परशुराम पराशरका दर्जन कविता 

२०८२ भाद्र १४
राष्ट्रिय जनसाहित्य सङ्‍घ, नेपालको आयोजनामा अविरल जनसाहित्य यात्रा १०२औँ शृङ्खलामा कविनायक परशुराम परासरका एक दर्जन कविता वाचन गरियो । 

जनसाहित्यक सङ्‍घ, नेपालका अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सञ्‍चालित उक्त कार्यक्रममा प्रमुख अतिथि तथा वाचित कविताका समीक्षक डा. फणिन्द्र निरौला हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा प्रगतिशील लेखक सङ्‍घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीलगायत थुप्रै स्रष्टा एवम् कविहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

एकल कविता वाचनअन्तर्गत कविनायक पराशरद्वारा उपजाति छन्दको ‘परिचय’, पञ्चचामर छन्दको ‘युवा उठौँ’, मन्दाक्रान्ता छन्दको ‘शान्तिको गीत लेखौँ’, मालिनी छन्दको ‘देश खाए किराले’ र शार्दूलविक्रीडित छन्दको ‘मेरो भुँडी’ गरी पाँचवटा  कविता अघिपछि पारेर वाचन गरिए भने सातवटा कविता कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’द्वारा शार्दूलविक्रीडित छन्दको ‘नेपाल सर्वाेपरि’, चेबन वस्नेत ‘ठुलाघरे’द्वारा अनुष्टुप् छन्दको ‘राजनीतिक कोटा’, डिल्लीप्रसाद मुल्तिउनद्वारा अनुष्टुप् छन्दको ‘चाहना’, नारायण निरासीद्वारा शार्दूलविक्रीडित छन्दको ‘नेता नबन्ने म ता’, विपी इलामेद्वारा मन्दाक्रान्ता छन्दको ‘सिर्जना गर्नपाऊँ’, मेनका आचार्य पोखरेलद्वारा मालिनी छन्दको ‘मेरो देश’ र शारदा पराजुलीद्वारा उपजाति छन्दको ‘धराको कविता’ वाचन गरिए । 

कविता वाचनपछि समीक्षक तथा प्रमुख अतिथि डा. फडीन्द्रराज निरौलाले वाचित कवितामाथि सङ्‍क्षिप्त समीक्षा गर्दै कविताले देश बोलेको छ, राजनीति र समाज बोलेको छ, मानवता र राष्ट्रियता बोलेको छ, संस्कृति र संस्कार बोलेको छ भन्ने विचार व्यक्त गर्नुभयो ।

समीक्षकले शास्त्रीय छन्दमा लेखिएका कवितामा व्यङ्ग्य, प्रतीक, बिम्ब र उपमा, सरल भाषा शैली, लयात्मकता र गेयात्मकता प्रशस्त हुनुका साथै क्रान्तिपछि शान्ति स्थायित्व हुनुपर्छ, विकृत विसङ्गतिलाई सच्याउनुपर्छ भन्ने विचार व्यक्त गर्न तथा जीवन र जगत्‌लाई साहित्यमा सजाउन कवि सफल भएको निष्कर्ष निकाल्नुभयो ।

कविनायकको विचार र भाव कवितामा रमाएको देखिए पनि विश्व जनिनता समेट्न र वाचन शैलीमा केही परिष्कार गर्न आवश्यक देखिन्छ भन्दै समग्रमा कविताहरू उत्कृष्ट सावित भएको विचार व्यक्त गरियो । समीक्षाको क्रमपछि राष्ट्रिय जनसाहित्य सङ्‍घ, नेपालका महासचिव डा. कृष्ण सुवेदीद्वारा कविनायकलाई मायाको चिनो प्रदान गरियो । सङ्‍घका उपाध्यक्ष रमेश पोखरेलले सङ्‌क्षिप्त मन्तव्यका साथ अगामी शृङ्‌खलाका कवि नायकका रूपमा भवनी खतिवडाको नाम उद्घोष गर्दै कार्यक्रम समापन गर्नुभयो ।
-वासुदेव अधिकारीद्वारा सम्प्रेषित