तिज गीत

ढिकी जाँतो मेलापात गर्छिन् हाम्री आमा‌ले
तिजको दर खान माइत लान्छिन् मामाले
फेसन‌को होड‌बाजीमा नाङ्‌‌गो हुनु छैन है
साडी चोलो छोडी तिजमा नाच्नु हुन्न है ।

दुःख पीडा गीतमा भरी गाऊँ लरिलै
यसपालीको तिजमा पनि नाचौँ बरिलै
आमा रुन्छिन् सोकमा परी बुबा उसै गर्छन् है
साउनको भेलमा परी सबका आँसु झर्छन् है ।

बाढी पहिरो रोकिएन यो तिजमा पनि
जन धनको क्षति धेरै रुवाबासी अनि
तडकभडक हटाउँदै गीत गाउँ बरिलै
यसपालिको तिजमा पनि नाचौँ बरिलै

गरिबका झुपडीमा चुलो बल्न छोड्यो है
विलासी त्यो छिमेकीले संस्कार तोड्‌यो है
फेसनको दलदलमा फस्नु हुन्न हामीले
मोजमस्ती र फजुल खर्च गरुन् जालीले । 

आमा, दिदी, बहिनीको गीत गाऊँ लरिलै
यस‌पालिको तिजमा पनि नाचौँ बरिलै
दुःख पीडा भुली सबले गाऊँ अब लरीलै
दाम्पत्यलाई फुलाउँदै हाँसौँ बरिलै ।