ठुलो मान्छे

आमा म ठुलो मान्छे बन्न चाहन्न
म जान्दछु, ठुलो भएपछि
मभित्रको निर्दोषपना
केही सस्तो मेरो सरलता |
सम्झौतामा विलIन हुने छ,
तरल भई बग्न थाल्ने छ जहाँ गहिराइ छैन,
मात्र सतह हुने छ ।
म ठुलो भए, सत्यभन्दा सुविधालाई रोज्न थाल्ने छु,
सपना बेचेर सुविधा किन्न थाल्ने छु,
म “म” रहन्नँ एउटा अनुहार मात्र बाँकी रहने छ,
जाली नोट मै जस्तो चल्तीरहित नक्कली ।
अहिले म सानै छु,
जातको नाउँले भुवन नचलाउने,
निधारमा लेखिएको जन्मकुण्डली नचिन्ने,
भातको थालले मान्छेको भाग्य ननाप्ने ।
मभित्र कपटको हिउँ जम्दैन,
छलको तारा छल्किँदैन,
साँचो बोल्दा हृदय डगमगाउँदैन
हिमालको छातीबाट बग्ने कञ्चन स्रोतधारा जस्तै ।
तर आमा,
जति म ठुलो हुने छ,
जातले आँखामा धुलो छर्किदिने छ,
वर्गले हातमा हतियार बाँधिदिने छ
बिस्तारै मेरो सास बाँधिने छ
मेरो हाँसो दफ्तरको दराज जस्तो कापिने छ
मेरा विचारहरू पहिरो खसेका सडक झैँ भासिने छन् ।
ठुलो मान्छे हुँदा
म सत्ताको कठपुतली बन्ने छु,
जसका टाउकामा धागा बाँधेर
अदृश्य हातहरूले चलाउँने छन्
र अन्ततः मभित्रको बालक
एउटा पुतलाको छालामा बाँदरनाच नाँच्ने छ ।
म रामे होइन
श्यामे पनि होइन,
म अरू कोही होइन
म म नै हुँ,
म मौन छु,
तर मौनतामा चिच्याएको छु ।
कृपया मलाई तुलना नगर्नुस्,
मलाई मूल्याङ्कन नगर्नुस्
कुनै तराजुमा नजोखिदिनुहोला
बस, यति मात्र गरिदिनुहोला
मलाई सानै बस्न दिनुहोला
अन्तर मनको सत्यसँग कहिले गद्दारी नगर्ने
मलाई असल मान्छे बन्न दिनुहोला ।

लेखकको सम्वन्धमा