घर बसी बसी हलेसी

साहित्यमा अनौठो शक्ति हुन्छ । आफूले प्रत्यक्ष नदेखेका, नभोगेका कुरा घटना आदिलाई साहित्यको शक्तिले प्रत्यक्ष देखे, भोगे जस्तै अनुभव दिलाउन सक्छ । ताराबहादुर बुढाथोकीको नियात्रा ‘हलेसी महादेवको दर्शन’ https://jharanasanchar.com/7805/ पढेपछि साहित्यको शक्तिले मलाई अझ धेरै प्रभावित बनायो । म नियात्राकारसँगै पुनः एक पटक हलेसी पुगेँ । मलाई घर बसी बसी हलेसी पुगे जस्तो लाग्यो । अरू पाठकहरूलाई पनि यस कृतिले घर बसी बसी हलेसी पुर्याउँछ भन्ने मेरो ठहर छ ।   

झरना सञ्चार अनलाइन मिडिया हो । यो व्यक्तिका विचार प्रस्फुटन गर्ने साझा थलो हो । यसले खासगरी विद्यार्थीहरूको पढाइ, लेखाइ र सिर्जनालाई केन्द्रमा राखेर अनलाइन माध्यमबाट विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । 

सधैँ झैँ श्रावण महिनाको दोस्रो शुक्रवार पनि साँझ ८.०० बजे झरना सञ्‍चारमा प्रौढहरूको भर्चुअल कविता वाचन कार्यक्रम सञ्‍चालन भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा ताराबहादुर बुढाथोकी पहिलो पल्ट आउनुभयो ।  त्यही क्रममा म उहाँसँग परिचित र प्रभावित भएँ । त्यही बेला मैले उहाँलाई पूर्वकै साहित्यिक नक्षेत्र ठानेको थिएँ । त्यसको भोलिपल्ट अर्थात् दोस्रो शनिवार श्रावण १० गते उहाँको नियात्रा झरना सञ्‍चारमा प्रकाशन भयो । झरना सञ्‍चारमा प्रकाशन हुने अन्य लेखहरू झैँ मैले यो लेख पनि सरसर्ती पढेँ । आफू पनि पूर्वी पहाडी जिल्ला पाँचथरको बासिन्दा भएकोले उहाँको नियात्राले मन नछुने कुरै भएन । नियात्रा पढ्दा लाग्यो- आफू पनि स्रष्टासँगै यात्रा गरिरहेको छु । उहाँको साहित्यिक कला र प्रस्तुतिको गाम्भीर्यबाट प्रभावित भएँ र उहाँको उच्च कदर गर्दै छोटो प्रतिक्रिया लेख्‍ने प्रयास गरेँ ।  

पूर्वी पहाडका राजमार्गहरू, सुनसरीको इनरुवाबाट खोटाङ‌को हलेसी, मरातिका गुफा र हलेसी महादेव, अलौकिक सौन्दर्य, अनुभूति र सम्भावना, पङ्‍‌क्तिमा धैर्यको खाँचो र समापन गरी ७ शीर्षकमा ‘हलेसी महादेवको दर्शन’ नियात्रा लेखिएको छ । नियात्रामा परिवेशको बेजोड प्रस्तुति छ । पढ्दै जाँदा नाग्बेली बाटाहरू, भिरका पेट चिरेर, नदीका पेटी पुरेर, पहाडले सेतो पटुकी फनफनी बाँधे जस्तै, क्रिम दलेको छाला जस्ता चिल्ला र मासु उप्किएर अस्थिपन्जर निस्के जस्तै प्रकृतिका लम्पसार परेका नागबेली बाटाहरू आदि बिम्ब मानसपटलमा सलबलाइरहन्छन् । गाडीमै चढेर यात्रा गरिरहेको भान भयो मलाई । नियात्रामा वर्णित घाम, छाया, सिमसिमे पानी, हुस्सु, कुहिरो, चिसो बतास, छिनछिनमा फेरिने मौसमको स्वरूप जस्ता सन्दर्भले मलाई मेरै पहाडका डाँडापाखामा पुर्याउँछन् । ‘पुसअप र सेटअप’ जस्ता अभिव्यक्तिले गाडीको थथर्काइ र बाटाको दुरावस्था बोध गराउँछ । सँगै गाडीमा गुड्दाको मजा, इनरुवाबाट हलेसीसम्म भेटिएका दुधकोसी, रोखी, अग्लाहोचा डाँडाकाँडा, देवताले चिनाएको जिल्ला खोटाङ, कविले चिताएको जिल्ला ओखलढुङ्‌गाको ताजा स्मरण गर्दै साढे आठ घण्टाको यात्रामा हलेसी पुग्दै स्रष्टाले मरातिका गुफा र हलेसी महादेवको मन्दिरको अवलोकन गर्दै शिव र पार्वतीको महिमाको श्रव्य दृश्यको वर्णन गर्दै भक्तजन र दर्शनाभिलाषीहरूका भिडमा आफू केही क्षण रमाएको र केही दिन हराए‌को समेत वर्णन गर्नुभएको छ । यस वर्णनले मलाई आफू पनि त्यहीँ पुगेको, घुमेको र हलेसी महादेवको प्रत्यक्ष अवलोकन गरेको अनुभूति दिलायो । 

