । प्रयोगसहित केही मानिसहरू व्यवस्थापनमा लागेका थिए । इका देखिइनन् ।

‘नमस्ते !’ हामी दुबैले प्रफुल्लित मुद्रामा प्रयोगलाई अभिवादन गर्‍यौँ ।

‘नमस्ते !’ उनले हामीलाई स्वागत गरे ।

अति सङ्क्षिप्त भलाकुसारीपछि उनी पुनः व्यवस्थापनमा लागे । मण्डप राम्रो पारेर सिँगारिँदै थियो । पुरोहित यज्ञविधिमा जुटेका थिए । मण्डपको पश्चिमपट्टि दुई वटा सानदार सोफा राखिएका थिए- गोडा धुने ठाउँ बनाइएको होला । वरिपरि लहरै प्लास्टिकका कुर्सी राखिएका थिए । पूर्वपट्टि ठूलो पाल टाँगेर खाने ठाउँ बनाइएको थियो । उत्तरपट्टि खाद्यवस्तुहरू तयार पारिँदै थिए । एक पटक सरसरी अवलोकन गरेर कुर्सीमा बस्यौँ हामी ।

‘चिया तयार भयो ।’

कसैले पालतिर इसारा गर्‍यो । हामीले पालतिर हेर्‍यौँ- टेबुलमाथि टुटीसहितको एउटा भाँडो राखिएको थियो । छेउमा प्लास्टिकका पातला कपको एउटा सिल थियो । केही मानिस भाँडाबाट कपमा चिया थापेर पिउँदै थिए । हामीले एकएक कप चिया लियौँ । कुर्सीमा बसेर रमिता हेर्दै चिया पिउन थाल्यौँ ।

‘इका मेडम कता जानुभएछ ?’ चारैतिर नियाल्दै पत्नीले सोधिन् ।

‘बेहुली सिँगार्न होला,’ मैले अनुमान गरेँ ।

उनले बेहुली सिँगारेको हेर्ने इच्छा व्यक्त गरिन् । कसैलाई सोधेर उनी छोरासहित मण्डपदेखि पश्चिमपट्टि रहेको लामो भवनतिर लागिन् । म मोबाइलमा गेम खेल्न थालेँ ।

‘कृपया, कोही नआइदिनुहोला । हामी बेहुली सिँगार्न व्यस्त छौँ’ भनेर भित्रबाट ढोकै खोलेनन्, केही बेरपछि उनले मेरो छेउमा आएर अलिअलि हाँस्तै तर निराशाको भावमा भनिन् ।

‘एक छिन पर्ख न । जन्ती आएपछि देखिहाल्छ्यौ नि !’ मैले सान्त्वना दिएँ ।

बिस्तारै मानिसको सङ्ख्या बढ्दै गयो । खाली कुर्सीहरू भरिँदै गए । प्रयोग आगन्तुकलाई स्वागत गर्नमा व्यस्त भए । कुर्सीहरूमा घुमीघुमी पालैपालो बसेर रमाइलो गरिरहेको छोरो आमासँग बस्यो र बाँदर हेर्न जाने भनेर कर गर्न थाल्यो । एक छिनपछि जाने आश्वासन दिँदै फकाइन् पत्नीले ।

केही समयपछि नौमती बाजा घन्किएको सुनियो ।

‘जन्ती आए !’ कसैले भन्यो ।

हामीले पछाडि फर्केर हेर्‍यौँ । अरू मानिसहरूले पनि हेरे । सिँगारिएका गाडीहरू गौशालातिरबाट लस्करै आइरहेका थिए । बाजा टड्कारो हुँदै गयो । थुप्रै बस, कार र मोटरसाइकल बाटामा रोकिए । बेहुलो बसेको कार राम्ररी सिँगारिएको थियो । मानिसहरू ओर्लिइसकेपछि गाडीहरू पार्किङतिर लागे ।

