आभार

आमाबुबा ! तपाईंहरूले जीवनभर दिनुभएको आशीर्वाद, प्रेरणा, माया र हौसलाको प्रतिफल सुनाउन पाउँदा निकै उत्साहित छु । जिम्मेवार अभिभावक, सत्कर्मको पथप्रदर्शक बनी मेरो पहिलो विद्यालय घर नै बनाइदिनुभयो । आमा ! छोरीले पढेर केही काम लाग्दैन घाँसदाउरा नगरी सुख छैन भन्ने समाज र संस्कारमा जन्मिएर हुर्किएकी हजुरले आफूले जस्तो सास्ती भोग्न नपरोस् भनेर होला मलाई पढ्न पठाउनुभयो । सानैदेखि “मेरी छोरीका हातमा विद्यारेखा कति लामालामा छन् । यी रेखाले तिमीले धेरै पढ्ने बताउँछ …” । भन्दै हातका रेखा हेरेझैँ गरी मलाई पढ्न हौस्याउनु भएको कुरा मलाई झलझली याद छ । आमा ! हजुरको कुराले मलाई मेरी आमा संसारकै ठुलो ज्योतिष हुनुहुन्छ, उहाँले भनेको सबै मिल्छ भन्ने लाग्थ्यो । अब त हो नै भन्छु । बुबा हामीलाई सधैँ “आफूले धेरै पढ्न नसके पनि तिमीहरूलाई त म जसरी पनि जे गरेर पनि भने जति पढाउँछु ।” भन्नुहुन्थ्यो । त्यही भएर रै’ छ है बुबा ! हामीलाई गाउँमा छोडेर हजुर मुग्लान पस्नुभएको ? आफ्ना सानसाना छोराछोरीको भविष्य खोज्न परदेशिनु भएको हजुर पनि त हामी जस्तै कति न्याश्रिनु भयो होला है ? मेरा दाजुहरूको नैतीक शिक्षा र उत्प्रेरणा, मेरा हरेक परिस्थितीकी साथी प्यारी बहिनी नै मेरा सफलताका प्रेरक हुन्। तपाईँहरूले देख्नु भएको सपना, राख्नुभएको विश्वास नै मेरा मार्गदर्शक बन्यो । हजुरहरूले दिनुभएको निरन्तर प्रोत्साहनले आज म यहाँ उभिन सकेकी हुँ।
म सम्झन्छु ! १२ को परीक्षा दिएर बसेकी थिएँ । त्यति बेला म लगभग २० वर्षकी थिएँ । मेरो मागी विवाह भयो । जीवनको दोस्रो अध्ययको प्रारम्भ त्यो क्षण मेरो लागि शून्य समय थियो । घरपरिवार, नातागोता, लगाइ, खुवाइ, बोलीचाली आदि इत्यादिले मेरो समग्र दैनिकी र जीवनशैलीमा परिवर्तन आयो । म धन्य छु आमा ! हजुरले चिठ्ठा स्वरूप आफ्नी छोरी जसलाई सुम्पिनु भयो । उहाँ मेरो वर्दान हुनुहुन्छ । उहाँ र उहाँको परिवारसँग मैले जीवनमा कहिल्यै गुनासो गर्नु परेको छैन । विवाहपश्चात बुहारीलाई घरायसी काममा मात्र सीमित राख्ने तत्कालीन समयमा मलाई पढ्न हौसला दिनुहुने मेरा सम्पूर्ण परिवारका कारण मेरो बाँकी शैक्षिक यात्राले निरन्तरता पायो ।
विशेषतः आजको दिन मेरा आदरणीय स्वर्गवासी सासूआमा र ससुराबुबाको स्मरणमा श्रद्धाभाव प्रकट गरेकी छु । उहाँहरूले मलाई छोरी जस्तै माया गर्नुभयो, आत्मविश्वास जगाउनुभयो, परिवार र अध्ययनलाई सन्तुलन मिलाउने हिम्मत दिनुभयो । अवकाश प्राप्त आफ्नो समयमा घरायसी काममा मलाई सघाउँदै बुबा भन्नुहुन्थ्यो, “तिमी प्रष्ट वक्ता छ्यौ तिमीले एल.एल.बि गर्नुपर्छ” । सासूआमा पढेलेखेका र जागिर गरेर हिँड्ने दुई चार जनाको नाम लिएर मलाई पढ्न हौस्याउनुहुन्थ्यो । कति खुसी भएर म पास भएको खबर सबैलाई फोन गरी गरी सुनाउनुहुन्थ्यो । तर मैले यो उपलब्धि सुनाउन सकिनँ । हजुरहरूको असामयीक महाप्रस्थानले फेरि पनि भावुक बनाएको छ । बुबाको इच्छा पूरा गर्नु पर्थ्यो विविध कारणले त्यो सकिनँ । बुबाले देखाउनु भएको बाटो मोडियो तर पनि यात्रा रोकिएको छैन । यद्यपि आज तपाईंहरू साथ हुनुहुन्न तर हजुरहरूको प्रेरणा र मूल्यहरूले मलाई जीवनभर ऊर्जा दिनेछन्। म सधैं तपाईंहरूका मूल्य, आदर्श र आशीर्वाद बोकेर अघि बढ्ने वाचा गर्दछु।
म गर्वका साथ भन्छु आजको उपलब्धि केवल मेरो व्यक्तिगत सफलता होइन । मेरा हरेक पलमा भावनात्मक र व्यवहारिक रूपमा साथ र सहयोग गर्नुहुने मेरा आदरणीय जीवन साथी निरञ्जन सिलवाल, आमा झोला बोकेर पढ्न जाँदा खुसी हुने मेरो प्यारो छोरा प्रसिद्ध सिलवाल र प्यारी छोरी प्रकृति सिलवाल, मेरा सहज असहज परिस्थितिमा समानुभूति राख्ने मेरा देवरानीजेठानी, नन्दआमाजू, देवरजेठाजु सबै महान् हुनुहुन्छ । तपाईंहरू कै सामूहिक प्रयासले मलाई सफलता दिलाएको छ । तपाईहरूजस्तो सकारात्मक सोच राख्ने पारिवारिक वातावरणले मेरो चेतनालाई पखेटा दिएको छ। विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म मेरो अध्ययन अध्यापनमा सहभागी हुनुहुने मेरा आदरणीय गुरुजन र साथीसजनप्रति सदवै आभारी छु । जीवनको यो यात्रामा म एक्लै हिँडेकी थिइनँ। तपाईंहरूको माया, त्याग, उत्प्रेरणा र परिश्रमका कारण आजको यो सफलताले अर्थ पाएको छ।