नियात्रामा पहाडी ग्रामीण परिवेशको सुन्दर र जीवन्त चित्रण छ । संसार नै सजाएको पाइन्छ । उहाँको लेखमा नागवेली सडक, धुपी र सल्लाहरू, वनजङ्गल र चराचुरूङ्गीहरू लुकामारी खेलिरहेछन् र पर्यटकलाई निम्तो दिइरहेछन् । प्रकृतिको यही चित्रणले मलाई विगततर्फ फर्कायो । अघिल्लो वर्षको मेरो हलेसी महादेवको यात्रालाई झलझली सम्झायो । 

त्यस बेला हाम्रो एउटा सानो समूह हलेसी महादेवको दर्शन गर्न गएको थियो । मैले पनि लेखककै जस्ता अनुभूति सँगालेको थिएँ । हामी काठमाडौँदेखि हलेसीसम्म भाइ एकराज पोख्रेलको बसमा गएका थियौँ । यात्रामा एकराज पोरखेल, उहाँँकी जीवन सँगिनी, हामी दुई दम्पती (लक्षिमा र म) सहितको सानो टोली थियो । हामी हलेसी चोकको एउटा होटलमा वास बसेका थियौँ । रमाइलो गफगाफ र खानपानपछि निद्रादेवीको काखमा शयन मात्र के गरेका थियौँ । अनुभवी भाइ एकराजले महादेवको मन्दिर परिसरमा दर्शन अवलोकन गर्न उज्यालो भएपछि भिड हुन्छ भन्नुभयो । अनि हामी चारै जना राती २ बजे उठेर नुहाई धुवाई गर्यौँ र हलेसी महादेवको मन्दिर र गुफा परिसरमा पूजाआजा र दर्शन गरी होटलमा फर्किएका थियौँ । उज्यालो भएपछि चिया नास्ता खाई खोटाङको गुलियो सुन्तोला (मेरो जन्मथलो पाँचथर आङसराङको सुन्तोलालाई बिर्साउने) किनेर मन्दिरको प्रसादको रूपमा बोकेर नागबेली बाटाहरू नाप्दै जङ्गल र फाँटहरूमा लुकामारी खेल्दै बिहान सबेरै काठमाडौँतर्फ फर्किएका थियौँ ।

मेरा आँखा बुढुथोकीका नियात्रामा थिए, मन विगतको यात्रामा, मस्तिष्कमा एउटा प्रश्‍न थियो- मैले मेरा ती अनुभूति समेटेर किन नियात्रा लेखिनँ ? तत्कालै हृदयले प्रतिप्रश्न गर्यो- ‘वासुदेव ! यो तिम्रो अनुभूति होइन र ? तिम्रो लेखाइ पनि यस्तै हुँदैन थियो त ? तिमीले लेख्नुपर्ने नियात्रा तारा सरबाट लेखिँदा के बिग्रियो त ?” मैले चित्त बुझाएँ; म खुसी भएँ । नियात्रामार्फत फेरि एक पटक मलाई पनि हलेसी महादेवको दर्शन गराउनुभएकोमा ताराबहादुर बुढाथोकी सरलाई मुरी मुरी धन्यवाद दिएँ । अनि सम्झिएँ- अरू पाठकहरूलाई यो नियात्रा कस्तो लाग्ला त ?