‘आम्मामा ! कति धेरै जन्ती !’ पत्नीले आश्चर्य व्यक्त गरिन् ।

‘यस्तै हो, ठूला मान्छेको बिहेमा,’ म बुज्रुग बनेँ ।

हामी कुर्सीबाट उठेर जन्ती नियाल्न थाल्यौँ । ढाकाका दौरासुरुवाल र टोपीमा सजिएका बेहुलालाई अगाडि लगाएर विधिविधानसहित जन्ती आए । पुरुषहरू सुटमा सजिएका थिए भने महिलाहहरू सारीमा । बच्चाहरू पनि रङ्गीचङ्गी पोसाकमा सुन्दर देखिन्थे । विधिमुताबिक जन्तीको स्वागत गरियो ।

परीक्षण । चर्चित व्यक्तित्व । (प्रयोग र इका जस्तै उनलाई पनि कुनै चर्चित व्यक्तित्व मान्नु पाठकको स्वतन्त्रता हो ।) उनलाई सबैले चिने । आजका बेहुला उनै थिए ।

कुर्सीहरू खचाखच भरिए । कतिपय जन्तीहरू कुर्सी नपाएर उभिए । बेहुलालाई सोफामा बसाइयो । स्वयंवरको तयारी भयो । धेरैजसो मानिसहरू जग्गेवरिपरि जम्मा भए । हामी पनि भिडमा सामेल भयौँ ।

‘बेहुली ल्याए !’

कसैले भन्यो । सबैले भवनतिर हेरे । हामीले पनि उत्सुकतापूर्वक हेर्‍यौँ ।

अचम्म !

बेहुलीलाई डोर्‍याउँदै प्रयोग आइरहेका थिए । साथमा अरू कोही थिएन ।

‘बेहुलीका साथी छैनन् कि क्या हो ?’

कसैले उच्च स्वरमा भन्यो । भिडमा खासखुस सुरु भयो । हामीले पनि आपसमा कानेखुसी गर्‍यौँ ।

अर्को अचम्म !

प्रयोगले स्वयम्वरका लागि तयार पारिएको नाङ्लो बोके र बेहुला बसेको सोफा वरिपरि घुम्न थाले । बेहुलीले उनलाई पछ्याइन् । बेहुलीले ओढेको घुम्टो बाक्लो थियो । अतः अनुहार देखिएन ।

‘प्रयोगजीका बुबा खोई त ? काका ठूलाबा भए पनि हुने । बेहुलीका कोही साथी पनि छैनन् । सबैतिर एक्लै कसरी भ्याउनु ?’ कसैले ठूलो स्वरमा भन्यो ।

‘हतारमा गर्नुपरेकाले गाउँबाट कोही आउन भ्याएन । चिन्ता नगर्नोस् । म अभिभावकको कमी हुन दिनेछैन,’ प्रयोगले मुसुमुसु हाँस्तै भने ।

भिडमा फेरि खासखुस भयो । यसैबिच स्वयंवरको विधि पूरा भयो । बेहुलाबेहुली सोफामा बसे । उनीहरूतिर क्यामेरा र मोबाइल तेर्सिए । फोटा खिच्ने कार्यक्रम सुरु भयो ।

‘बेहुलीले घुम्टो खोल्नुपर्‍यो, अनुहार देखिएन,’ कोही करायो ।

‘सायद उनी चिन्तित छिन् । कृपया कर नगरौँ,’ बेहुला अर्थात् परीक्षणले भने ।

तैपनि फोटा खिच्नेहरूले एकै छिन भए पनि घुम्टो उघार्न बारम्बार अनुरोध गरे । परीक्षण र प्रयोगले हात जोड्दै त्यस विषयमा ढिपी नगर्न आग्रह गरेपछि सबै अक्क न बक्क भए । भिडमा खासखुसको मात्रा बढ्यो ।

प्रयोगले बेहुलीलाई डोर्‍याउँदै भवनतिर लगे । जन्तीपट्टिका केही महिलाले पछ्याए । पत्नी छोरो लिएर उनीहरूसँगै गइन् । परीक्षणलगायत जन्तीहरू पालतिर लागे । उनीहरू जलपान गर्न थाले ।

‘अचम्म भयो त बूढा !’ छोरो डोर्‍याउँदै आएकी पत्नीले भनिन्- ‘कोठामा पस्नेबित्तिकै बेहुलीले चुकुल लगाइन् । जन्तीपट्टिका महिलाहरू र म ढोकामा पुगेका थियौँ । ‘उनी एक्लै बस्न चाहन्छिन् । प्लिज, डिस्टर्ब नगरिदिनुहोला’ भन्दै प्रयोगले हात जोडे । हामी ङ्यास्र्‍याक्क परेर फर्कियौँ ।’

