फेरि पनि

फेरि पनि
सम्झनाको साँझभित्र
निलो आकाश झैँ फैलिन्छ
बाल्यकालको त्यो अविस्मरणीय चित्र ।
आज
यादको कुराले बिझाइरहेछ
मेरो मन
बाल्यकाल ती उर्जाशील पलहरूले
झसङ्ग पार्छन् आज पनि
आज
कृतिमा लुकेका कृति झल्किए
यौवनका पानाहरूमा लेखिएको
भूतका मधुर स्मृति सम्झिएँ ।
नाङ्गै पाउ कच्ची बाटोमा दौडिएको
कागजका चङ्गा निलो आकाशमा उडाएको
सम्झिएँ ।
दिउँसोको चर्को घाममा चिच्याहट
“गर्मीमा धेरै नखेलन है”
भन्दै बोलाउने आवाज
घामपछाडि लुकेको जिन्दगीको स्वाद
साँच्चै फेरि पनि बाँचौँ झैँ लाग्ने त्यो बाल्यकाल ।
भर्खरै मसी हालेको कलम झैँ
उत्तेजित भएर खेलेका ती पलहरू
आज धमिलो धमिलो सम्झन्छु ।
भाँडाकुटी खेल्दा मलाई
पर्थ्यो जहिल्यै भान्साको थलो
थाहा थियो र कसलाई
भुल्ने छु सर्वस्व गरी अरूकै भलो ।
माटाको घर बनाउँदै
देखाएकी रहेछु
इन्जिनियरको गुण
तर
आज बाँधिएकी छु म
यस्तो बन्धनमा,
जुन पर्खाल न म तोड्न सक्छु
न त नाघ्न नै ।
तर
भइसकेकी रहेछु म इन्जिनियर
ढुङ्गा माटोले नभए पनि
व्यवहार र अनुभवले
बनाइसकेछु मैले आफ्नै घर ।
जीवनलाई आफ्नै कलमले
कोर्न शोख राख्ने म
आज त्यही जीवनले थिचिएर
कहिल्यै उम्कन नसक्ने
गर्तभित्र भासिएकी छु ।
मात्र बाहिरी आभूषणले सुसज्जित छु
तर
बाल्यकालमा देखेमा सपना जस्तै
म पनि हराइसकेँ
त्यसको साक्षी म नै छु ।
तर
मैले खाएको छैन हरेस
गरेको छैन सम्झौता
त्यसैले
एकदिन आउने छ
म विजयको झन्डा
सगरमाथाको चुचुरोमा गाडेर
मात्र विश्राम लिने छु
यो जित्नै पर्ने युद्ध
म अवश्य जित्ने छु ।

लेखकको सम्वन्धमा