तिज

लेख्छु म त झ्याउरे गीत जानी नजानी
पहिलाको तिजकाे गर्छु कहानी
दर खाने दिनमा मात्र दर खादथे
छाेरीचेली आफ्नो माइत मात्र जादथे
अहिले त छुट्टै छ चलन सम्झी ल्याउदा मन हुन्छ जलन ।

दिनभरि खेतमा गई धान गाेडेर
चार बजी माइत जान्थे मेलाे छाेडेर
राताे साडी पहिलाकै पाेते चुरा नि
जस्तो लार गए पनि नगर्ने कुरा नि
अहिले त छुट्टै छ चलन सम्झी ल्याउँदा मन हुन्छ जलन ।

हर्पेभरि घिउ हुन्थ्यो खल्पी ढुङ्ग्रामा
ढकने त भर्सी भर्सी पाक्थ्याे भुङ्ग्रामा
आलाे तामा, दही, काँक्रो, करेला नि चट्टै
भाेकाए हाेलान् चेली भनी दिऊँ भन्थे झट्टै
अहिले त छुट्टै छ चलन सम्झी ल्याउँदा मन हुन्छ जलन ।

चलन धेरै राम्रो थियाे पहिला गाँउघरतिर
अहिले सबै सहर पसे हेर्दा लाग्छ पिर
थाेरै कुरा अहिलेकाे नि भन्छु सुन्नुहाेला
तडकभडक धेरैदेख्छु पिठ्युँमा छैन चोला।
अहिले त छुट्टै छ चलन सम्झी ल्याउँदा मन हुन्छ जलन ।

धेरैतिर दर खान्छन् महिना दिनअघि
कसैले त सतकार गर्छन् हाेटलमा लगी
महिनाभरि जति ठाउँ गयो उति साडी फेर्ने
अस्ति लाएकाे लाएर गए हाँस्दै सबैले हेर्ने
अहिले त छुट्टै छ चलन सम्झी ल्याउँदा मन हुन्छ जलन ।

गर्नुपर्छ जाेगाउनु छ हाम्रो संस्कृति
देखासिकी गर्दागर्दै भित्र्याे विकृति
राम्रो सिकाऊ छाेरीलाई बुहारीलाई अनि
छिमेकीले राम्रो सिकुन् समाजले पनि ।
अहिले त छुट्टै छ चलन सम्झी ल्याउँदा मन हुन्छ जलन ।