‘बेहुलीलाई सहयोग चाहिँदैन भने तिमीलाई के खाँचो छ र ? भैगो, चुप लाग,’ मैले सम्झाउने पारामा भनेँ ।

भोक लागेको हुनाले हामी भोजनतर्फ आकर्षित भयौँ । खालखालका परिकारहरू थिए । टन्न खायौँ । छोरालाई पनि खुवायौँ ।

गोडा धुने बेला भयो । प्रयोगले मात्र बेहुलाबेहुली दुबैका गोडा धोए । त्यहाँ पनि बेहुलीको अनुहार देख्न पाइएन । टीका लगाउने व्यवस्था रहेनछ । सबैले दुबैका हातमा उपहार र दक्षिणा दिए । हामीले पनि त्यसै गर्‍यौँ ।

‘बेहुलीले अनुहार देखाउनैपर्छ ।’

भिडबाट आवाज आउन थाल्यो । परीक्षणले सबैलाई शान्त हुन आग्रह गरे । तर खलबली बढ्दै गयो । लगभग सबै मानिसमा बेहुलीको अनुहार हेर्ने मनसाय थियो ।

‘कृपया, शान्त हुनुहोस् ! बिहेको अन्त्यमा मात्र बेहुली आफ्नो अनुहार देखाउन चाहन्छिन् । त्यतिन्जेल धैर्य गर्नुहोस्,’ प्रयोगले उच्च स्वरमा भने ।

भिड केही बेर सामसुम भयो । तर भित्रभित्र खासखुस चलिरह्यो । सामान्यतया बिहेमा गोडा धुने कार्यक्रम आरम्भ भएपछि जन्ती तितरबितर हुन्थे । तर बेहुली हेर्न होला, त्यस बिहेमा अधिकांश मानिसहरू बसिरहे- एकआपसमा कानेखुसी गर्दै ।

हामीलाई पनि बस्न मन थियो । तर छोराले बाँदर हेर्ने रट लगाएका कारण निस्किन बाध्य भयौँ । छोरालाई लिएर पशुपति मन्दिरतिर लाग्यौँ ।

झन्डै एक घण्टापछि फर्किँदा बिहे चलिरहेको थियो । लगभग सबै मानिसहरू जग्गे वरिपरि थिए । हामी पनि भिडमा सामेल भयौँ । सबैका आँखा बेहुलीमै कन्द्रित थिए- कतैबाट अनुहार देखिन्छ कि भनेर होला ।

‘हन बेहुली को हो ? कसको बिहे हुँदै छ ?’ कसैले मसँग सोध्यो ।

‘प्रयोगकी बहिनीको होला,’ मैले भनेँ ।

‘प्रयोगकी बहिनी छैनन् । मलाई राम्रोसँग थाहा छ । ऊ एक्लो सन्तान हो,’ उसले किटान गर्‍यो ।

‘उसो भए कसको हो त ?’ मैले अचम्म मान्दै सोधेँ ।

‘त्यही त कसैलाई थाहा छैन । सायद परीक्षण, प्रयोग र बेहुलीलाई मात्र थाहा छ,’ उसले अनुमान गर्‍यो ।

सबै मानिसहरू बेहुली चिन्न आतुर थिए । बिहेको क्रम चलिरह्यो ।

सिँदुर लाउने बेला भयो ।

‘अब बेहुलीले अनुहार नदेखाई सुखै छैन ।’

भिडबाट कसैको खुसी मिश्रित स्वर सुनियो । पुनः सबैका आँखा बेहुलीमा केन्द्रित भए । तर बेहुलीले चलाखी देखाइन् । घुम्टो टाउकाको पछिल्तिरबाट बिस्तारै सार्दै निधारको माथिल्लो भागसम्म ल्याइन् । अनुहार देखिन्छ कि भनेर मैले आँखा च्यातेर हेरेँ । तर मेरो प्रयासले सफलता चुमेन । सिँदुर लगाएका बेलामा प्रयोग देखिएनन् ।

बिहेका अन्य विधिहरू सकिँदै गए । कन्यादानको बेला भयो । प्रयोग कन्यादान गर्न अघि सरे ।

‘इका मेडम खोई त ?’

