September 29, 2025, Monday
२०८२ आश्विन १४, मंगलवार

अधिकार

साहिँली, थाहा पाइस् !´ सुजनाले आश्चर्य मान्दै भनी ।  

साहिँलीले अनविज्ञ हुँदै भनी, कुरै नबुझी के भन्नु हो मैले ?´

`वसन्तीको छोराको बिहे–भोज खाएको मासु दाँतमा अझै अड्किरहेको छ । बुहारीले छोडपत्र गरी रे !´ आश्चर्य मान्दै सुजनाले भनी ।

`लौ ! के भन्छिन् यो दिदी पनि ?´ साहिँली आश्चर्य मान्दै भनी ।   हो भनेको मोरी । कसैलाई नभन्नु नि फेरि । लोग्नेले जबर्जस्ती गर्यो भनेर मुद्दा हालेको रे । अदालतले छोडपत्र गराइदियो रे´, सुजनाले बेलिबिस्तार लगाई ।

साहिँलीले भेद खोल्दै भनी, `राम्री केटी भनेर बिहे गरे । हाम्रो मामा ससुराको नातिसँग बिहे गरेर छुटेको केटी पो रहिछ । त्यता पनि पचास लाख लिएर छुटेको केटी रहिछ ।´

सुजनाले जिब्रो काट्दै भनी, `अनि त्यता चाहिँ किन छुटेको रे नि ?´

साउती गर्दै साहिँलीले भनी, `पहिला पनि बिहे गरेको रे । केही समयमा कुन्नि के कुरा नमिलेर सम्पत्ति लिएर छुटेको भन्ने थाहा पाएपछि छुटेको भनछन् ।´

`समयले विवाहलाई पनि व्यापार बनाएछ । नारीलाई अधिकार धेरै हुँदा संस्कार गलत हुँदो रहेछ´ भनेर फत्फताउँदै सुजना गाग्री कम्मरमा अड्याएर उकालो लागिन् ।