हेर्दा सरल र सफल देखिने मेरो जीवनयात्रामा सबै कुरा सहज मात्र थिएनन्। जागिर, पढाइ र पारिवारिक जिम्मेवारीलाई सन्तुलनमा राख्न कहिलेकाहीँ अत्यन्तै कठिन पनि भयो। घरायसी काम, पारिवारिक दायित्व र सामाजिक अपेक्षाहरू पूरा गर्दा रातको शान्त समयमा मात्र मैले किताबसँग मित्रता गाँस्नुपर्थ्यो। थकाइले गलेको शरीर भित्र केही त गर्नै पर्छ भन्ने मनमा एउटा दृढ विश्वास थियो । आफन्तीका साथ र सहयोग जति नै भए पनि अन्ततः जीवनलाई कतातर्फ कसरी मोड्ने भन्ने निर्णय र अथक प्रयास मेरो आफ्नै हातमा थियो। आज म गर्वका साथ भन्न सक्छु- विवाह, उमेर वा जिम्मेवारी नारीको सपनाको अन्त्य होइन, यदि सोच सकारात्मक र हिम्मत अटल छ भने नारी कमजोर कदापी छैन। ऊ धैर्य, साहस र सम्भावनाको प्रतीक हो। आफूमा विश्वास गर्यो भने नारीले असम्भव जस्तो देखिने यात्रालाई पनि सम्भव बनाउन सक्छे भन्ने विश्वास म मेरै जीवन भोगाइलाई हेरेर भन्न सक्छु । मैले आफ्नो सफलतालाई व्यक्तिगत विजयका रूपमा मात्र होइन, सामूहिक चेतनाको उपलब्धिका रूपमा रहोस् भन्ने चाहेकी छु । यो उपलब्धिले मेरो जस्तै परिस्थितिमा रहेका धेरै नारीलाई सन्देश दिन सकोस् । सिक्न उमेरले रोक्दैन, रोक्ने त केवल डर र अल्छीपनले हो। यात्रामा ढिलो कहिल्यै हुँदैन । सुरु गर्ने आँट गरे गन्तव्यमा अवश्य पुगिन्छ । जीवन भने कै सकरात्मक विचार, सङ्घर्ष र आत्मबलको समष्टि रहेछ । यिनै दृष्टिकोणले मेरो यात्रलाई अघि बढ्ने अवसर पायो । यो यात्र यतिमा मात्र सिमित रहने छैन । मेरा यी उपलब्धिमा घमण्ड होइन गर्व गरेकी छु । स्वस्थ पुरुषत्वयुक्त पारिवारिक मानसिक विचारले नारीलाई छोरी र बुहारीको रूपमा विभेदकारी आँखाले होइन सम्भावनायुक्त व्यक्तिको रूपमा हेर्न सके समाजमा आमूल परिवर्तन आउने निश्चित मैले देखेकी छु । हुन त समय र परिस्थितिअनुसार सबैका उपलब्धि समान नहोलान् किन कि हरेक सफलताको आफ्नै महत्व हुन्छ । ती महान् हस्तीहरूको म मुक्तकण्ठले प्रशंसा गर्दछु । यो आत्माकथा सामाजिक बनोस् भन्ने कामना गर्दछु ।
अन्त्यमा, मेरो सफलतामा साथ दिनुहुने सबैप्रति हृदयदेखि कृतज्ञता प्रकट गर्दै निरन्तर यात्राको वाचा गर्दछु । ५१ औँ दीक्षान्त समारोहको यो गर्भिलो क्षणमा दाजु र श्रीमानज्यूको साथमा खुसी छु अझ छोराछोरी र आमाबुबाहरूसँग बसेर खुसी बाड्ने इच्छा थियो । विविध कारणले असमर्थ भएपनि भौतिक रूपमा रहेको यो उपलब्धिलाई आत्मिक रूपमा यिनै शब्दहारमार्फत मेरा आमाबुबा, सासूससुरा र छोराछोरीलाई सुशोभित गर्दछु ।

लेखकको सम्वन्धमा