काव्य विभागमा कामको बाडफाँट

२६ साउन
आज सम्पन्न प्रविधिमैत्री बैठकले काव्य विभागमा कामको बाँडफाँट गरेको छ । राष्ट्रिय जनसाहित्य सङ्‍घ नेपालका अध्यक्ष तथा काव्य विभागका संयोजक नर्मदेश्‍वरी सत्यालको अध्यक्षतामा बसेको काव्य विभागको प्रविधिमैत्री बैठकले आफ्ना कामको बाँडफाँट गरेको हो । 
राष्ट्रिय जनसाहित्य सङ्‍घ नेपालका विभिन्न घटकमध्ये एक काव्य विभागले प्रत्येक महिनाको दोस्रो शुक्रबार एक जना स्रष्टाका एक दर्जन कविता वाचन गर्दै आएको छ । यही भदौ १४ गते शनिबार सम्पन्न हुने एक सय दुइऔँ शृङ्‌खलालाई आधार मानी काव्य विभागले कामको बाँडफाँट गरेको हो । सो बाँडफाँटअनुसार विभागका सदस्य त्रिलोचन आचार्यले पूर्वनिर्मित रोस्टरअनुसार कवि र कविका कविता छनौट गर्ने, सदस्य गोपाल मैनालीले वाचित कविताको समीक्षा गर्ने समीक्षक चयन गर्ने, सचिव सोमनाथ दाहालले कार्यक्रमका कवि नायकको परिचय प्रस्तुत गर्ने, कोषाध्यक्ष गीता सापकोटाले आर्थिक व्यवस्थापन गर्ने लगायतका कार्यहरू बाँडफाँट गरिएको छ । 
बैठकमा कविनायकाे सम्मान, कार्यक्रममा युवा सहभागिता अभिवृद्धि, प्रमुख अतिथि चयनलगायत विविध विषयवस्तुमा छलफल गरी निर्णय निकालियो । राष्ट्रिय जनसाहित्य सङ्‍घ नेपाल र काव्य विभागका महासचिव डा.कृष्ण सुवेदीले सहजीकरण गर्नुभएको उक्त बैठकमा अध्यक्ष नर्मदेश्वरी सत्याल, सोमनाथ दाहाल, गीता सापकोटा, गोपाल मैनाली, त्रिलोचन आचार्य र देवु लुइँटेलको उपस्थिति रहेको थियो ।
साँझ साढे सातदेखि करिब एक घण्टा बसेको उक्त बैठक अध्यक्षको धन्यवाद ज्ञापनसहित समापन गरियो ।