साइनो कविताको वार्षिकोत्सव सम्पन्न

काठमाडौँ,साउन१७
शनिबार साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गर्यो । डा.सीता सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराई हुनुहुन्थ्यो । प्रमुख अतिथि भट्टराईले वरिष्ठ साहित्यकार मोहन दुवाल, युवाकवि प्रकाश समीर तथा कवि कमला भण्डारी ढकाललाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै साइनो कवितामा रहेको मौलिक नेपालीपनको प्रशंसा गर्नुभयो । केएमसी स्कुलको सभाहलमा भएको उक्त कार्यक्रममा भट्टराईले कविता विधा सङ्कटमा परेको बेला आएको लघुकविता साइनोले व्यञ्जना शब्दशक्तिको सहयोग लिएर पाठकलाई साहित्यिक स्वाद दिन सक्नुपर्ने सुझाव दिनुभयो ।
सम्मानित स्रष्टा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकारहरूले समाजलाई नैतिक मूल्यसहित सही बाटो देखाउन सक्नुपर्ने सुझाव दिँदै सम्मान गर्ने साइनो वाङमय चौतारी नेपाललाई धन्यवाद दिनुभयो । अर्का सम्मानित स्रष्टा प्रकाश समीरले साइनो नवीन शिल्पशैलीको कविता हो तर यसले परिष्कृत भई कवित्व ग्रहण गर्न सक्नुपर्छ, शब्द मात्र साइनो होइन यसलाई बिम्बप्रतीकले चोटिलो बनाउनु आवश्यक छ भन्नुभयो । समालोचक अमृता शर्माले साइनो नेपाली वाङमयप्रेमीको साझा सम्पदा भएकोले यसको विकासमा ध्यान दिनुपर्ने जिम्मेवारी हामी सबैको भएको तर्क गर्नुभयो ।
साइनो कविताका प्रवर्तक डा. छायादत्त न्यौपानेले साइनो कविता लेख्न मैले सुरु गरेको भए पनि यसको प्रचार प्रसारमा केशव ज्ञवाली, बालकुमार क्षेत्री, खेमलाल पोखरेल, डा.सीता सुवेदी, धातानन्द शर्मा, शेखर अर्याल, सुरेन्द्र शाही’गुलाब कान्छो’, महानन्द ढकाल, डा.टङ्क पन्थ, कमला भण्डारी, मोहन दुवाल, प्रवीण जोसी, आशाकुमारी तिम्सिना, शान्तिराम भट्टराईसमेत धेरै स्रष्टाहरूको संयुक्त योगदान रहेको छ भन्नुभयो । उहाँले आरम्भ भएको छोटो समयमा साइनो कविता विश्वका २५-२६ देशका सर्जकमाझ लोकप्रिय भइसकेको जानकारी गराउनुभयो ।
केशव ज्ञवाली, आशा तिम्सिना, सुरेन्द्र शाही’गुलाब कान्छो’, शान्तिराम भट्टराई, घन थापासमेत गरी १० जना स्रष्टाले शृङ्खला मासिक पत्रिका साइनो कविता विशेषबाट रचना वाचन गर्नुभएको थियो।
यसै गरी संस्था तथा कार्यक्रमकी अध्यक्ष डा.सीता सुवेदी पन्थीले उपस्थित सबैलाई धन्यवाद दिँदै साइनोले विश्व साहित्यमा उपस्थिति जनाउन सफल भएको कुरा गर्नुभयो । संस्थाका उपाध्यक्ष बालकुमार क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संस्थाका सचिव शेखर अर्यालको कुशल सञ्चालनमा सम्पन्न भएको थियो।
– सुरेन्द्र शाही ‘गुलाब कान्छो‘द्वारा संप्रेषित

प्रतिकृया दिनुहोस्