February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

स्वतन्त्र युवा उम्मेदवार इन्जिनियर राजन थापाको सम्मानजनक उपस्थिति, युवा र इन्जिनियर नेतृत्वको खोजी स्पष्ट

नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका युवा इन्जिनियर राजन थापाले सम्मानजनक मत प्राप्त गर्दै उल्लेखनीय उपस्थिति जनाएका छन्। राजधानी विशेष युवा क्लस्टरबाट स्वतन्त्र रूपमा मैदानमा उत्रिएका इन्जिनियर थापाले कुल २२९ मत प्राप्त गरेका छन्।

महाधिवेशनमा युवा खुला क्लस्टरबाट सर्वसम्मत अवस्था बनाउन संयोजन गरी सो क्लस्टरबाट उम्मेदवारी नदिएका थापाले राजधानी युवा क्लस्टरबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। पार्टीभित्रका दुई प्रमुख धारले आआफ्ना उम्मेदवार तय गरिरहेको अवस्थामा स्वतन्त्र उम्मेदवारी दिनु चुनौतीपूर्ण भए पनि इन्जिनियरिङ क्षेत्रका साथीहरूको हौसला, प्रेरणा र साथले आफू मैदानमा उत्रिएको थापाको भनाइ छ।

यस प्रतिस्पर्धामा काठमाडौं महानगरपालिकाकी उप-प्रमुख तथा संस्थापन पक्षकी उम्मेदवार सुनिता डंगोलले १६६८ मत प्राप्त गर्दै विजय हासिल गरेकी छन् भने ईश्वर प्यानलका उम्मेदवार  सन्तोष खड्काले ३३० मत ल्याएका छन्।

सरकारी वा गैरसरकारी सूचीमा नाम नहुँदासमेत स्वतन्त्र उम्मेदवार इन्जिनियर थापाले प्राप्त गरेको मतलाई पार्टीभित्र र बाहिर दुवै ठाउँमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसले आम मतदाता र प्रतिनिधिहरूले युवा, पेशागत क्षमता सम्पन्न र वैचारिक रूपमा स्पष्ट राजनीतिक नेतृत्वको खोजी गरिरहेको अनुभूति दिएको विश्लेषण गरिएको छ।

महाधिवेशनको निर्वाचन प्रक्रिया सकिएसँगै इन्जिनियर थापाले समाज रूपान्तरण, प्रविधि र राजनीतिलाई संयोजन गर्ने सोच तथा “पेशा होइन, सेवाको राजनीति” गर्ने प्रतिबद्धता अझ सशक्त बनेको बताएका छन्।

निर्वाचनमा निर्वाचित सम्पूर्ण कमरेडहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले देशभरबाट सहयोग गर्ने इन्जिनियरहरू, शुभेच्छुकहरू र प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्।