१६९ औ मोती जयन्ती खाँदबारीको आरतीमा

कुसे औँसी,२०८२
प्रगतिशील लेखक सङ्घ सङ्खुवासभाको आयोजनामा भाद्र ७ गते कुसेऔँसीका दिन ‘कफीका साथ गजल साँझ’ सम्पन्न भयो। मोतिराम भट्ट भाद्र कृष्ण आमावश्यमा जन्मेको तिथि पारेर गजल साँझ आयोजना गरियो। प्रलेस सङ्खुवासभा जिल्ला समितिका कविहरुको मौलिक व्यवस्थापनमा आयोजित कार्यक्रमको अध्यक्षता ताराबहादुर बुढाथोकीले गर्नु भयो। सङ्खुवासभा साहित्यिक समाजका अध्यक्ष वीरेस राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साँझमा कुवेर प्रसाद भेटुवाललगायत दुई दर्जन स्रष्टाहरु उपस्थित रहे । समितिका सचिव सनम थापाले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार कृष्णबहादुर चापागाईले मोतीराम भट्ट र शृङ्गारिक युगको छोटो चर्चा गर्दै आफ्नो रचनासहित स्वागत मन्तव्य राखेका थिए ।
स्रष्टा गुरु सुवेदीको शृङ्गारिक गजलले महफिलको शुभारम्भ गरियो। कवि शोमनाथ ढुङ्गानाको (नरम तिम्रा गालाहरु) चिरायु पोखरेलको कविता, कवि रविन घिमिरे, कवयित्री गीता कटुवाल (धेरै माया गर्छु भन्छ मलाइ एउटा मान्छे), कवि विनोद गुरुङ्, स्रष्टा कुबेरप्रसाद भेटवाल (माया गर्दा पनि सौदा जस्तो लाग्छ), सूर्यनारायण श्रेष्ठ (के भरिन्थ्यो पेट ललिपप खाएपछि), कवि फणिन्द्र खनाल, स्रष्टा रामप्रसाद लम्साल, स्रष्टा वीरेश राई, बालकवि भिमार्जुन निरौला, सन्तोष बाह्रकोटी, अनुप चापागाई, राजेन्द्र सर्वहारा निरौला र वीरेस राईले मोतीरामको योगदानको चर्चा गर्दै एकएक गजल प्रस्तुत गरे।
सभापति बुढाथोकीले मोतीरामको ‘नजरबाट मोती पनि झर्न लागे’ गजल प्रस्तुत गरी मोतिरामलाई सम्झिए । उनले सोही गजलमा मतला, मकता, मिसरा, सेर, रदिफ, काफिया, तखल्लुस, बहर आदि गजलका अङ्गहरुसहित संरचना बारे सोदाहरण परिचय दिए। उनले एउटा शृङ्गारिक गजल, एउटा प्रगतिशील गजल र एउटा पिताको सम्झनामा तीनवटा गजल प्रस्तुत गरे।
जम्मा १७ जना स्रष्टा सहभागी उक्त गजल महफिलमा एक जना बाल कवि भिमार्जुन, एकजना नारी स्रष्टा गीतान्जली, वरुण क्याम्पसका २ जना विद्यार्थीको सहभागिता उल्लेख्य विशेषता रह्यो। तीन दर्जन मानिस रातको दश बजेसम्म रहेको सो कार्यक्रमको व्यवस्थापन खर्च स्थानीय खाँदबारी नगरपालिका वडा नं.७ का जनप्रतिनिधि झलक कुसुलेले गर्नुभयो। तीन पुस्ताका कविहरु संलग्न कार्यक्रमबाट युवा पुस्ता लाभान्वित हुने विश्वास सहभागी वक्ताहरुले व्यक्त गरे। गजल साँझमा गजलका बहरहरुसँगै युवा सर्जकका रहरहरू र कफीका मगरहरूको पनि तालमेल मिलाइएको थियो। कार्यक्रममा बाबुको मुख हेर्ने दिन र नेपाली नारीको महान् चाड तिजको शुभकामना आदानप्रदान पनि भएको थियो।
-विष्णु न्यौपानेद्वारा सम्प्रेषित

प्रतिकृया दिनुहोस्