गणेश ज्ञवालीको ‘कर्ण’ गीतिकाव्य सार्वजनिक

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा काठमाडौँमा आयोजित एक समारोहबिच साहित्यकार तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले साहित्यकार गणेश ज्ञवालीको गीतिकाव्य ‘कर्ण’ को लोकार्पण गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि प्रदीप ज्ञवालीले लोकार्पित कृति ‘कर्ण’ लोकलय र सरल भाषामा लेखिएको गम्भीर कृति भएको चर्चा गर्नुभयो । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामप्रसाद पन्तले प्रतिष्ठानद्वारा सो कृति प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्दै कृतिकार गणेश ज्ञवालीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

समालोचक प्रा. डा. भागवत ढकालले उक्त कृति पौराणिक विषयवस्तुमा आधारित भई लेखिएको चर्चा गर्दै ‘कर्ण’ को समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौड्याल, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, समालोचक प्रा. डा. लेखप्रसाद निरौला, प्रतिष्ठानका महासचिव यादव भट्टराईलगायतले लोकार्पित कृति र कृतिकारबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो भने कृतिकार एवम् नेपाल सरकारका सेवानिवृत्त सहसचिव गणेश ज्ञवालीले कृति प्रकाशनका निम्ति दायित्व वाङ्मय प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । उहाँले मैले कर्णलाई जसरी बुझेँ, त्यही लेखेँ भन्नुहुँदै आफूले कृतिको मूल्याङ्कन प्रबुद्ध पाठक र समालोचकहरूबाट अपेक्षा गरेको बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थित सबैलाई आभार व्यक्त गर्नुभएको थियो ।

‘कर्ण’ गणेश ज्ञवालीको तेस्रो प्रकाशित कृति हो भने यसअघि उहाँका ‘यो पानी कस्तो बेइमानी’ निबन्धसङ्ग्रह (२०६०) र ‘माटोको माया’ कवितासङ्ग्रह (२०६५) प्रकाशित छन् । ‘कर्ण’ दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित २२१औँ कृति हो ।
– यादव भट्टराईद्वारा संप्रेषित

प्रतिकृया दिनुहोस्