बाटो हराएको यात्री !

म देशको माटो सुम्सुमाउँदै सृजनाको बिउ छर्ने मान्छे,
पाइला पाइला निर्माण गर्दै देश बोक्ने मान्छे ।
हुर्किएँ खेल्दै भकुन्डो माटोसँग,
दौडमा भाग लिन्थेँ सिरिरी हावासँग,
गन्दै बस्थेँ ती आकाशका तारा,
बिर्सन्थेँ र हराउँथेँ आफ्नोपनाको काखमा ।
बिस्तारै जुध्न थालेँ कलमसित,
सिँगौरी खेल्न थालेँ किताबसित,
बुझ्दै गएँ त्यस खेललाई अझ,
चाख्दै गएँ जीवनका तिता तिता सत्य ।
तर ऐले फसायो मलाई जीवनको भुमरीले,
बगायो सात समुद्रपारिको एक किनारामा,
आँखा खोल्दा देखेँ केवल स्वर्गद्वार विमानस्थलको ।
नियाल्दा थियो अनौठो भिड मेलापातै लागे झैं,
थिएन त्यहाँको बतासमा खुसियालीको सिरसिरी
खुसी त खेल्दै थिए लुकाछुपी कहीँ पर,
सुख त केवल त्यहाँ थियो बगिरहेका आँसुका धारामा ।
तब देखेँ मैले छायामा लुकेका दुई पीडादायी अनुहार,
थाम्न सकिनँ मलाई हुर्काउने दुई मुहार,
छागो झैँ निउरिएको, लुगाजस्तै चाउरी परेको,
छाया बनी छेकिरहेको मलाई त्यहाँको चर्को घाममा ।
पलपल नियालेँ देखेँ मात्र स्वार्थले चुमेका हात,
हावासँगै ह्वास्स गन्ध रगत, पसिना, आँसु मिसिएको नोटको ।
अनि सोधेँ आफैँलाई,
कतै मेरा हातले पनि स्पर्श गर्न खोजेको त होइन त्यही नोटलाई ??
कहीँ मेरो मनले पर्खिरहेको त छैन स्वार्थको सौगात ।
तिनै प्रश्नका उत्तर खोज्न पराइ भूमिमा
सपनाको सन्दुक बोकेर
तातो पानी, हावा, घाम, माटो र
वनस्पतिले घोच्छन् पल पल यादहरूलाई ।
धमिलो सम्झना आउँछ,
आकाशमा उड्ने चरी झैं म,
हल्ला गर्दै उड्थेँ म,
फिजाउँदै आफ्ना लामा लामा पखेटा, 

आज धमिलिसके मेरा सारा याद,
मुर्झाइरहेछन् आशाका फूलहरू
र बन्न पुगेको छु म त एक मणी हराएको नाग,
बनेको छु अनि बाटो हराएको यात्री ।।