मलाई म हुन मन छ, मेरो आफ्नै संसारमा डुलिरहन मन छ कसैको अधीनमा हैन कसैको स्वामित्वमा हैन छुट्टै र बेग्लै बनी नदीमा बग्ने निर्मल पानीसँग कुराकानी गर्न मन छ लेकबेँसी गर्ने बताससँग साउती मार्न मन छ मलाई म हुन मन छ ।
म सानामा रुन्थेँ आधा रातसम्म रुवाइको धीत नमरुन्जेलसम्म मनको त्रास हटाई, डरको अगाडि बढ्न हाँस्थेँ हाँस्थेँ म सानामा छुट्टै प्रकारको खुसी थियो बेग्लै शैलीको बाल्यकाल थियो, मेरो मनलाई शान्ति दिने खालको थियो र मनमनै आफूलाई भन्थेँ कि, मलाई म हुन मन छ ।
अहिले त मलाई रुनु न हाँस्नु भाको छ, मर्नु न बाँच्नु भाको छ, त्यसैले छुट्टै ठाउँमा उडी मलाई मै जस्तो हुन मन लागेको छ ।
मलाई दैनिकीको दबाबबाट टाढा भागी आफ्नै तालिकामा बाँच्न मन छ, अरूको दृष्टिकोणबाट हेरिने म, यो बन र त्यो बनको निर्देशनबाट मुक्त बनी मलाई मै हुन मन छ ।
मलाई जीवनको बेफुर्सदिलो समय तालिमबाट बाहिरिन मन छ, खुला आकाशमा स्वच्छन्द उडी, बादलसँगै लुकामारी खेल्न मन छ, कक्षाकोठा र पेलानको पर्खाल तोडी सामाजिक दायराको चार दिवार पारी बुर्कुसी मार्न मन छ ।
हिँड्दा हिँड्दै फेरि एकछिन, पहाडको फेदीमा बिसाउन मन छ हिमशृङ्खलाको टुप्पैटुप्पा टेकी, ब्रम्हाण्ड घुम्न मन छ ।
भाग्न मन छ मलाई मेरा डर र त्रासहरूबाट टाढा यी सन्त्रास र द्वन्द्वबाट सारा शान्त समुद्रमा चिसो बतास बनी, मनोरम हुन मन छ ।
यस्तो मौसममा मलाई म हुन मन छ, जहाँ म मैलाई भेट्न सकूँ अनि गाउँदै, रमाउँदै भन्न सकूँ मेरो चाहनाको सर्वस्व म हूँ छाती खोलेर उद्घोष गर्न सकूँ म आफ्नै पहिचान बोकेर बाँचेको म हुँ आफ्नै परिचय ओडेर हाँसेको खास हुँ म, विश्वास हुँ म ।
लेखकको सम्वन्धमा