कसैले सोध्यो । प्रयोगले प्रश्नकर्तातिर हेरे र मुसुक्क हाँसे । केही उत्तर दिएनन् । अघिदेखि नै उनलाई अनेक प्रश्न सोधिँदै थिए । उनी कतिपय प्रश्न नसुने झैँ गर्थे । कतिपयलाई हाँसेर टारिदिन्थे । केहीको मात्र उत्तर दिन्थे- अति सङ्क्षिप्त रूपमा । एवम् क्रमले विवाहविधि समाप्त भयो ।

बेहुली अन्माउने काम सकियो । गाडी आए । उपहारहरू गाडीमा राखिए । बेहुलाबेहुली अघि लगाएर जन्ती गाडीतर्फ बढे । प्रयोगले बेहुलीलाई बुई बोकेका थिए भने परीक्षण आफैँ हिँड्दै थिए । विधि पूरा गरेर परीक्षण कारभित्र पसे र चालकको सिटमा बसे । बेहुली बाहिरै उभिइन् ।

‘तपाईँहरूको धैर्यको समय समाप्त भयो । अब बेहुलीले आफ्नो अनुहार देखाउँछिन् ।’

प्रयोगले अति उच्च स्वरमा उद्घोष गरे । सबै मानिसहरू बेहुली वरिपरि जम्मा भए । रानोलाई मौरीले घेरेजस्तो देखियो । म पछि परेको हुनाले ठेलमठेल गर्दै बेहुली नजिक पुगेँ । पत्नी र छोरो भिडमा हराए ।

भिड चुपचाप थियो । सबैका आँखा बेहुलीको घुम्टोमा केन्द्रित भए । क्यामेरा र मोबाइलहरू फोटा खिच्न तम्तयार थिए ।

बेहुलीले दुबै हातले घुम्टोको अघिल्लो भाग समातिन् । भिडमा सियो खसे सुनिने शान्ति व्याप्त भयो । उनले बिस्तारै घुम्टो माथि सारिन् । एकै छिनमा अनुहारबाट घुम्टो हट्यो र बेहुलीको अनुहार स्पष्टसँग देखियो ।

भिडमा खासखुस सुरु भयो । बेहुली कारमा चढिन् । कार अघि बढ्यो । खासखुस हल्लामा परिणत भयो । भिड तितरबितर हुन थाल्यो । मानिसहरू समूहसमूहमा विभक्त भएर बिहेका विषयमा चिच्याईचिच्याई कुरा गर्न थाले । प्रयोग कतै देखिएनन् ।

‘मैले त बेहुली देख्नै पाइनँ, तपाईँले देख्नुभयो ?’ भेट भएपछि पत्नीले विस्मित भावमा सोधिन् ।

‘देखेँ,’ मैले भनेँ ।

उनले एक छिन ट्वाँ परेर मेरो अनुहार टुलुटुलु हेरिरहिन् ।

‘मान्छेहरू जे भन्दै छन्, त्यो सत्य हो ?’ उनले वरिपरि हेरेर मेरो अनुहारमा आँखा गाड्दै सोधिन् ।

‘हो,’ मैले भनेँ ।

‘बेहुली उनै हुन् त ?’ उनले आश्चर्य र अविश्वासले भरिएको भावमा सोधिन् ।

‘अँ,’ मैले लामो सास फेरेर भनेँ- ‘प्रयोग र परीक्षण दुबैले आआफ्ना नाम सार्थक पारेछन्-प्रयोगले आफ्नी पत्नीको बिहे अर्कासँग गरिदिएर अनि परीक्षणले अर्काकी पत्नीसँग बिहे गरेर । प्रयोगले ज्वाइँको नै बिहे गरेका हुन् (पत्नीको बिहे भन्न मिल्ला र ?) बेहुली इका नै हुन् ।’

‘उसो भए आज ज्वाइँको बिहे खाइयो त ?’

यो पत्नीको प्रश्न थियो । आजसम्म मैले उत्तर भेटेको छैन ।

प्रिय पाठक ! के तपाईँसँग यस प्रश्नको उत्तर छ ?