आँखा नियात्राको अन्तिममै पुगिसकेका थिए । हातले मोबाइल स्क्रोल गरिरहेँ । अन्य पाठकहरूले पनि नियात्रसम्बन्धी प्रतिक्रिया लेख्नुभएको रहेछ । पढौँ पढौँ लाग्यो । पहिलो प्रतिक्रिया ईश्वरी सिलवाल पाण्डे‌को रहेछ । उहाँले लेख्नुभएको छ, “साँच्चै भौतिक रूपमा हलेसी नगएको मेरो कल्पनालाई स्रष्टाले आफ्नो सृष्टिसँगै पूर्वी पहाडको फनफनी घुमेको घुमाउरो बाटो डुलाउँदै कतै चिल्ला बाटो त कतै दर्दनाक कच्ची सडकबाट जिम्न्यास्टिक पोजमा बाउन्च गराउँदै शरीरभरि काँडा उमार्दै हुइँक्याउँदै लानुभयो । छिनछिन‌मा बदलिँदो मौसममा लुकामारी खेलाउँदै प्रकृतिको अनुपम दृश्यको रसपान गराउँदै इनरुवा, गाईघाट हुँदै देवताले चिनाएका खोटाङको हलेसी महादेव या भनूँ पशुपतिनाथको दोस्रो रूपको दर्शन गराउनुभयो अनि कविले चिनाएको प्यारो ओखढुङ्गा जिल्लाको भ्रमण पनि गराउनुभयो ।

अँ साँच्चि ! भाग्दै गएर मरातीका गुफामा लुकेर बसे जस्ता लाग्ने ती अनौठा महादेव र उद्‌भूत पत्थरका आकृतिहरू कस्ता होलान् ? अवलोकन गर्ने कौतूहल भने जागेको छ । छिटै नै त्यो चमत्कारी गुफामा छिरेर गौरी शङ्ख फुक्न, शिवको जटाबाट निस्केको गङ्‍गामा स्नान गर्न र विष्णुले भस्मासुरलाई खरानी पारेको स्थान फेला पार्न मन छ।

नियात्राकार ताराबहादुर बुढाथोकीको जीवन्त यात्रावृ‌त्तान्त‌ले मलाई उहाँँसँगै दौडायो । हार्दिक  बधाई तथा शुभकामना ! फेरि पनि छिटै नयाँ ठाउँ घुम्न पाइयोस् ।”

दोस्रो प्रतिक्रिया कल्पना रिमालको थियो । उहाँ लेख्नुहुन्छ, “सुन्दर प्रस्तुति ! आफैँले अवलोकन गरेको अनुभूति भयो।” 

तेस्रो प्रतिक्रिया डा० सुकराज राईको थियो । उहाँ लेख्नुहुन्छ, “यथार्थपरक सुन्दर अभिव्यक्ति कलाद्वारा सिर्जित नियात्रा । खुबै दिल छोयो, यसमाथि आफू खोटाङ‌को भएकाले सर्जक मित्रलाई मुरी मुरी धन्यवाद ।” 

चौथो प्रतिक्रिया देवीप्रसाद गौतको थियो । उहाँ लेख्नुहुन्छ, “इनरुवाबाट खोटाङ‌को हलेसीसम्मको यात्रा वर्णन ! नियात्रापरक निबन्ध । आफैँले गरेको वास्तविक यात्राको अनुभूति गरायो । सुरुमा आँखा पुगे । पढौँ कि नपढौँ ! दोधारमा परेँ । अलिकति पढ्न मन लाग्यो । थोरै अगाडि बढेँ । शब्दमा साङ्‍गीतिक जादु रहेछ । छोड्नै मन लागेन । आफैँलाई बिर्साउने कलात्मक शाक्ति रहेछ । अगाडि बढ्दै गएँ, मनलाई मोहित पार्यो । साँच्चै उत्कृष्ठ नियात्रा !”

प्रतिक्रिया पढेसँगै उक्त नियात्रा अब्बल भएको निष्कर्ष निकालेँ । यस नियात्राले मलाई मात्र होइन अरू पाठकहरूलाई पनि घर बसी बसी हेलेसी पुर्याएछ भन्ने कुरामा ढुक्क भएँ । स्रस्टाको जीवन्त प्रस्तुतिबाट प्रभावित भएँ । स्रस्टा बुढाथोकीसँगै पूर्वी नेपालको रमणीय स्थलहरू हिमाल, पहाड, मधेस, नदी खोला, झरना, वन, पाखा घुम्दै र चराचुरीङ्गीसँग मितेरी लगाउँदै यात्रा गरिरहेको भान भइरह्यो भइरह्यो ।